केसी समर्थनमा कांग्रेस रणनीति, सडकसँगै नौवटै संसद् अवरोध

महेश्वर गौतम/काठमाडौं ।

सरकारविरुद्ध मंगलबार मात्रै सडक संघर्षका कार्यक्रम घोषणा गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रदेखि प्रदेशसम्म संसद् अवरुद्ध गर्ने भएको छ ।
कांग्रेसले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै जुम्लामा अनशनरत डा. गोविन्द केसीको मागलाई सरकारले बेवास्ता गरेको भन्दै केन्द्रदेखि प्रदेशसम्मका सबै सदन अवरुद्ध गर्ने भएको हो ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले अनशनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दा समेत सरकारले उनका जायज मागलाई बेवास्ता गरेका कारण केन्द्रदेखि प्रदेशसम्म नै संसद् अवरुद्ध गर्ने निर्णय गरिएको बताए ।
‘डा. केसीका माग पूरा गर्न सरकार तयार भइरहेको छैन, उनको स्वास्थ्य अवस्था झनै बिगँ्रदै छ,’ महामन्त्री कोइरालाले राजधानीसँग भने, ‘डा. केसीका मागमा सरकारलाई दबाब दिन हामीले केन्द्रदेखि प्रदेशसम्म संसद् चल्न नदिने निर्णय गरेका हौं ।’
उनले कांग्रेस नेतृत्वको अघिल्लो सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशको विधेयकलाई हुबहु जस्ताको तस्तै ल्याउनुपर्नेमा समेत कांग्रेसको जोड रहेको बताए ।

‘अघिल्लो कांग्रेस नेतृत्वको सरकारले धेरै कुरा विचार गरेर विधेयक ल्याएको हो, जुन माथेमा आयोगको सुझावअनुसार नै छ, सो विधेयक जस्ताको तस्तै हुबहु ल्याइनुपर्छ, त्यसले चिकित्सा क्षेत्रको सुधारमा धेरै कुरा समेटेको छ,’ उनले भने ।
बुधबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारीसहित वरिष्ठ नेताहरुको बैठकले सरकारविरुद्ध केन्द्रदेखि प्रदेशसम्मको संसद् चल्न नदिने निर्णय गरेको हो । बैठकले डा. केसीसँग वार्ताका लागि मन्त्रीस्तरीय वार्ता समिति गठन गर्न समेत सरकारसँग माग गरेको छ । नेता अर्जुननरसिंह केसीले डा. केसीले उठाएका माग पूरा नभएसम्म संसद् चल्न नदिने बताए । उनले मन्त्रीस्तरीय वार्ता समिति गठन गरेर सरकारले डा. केसीको माग पूरा गर्नुपर्ने बताए ।

‘सरकारमा अहंकार र दम्भ बढेको छ, अब संघीय संसद्, प्रदेश संसद् र सडकबाट कांग्रेसले सरकारका विरुद्ध सशक्त प्रतिवाद गर्छ,’ नेता केसीले भने । उनले संविधानले गरेको फरक फरक दलको सभामुख र उपसभामुखको व्यवस्थाका विषयमा समेत सरकारले ध्यान नदिएको भन्दै कांग्रेसले सरकारलाई संविधान हेर्न संसद् अवरुद्ध गरेर समय दिएको बताए । सरकारले भने बिहीबार (आज) बस्ने संघीय संसद्को बैठकमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ ।
कांग्रेसले डा. केसीको माग सम्बोधन गराउन र सरकारको अधिनायकवादी प्रवृत्तिका विरुद्ध भन्दै ३, ५ र ८ साउनमा दिउँसो १ बजे काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको थियो भने १५ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

विधान समितिमा पाँच÷चारको भागबन्डा

कांग्रेसले आफ्नो विधान संशोधनका लागि बनाउने विधान समितिमा नेताहरुबीच भागबन्डाको सहमति भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विधान समितिमा संयोजकसहित पाँच जना आफ्नो तर्फबाट र चार जना वरिष्ठ नेता रामचन्द्र पौडेललाई सदस्य दिने गरी विधान संशोधन समिति बनाउने तयारी गरेका हुन् । त्यसका लागि दुई नेताबीच सहमतिसमेत जुटिसकेको छ ।

वरिष्ठ नेता पौडेलले आफ्ना तर्फबाट पठाउने चार जना सदस्यको नाम बिहीबारसम्ममा दिने सभापति देउवालाई आश्वासनसमेत दिएका छन् । समितिमा सभापति देउवाले महामन्त्री पूर्णबहादुर खड्कालाई संयोजक बनाउने तयारी गरेका छन् । उनले अन्य सदस्यका विषयमा आफ्नै खेमाभित्रका नेताहरूसँग परामर्श गरिरहेका छन् ।

यस्तै पौडेलले भने सिटौला समूहलाई समेत विश्वासमा लिएर सदस्य पठाउने तयारी गरेका छन् । उनले नेताहरु गगन थापा, नवीन्द्रराज जोशी, जीवन परियारलाई सदस्यमा पठाउने सम्भावना छ भने अर्का एक सदस्यमा महिला वा जनजातिबाट पठाउने तयारी गरेको बुझिएको छ ।
विधान संशोधन समिति नबन्दा भदौका लागि तय भएको कांग्रेस महासमिति बैठकसमेत अन्योलमा पर्दै आएको छ ।