बक्स अफिसको उपलब्धि

बक्स अफिसको उपलब्धि

सरकारले साउन १ गतेदेखि लागु हुने गरि बक्स अफिस प्रणालीको घोषणा गरे लगत्तै फिल्मकर्मी खुसी हुनुको साथै संसयित छन् । खुसी यस अर्थमा बक्स अफिस लागु भएपछि चलचित्रको आम्दानी पारदर्शी हुन्छ । कुन चलचित्रले कुन शोमा कति ब्यापार ग¥यो निर्माताले आधा घण्टापछि सबै जानकारी लिन पाउछ । कतिपय निर्माता त्रसित पछि छन् किनकी बक्स अफिस लागु भए लगत्तै चलचित्रको सम्पूर्ण हिसाब किताब राज्यको सम्बन्धित निकायमा पुगेको छ । यस अघिसम्म ‘मिलाएर कर’ तिर्दै आएका निर्माता अब करको दायरामा आउन वाध्य हुने छन् । कुनै पनि निर्माताले राज्यले तोकेको कर तिर्नैपर्छ, कतैवाट पनि उन्मुक्ति पाउने छैनन् ।

काठमाडौ उपत्यकामा १ साउनदेखि सुरु भएको छ भने उपत्यका बाहिर माघदेखि । सिधा अर्थमा भन्दा बक्स अफिस लागु भयो अब कोही पनि निर्माता÷निर्देशक र हलमालिक बक्स अफिसको दायरावाट फर्किन सक्दैन । बक्स अफिसका बारेमा कतिपय चलचित्रकर्मी स्वयं अनविज्ञ छन् । कतिपयले पुरै मुढे तर्क गर्दै भनिरहेका छन् ‘बक्स अफिस लागु भयो अब ब्यापक हुन्छ ।’ फिल्म निर्माताले बुझ्न जरुरी छ । बक्स अफिस लागु हुँदैमा ब्यापक फाइदा हुन्न । बरु घाटा हुने निश्चित छ । घाटा यस अर्थमा कि फिल्म उद्योगमा सक्रिय ९५ प्रतिशत निर्माताले झुटो बोल्ने गरेका छन् । मिडियामा समाचार छपाउनका लागि फिल्म लागेको दोस्रो दिन ‘करोड क्रश’ भन्दै बक्तब्य निकाल्छन् भने त्यहि निर्माता कर कार्यालयमा पुग्दा एक हप्तामा पनि करोड नपुगेको हिसाब निकाल्छन् । बक्स अफिसले दुबै काम बन्द गरिदिन्छ । अब निर्माताको बक्तब्य समाचारको विषय नबन्ने खतरा छ भने निर्माताले बुझाएको टिपाएको हिसाव पनि कर कार्यालयलाई अस्वीकार्य हुनसक्छ । अर्को कुरा कतिपय निर्माताले यो पनि भनेका छन् ‘हलवालाले समयमा भुक्तानी दिएनन् बक्स अफिस लागु भएपछि तुरुन्तै पाइन्छ ।’ हलवाला निर्माताविचको सम्बन्धमा बक्स अफिसको खास साईनो हुन्न । बक्स अफिस भनेको मात्रै ब्यापारको जानकारी दिने संयन्त्र हो । फिल्म चलाएवापत निर्मातालाई हलवालाले कतिदिनपछि कति पैसा दिने हो त्यो निर्माता र हलवालाको सहमतिमै भर पर्छ । बक्स अफिस लागु हुँदैमा फिल्म लागेको एक हप्तामा निर्माताले पैसा पाउने कुनै ग्यारेन्टी हुन्न ।

बक्स अफिस लागु भए लगत्तै केही चलचित्रकर्मीहरु भन्न थालेका छन् ‘मेरो कारण बक्स अफिस लागु भो’ यो बेकारको बहस हो यो कुनै ब्यक्तिको पहलमा होईन । आम फिल्मकर्मीको सुझाबमा राज्यले लगाएको हो । हिसाब पारदर्शी हुनु आफैंमा राम्रो हो । अब कुनै पनि कलाकार प्राविधिक एवं निर्माता करको दायरावाट मुक्त हुन सक्दैनन् । बिगतमा कसले कसरि हिसाब मिलायो छोडौ । अब प्रत्येक निर्माताले कमाईको निश्चित प्रतिशत कर तिर्नैपर्छ । कर तिर्नु आफैंमा राम्रो हो । राज्यका लागि योगदान पनि हो । राज्यका लागि योगदान गर्ने फिल्मर्कीले राज्यवाट के सुविधा पाउने बहस त्यसतर्फ बढाउनु जरुरी हुन्छ ।