अलग–अलग दुर्घटनामा १९ को मृत्यु

नयाँ दिल्ली/एजेन्सी– भारतको राजधानी नयाँ दिल्लीको बाहिरी इलाकामा एक आवासीय घर भत्किदा ९ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । भत्किएको भवनको भग्नावशेषबाट बिहीबार उद्धारकर्ताले थप चार जनाको शव निकालेपछि मृत्यु हुनेको संख्या नौ पुगेको बताइएको छ ।

सो ६ तले आवासीय भवन भत्किएपछि यसबाट छिमेकमा रहेका अन्य भवनलाई पनि क्षति पुगेको बताइएको थियो । नयाँ दिल्लीबाट पूर्वतर्फको इलाकामा रहेको सो भवनमा दुई परिवारका श्रमिक बसिरहेका थिए ।

करिब १ सय ५० जना उद्धारकर्ताको सहयोगबाट उनीहरुको शव निकालिएको भारतीय सरकारी अधिकारीले जानकारी दिएका छन् । घटनापछि प्रहरीले सो भवनको मालिकसहित चार व्यक्तिलाई पक्राउ गरेको छ । सो भवन वर्षाका कारण भत्किएको अनुमान गरिएको छ । भारतमा जुनदेखि सेप्टेम्बरसम्म हुने मनसुनी वर्षाका कारण कैयौं भवन भत्किने गरेका घटना सार्वजनिक हुनेगरेको पाइन्छ ।

यसैबीच प्राप्त अर्काे एक समाचारमा भारतमा बिहीबार बिहान भएको सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ । बिहीबार भएको घटनामा अन्य कैयौं घाइते भएका छन् । उत्तरी भारतीय राज्य उत्तराखण्डमा यो दुर्घटना भएको बताइएको छ ।

विश्वका अन्य देशहरुको तुलनामा भारतमा सडक दुर्घटनाको दर उच्च रहेको पाइएको छ । चालकको लापरवाही, सडकको मर्मत समयमै नहुनु, सवारी साधनले ट्राफिक नियम उल्लंघन गर्नुजस्ता कारणले धेरै मात्रामा सडक दुर्घटना हुने गरेको विज्ञको भनाइ छ ।