नेयमार बेच्न पीएसजी तयार

एजेन्सी/पेरिस।

फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आफ्नो ब्राजिलियन चर्चित स्ट्राइकर नेयमार बेच्न सहमत भएको छ । पीएसजीले रुस विश्वकपको उपाधि विजेता टिम फ्रान्सका युवा खेलाडी केलियन एमबाप्पेलाई टिममै राख्नका लागि विश्वका महँगा खेलाडी ब्राजिलियन नेयमारलाई बेच्ने तयारी गरेको हो ।

स्पेनिस प्रतिवेदनअनुसार किलियन एमबाप्पेलाई क्लबमा स्थायी रूपमा राख्नका लागि पीएसजीले नेयमारलाई स्पेनिस क्लब रियल मड्रिडमा बेच्न तयार रहेको उल्लेख गरेको छ । आफ्नो सदावहार स्ट्राइकर रोनाल्डोलाई इटालियन क्लब युभेन्टस्मा बेचेपछि स्पेनिस क्लब मड्रिड रोनाल्डोको स्थान लिने खेलाडीको खोजीमा रहेको छ । उसले पहिलो लक्ष्यका रूपमा नेयमारलाई अनुबन्ध गर्न चाहेको छ । २६ वर्षीय नेयमारसँग यसै समरमा सम्झौता हुन सक्ने स्पेनिस प्रतिवेदनमा उल्लेख छ ।

नेयमारले गत सिजन पीएसजीका लागि २० खेलमा १९ गोल गर्न सफल भएका थिए । लिग वानकै खेलका क्रममा चोट बोकेपछि नेयमार विश्वकपअघि मात्रै खेलमा फर्किएका थिए । स्पेनिस क्लब बार्सिलोनाका पूर्वस्ट्राइकर नेयमार र फ्रेन्च क्लब मोनाकोका युवा स्टार एमबाप्पेलाई पीएसजीले अघिल्लो सिजन क्लबमा अनुबन्ध गरेको थियो । एमबाप्पेलाई पीएसजीले मोनाकोबाट लोनमा अनुबन्ध गरेको थियो । रसिया विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका एमबाप्पेलाई क्लबले लामो समयका लागि सम्झौता गर्दै नेयमारलाई बेच्ने योजना बनाएको छ । ‘एमबाप्पे १९ अनि नेयमार २६ । तर दुवै उत्कृष्ट खेलाडी हुन् । उनीहरु दुवै मेस्सी र रोनाल्डोसँगै फिफा बालोन डी’ओरको उपाधि जित्न सक्छन् ।’ मड्रिड बेस पत्रिका एएस स्पोर्ट्सको दाबीअनुसार, नेयमार लामो समय पीएसजीमा रहन सक्दैनन् । उनी अप्रत्यासित रूपमा सरुवा हुन सक्ने पीएसजीका वर्तमान प्रशिक्षक थोमस टचेलको भनाइलाई उद्धृत गर्दै दि सनले समाचार लेखेको छ ।’ स्पेनिस क्लब मड्रिडले एमबाप्पेलाई पनि अनुबन्ध गर्ने प्रयास थालिरहेको अवस्थामा नेयमारलाई बेचेर रियललाई शान्त पार्ने योजना बनाएको छ । १९ वर्षीय एमबाप्पेको जादुमयी प्रदर्शनमा फ्रान्स दोस्रोपटक विश्व च्याम्पियन बन्न सफल भएको थियो । रसिया विश्वकपमा युवा वर्ष खेलाडी बनेका एमबाप्पेले ४ गोल गर्न सफल भएका थिए । त्यसैले, पनि पीएसजी एमबाप्पेलाई कुनैपनि हालतमा गुमाउन चाहँदैनन् । यता, एमबाप्पेले भने आफू पीएसजीमै रहने बताएका थिए ।  बेलायती पत्रिका दि सनका अनुसार रियलले नेयमारका लागि ३०७ मिलियन पाउन्डसम्म खर्च गर्न सक्ने बताएको छ ।  रियलका सर्वाधिक गोलकर्तासमेत रहेका पोर्चुगिज रोनाल्डो अघिल्लो साता १ सय मिलियन पाउन्डमा इटालियन च्याम्पियन युभेन्ट्समा अनुबन्ध भएका थिए । रियल अहिले इंग्लिस क्लब चेल्सी तथा बेल्जियमका कप्तान इडेन हजार्ड र इंग्लिस क्लब टोटनह्याम हस्टपर तथा इंग्ल्यान्डका कप्तान ह्यारी केनलाई अनुबन्ध गर्ने प्रयासमा छ ।

रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बुधबारै सुपरस्टार रोनाल्डो नभएको अवस्थामा ठूलो भन्दा ठूलो अनुबन्ध गर्ने योजनामा रहेको बताएका थिए । ‘हामी मड्रिड हौं । हामी सधैं धेरै चाहन्छौं । हरेक उपाधि हाम्रो पहिलो लक्ष्य हुनेछ ।’ अध्यक्ष पेरेजले भने, ‘हामीले वर्तमान र भविष्यलाई जोडेर टिमलाई बलियो बनाउनु पर्दछ । रोनाल्डो टिमबाट बाहिरी सकेपछि हामी फेरि बलियो टिम बनाउनेछौं । जहाँ उत्कृष्ट खेलाडीहरुको संयोजन हुनेछ ।’