‘नाथ योगी’को ‘फेरी’ परम्परा संकटमा

राधेश्याम खतिवडा/चितवन ।

कनफट्टा (कान चिरिएका) नाथ योगी (जोगी पनि भनिने) हरूले मध्यरातमा घरघरमा पगेर फेरी लगाउने परम्परा संकटमा पर्दै गएको छ । गोरखनाथ र नरहरिनाथका शिष्य मानिने योगीहरूले भक्तका घर भागबन्डा गरेर चैत र कात्तिकमा फेरी लगाई ‘सह’ जगाउने परम्परा रहे पनि अहिले भने धेरै स्थानमा त्यस्तो क्रम घट्दै गएपछि परम्परा नै संकटमा परेको हो ।

योगीहरूले रातको समयमा फेरी लगाउँदै गाउँ, सहर डुल्ने अनि उज्यालो भएपछि तिनै घरबाट अन्न, नुन, तेल र दक्षिणा संकलन गरी जीविकोपार्जन गर्दै आएका छन् । फेरी लगाएर मन्त्रपाठ गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने जनविश्वास छ । फेरी लगाउँदा छेद, भेद, मरिद, मसान, डंकिनी, भूत र पिशाचले दुःख नदेओस् भनेर मन्त्रोचारण गर्ने गरेको उनीहरुको भनाइ छ । अघिल्लो रात फेरी लगाउने र भोलिपल्ट दान लिँदै हिँड्ने योगीलाई भक्तहरूले पनि अन्नबालीमा ‘सह’बस्ने, घरमा भूतप्रेत तथापिशाचले बास नगर्ने विश्वासमा प्रायः मंगलबार र शनिबार टीका लगाएर दान दिने गर्दछन् । दानस्वरूप चामल, धान, बेसार, तरकारी, नुन, तेल, घिउ, दक्षिणा, कालो कपडालगायत वस्तु दिनुपर्छ भन्ने सामाजिक मान्यता रहिआएको छ ।

वास्तविक पहिचान नहुँदा अपहेलना भोग्नुपरेकाले पछिल्लो पुस्ताले थरसमेत परिवर्तन गर्न थालेको नारायणगढमा रहेको हरिहर मन्दिरमा बस्दै आए रुद्रनाथ योगीले बताए । उनले तत्कालीन राजाहरुले नाथ योगीहरूलाई आफ्ना गुरु मानेर चार जातभित्रै नराखी सम्मान दिएको भए पनि गलत बुझाइ हुँदा आफू कमजोर सम्झेर थरसमेत परिवर्तन गर्ने क्रम बढेको उनको भनाइ छ । पछिल्लो पुस्ताले  कनफट्टा भएर योगी बन्ने रूचि नदेखाउनु र मन्त्रपाठ तथा ध्यान गर्न नचाहनुले मौलिक संस्कृति लोप हुने अवस्थामा रहेको उनले बताए ।

युवापुस्ताले परम्परालाई निरन्तरताभन्दा अन्य पेसा रोजेपछि संकटमा पर्न थालेको उनले जानकारी दिए । तन्नेरीहरू फेरी लगाउनुभन्दा पनि वैदेशिक रोजगारीसँगै अन्य पेसामा आकर्षित हुन थालेपछि फेरी पहिचान संकटमा परेको बताए ।

‘नाद’को अर्थ हो आवाज निस्किनु हो । पवित्र काठ र धातुहरुबाट निर्मित वस्तुलाई मुखले फुक्दा आवाज आउने हुनाले यसलाई नाद भनिएको हो । नादलाई नाथ योगीहरुले कुनै पनि सुकार्य गर्नुअगाडि तीनपटक फुकेर मन्त्र जप गर्ने गरेको बताउँछन् । गुरुलाई स्मरण गर्दा तीनपटक र अरू देवीदेवतालाई स्मरण गर्दा ६ पटक बजाउने चलन रहेको कुरा नाथयोगीहरू बताउँछन् ।

यो समुदायमाविवाहपछि परिवार छुट्टिँदा अंशका रूपमा फेरी लगाउने बराँठको सिङ दिने चलन थियो । अभिभावकले बराँठको सिङ दिँदै पुख्र्यौली पेसा नछाड्न फेरी लगाएर जीविकोपार्जन गर्न आशीर्वाद दिने गरेको उनीहरू बताउँछन् । युवापुस्ताले लाज मान्नु, पेसाबाट आत्मसम्मान नपाउनु, अन्य समुदायले हेयका दृष्टिले हेर्नु, वर्षभरि काम नपाउनु, आकर्षक कमाइ नहुनुलगायत कारणले यो पेसा अँगाल्न नमानेको उनले बताए ।

फेरी लगाउने योगीहरू रातको समयमा गाउँ डुल्नुपर्ने भएकाले सुरक्षाको अनुभूती हुनुपर्ने योगी रुद्रनाथले बताए । संस्कृति र धार्मीक परम्परा धानेका योगीहरुको सम्मान गर्न सक्नुपर्ने पनि उनको धारणा छ । चलिआएको परम्परा र संस्कार संरक्षणका लागि कनफट्टा योगीहरुको सुरक्षा र सम्मानमा ध्यान दिन सके परम्परा जोगिने उनले बताए ।