राज्यको लगानी र मातृशिशुको स्वास्थ्य

स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारले बर्सेनि अर्बौं लगानी गर्दै आएको छ । यसरी गरिएको लगानीको प्रतिफल कति अपेक्षानुसार देखिएको छ ? यससम्बन्धी सकारात्मक नतिजाहरू पनि होलान् । तर राजधानीदेखि नजिकै रहेको दक्षिण ललितपुरका गाउँपालिकाहरूको अवस्था भने झस्काउने खालको छ । यस क्षेत्रका आमा र शिशुको स्वास्थ्यसम्बन्धी भर्खरै सार्वजनिक भएको रिपोर्टले स्वास्थ्य क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संघसस्था थप गम्भीर हुनुपर्ने स्थिति देखिएको छ ।

दक्षिण ललितपुरका गाउँपालिकाहरूमा आमा र शिशुको स्वास्थ्य अवस्था कमजोर रहनु गम्भीर विषय हो । सानै उमेरमा विवाह गर्ने, बच्चा जन्माउने, शिशुलाई कम उमेरका आमाको दुध नपुग्ने, आमाले शिशुलाई सही तरिकाले स्तनपान गराउन पनि नजान्ने अवस्था विद्यमान रहनुले स्वास्थ्यसम्बन्धी जनचेतनाको अभाव प्रस्ट देखिन्छ । भर्खरै सार्वजनिक भएको तथ्यांकअनुसार बालबालिकाहरूमा कुपोषण, झाडापखाला, निमोनियाजस्ता समस्या देखिने गरेको छ । साथै शारीरिक मानसिक रूपमा अस्वस्थ्य रहेको पनि पाइएको छ । राजधानीदेखि नजिकैको स्थानमा समेत यस खालको स्वास्थ्य समस्या देखिन्छ भने दुर्गमको अवस्था कस्तो होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ । यसकारण स्वास्थ्य सेवामा थप सुधारको आवश्यक टड्कारो देखिन्छ ।
खासगरी शिशुको स्वास्थ्य अवस्थामा कमजोर रहनु झनै सम्वेदनशील सवाल हो । कमजोर स्वास्थ्य भएका शिशहरू स्वस्थ नागरिकका रूपमा हुर्कने कल्पना गर्न सकिन्न । यसैगरी नागरिक नै कमजोर भएपछि स्वस्थ राष्ट्रको कल्पना गर्न पनि सम्भव हुन्न । यसर्थ स्वास्थ्यमा लगानी र गुणस्तरीय सेवा पहिलो शर्त हो । यसमा कुनै पनि कन्ज्युसाइँ गरिनुहुन्न ।

हाम्रो सन्दर्भमा अपर्याप्त लगानी, राजधानी र सुविधा सम्पन्न सहरमा मात्रै स्वास्थ्यसेवा केन्द्रीत, दक्ष जनशक्तिको अभाव र भएकालाई पनि गुणस्तरीय हिसाबले परिचालन गर्ने ज्ञानको कमी जस्ता मुख्य समस्या देखिन्छन् । यसैगरी बनेका स्वास्थ्य नीतिको इमानदारीपूर्वक लागू गर्ने, कार्यक्रमहरूलाई उचित हिसाबले सञ्चालन गर्ने, त्यसको प्रभावकारिता र उपलब्धीबारे नियमित अनुगमन गर्ने चाँजोपाँचो मिलाउन नसक्दा पनि स्वास्थ्य क्षेत्रमा अपेक्षित सुधार देखिन नसकेको हो ।

अहिले आएर सरकारको स्वास्थ्य क्षेत्रको लगानी राष्ट्रिय बजेटको पाँच प्रतिशतको नजिक देखिएको छ । विकसित मुलुकहरूको कुरा गर्दा त्यहाँ कूल बजेटको १० प्रतिशतभन्दा माथि नै स्वास्थ्य क्षेत्रका लागि छुट्याइएको हुन्छ । यस हिसाबले हाम्रो सन्दर्भमा राष्ट्रिय लगानीको दायरा फराकिलो बनाउनुपर्ने स्थिति देखिन्छ । आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्ने, स्वास्थ्य संस्थामा सुत्केरी हुनेहरूलाई दिइने यातायात खर्च दोब्बर बनाउने, अबको देशका सबै वडामा स्वास्थ्य संस्था निर्माण गर्ने, पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तिमा १५ शैयाकोे आधारभूत अस्पताल सञ्चालन गर्ने वर्तमान सरकारको कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सक्दा पनि धेरै सुधार देखिने सम्भावना छ ।

स्वास्थ्य सेवा मौलिक अधिकारको विषय हो । नेपालको संविधानले पनि प्रत्येक नागरिकलाई राज्यबाट कानुनमा व्यवस्था भएबमोजिम आधारभूत स्वास्थ्यसेवा निःशुक्ल रूपमा पाउने हक हुनेछ भन्ने व्यवस्था गरेको छ । यसलाई यही हिसाबले सम्बोधन गरिनुपर्छ । आवश्यक पूर्वाधार निर्माण गरिनुपर्छ । स्वास्थ्यसेवा प्राप्तिका लागि आमनागरिकलाई सहज र सरल पहुँचको विकास गर्नुपर्छ । स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने धेरै छ । फेरि पनि आमा र शिशुको आधारभूत स्वास्थ्यमा कसरी सुधार ल्याउने ? यही नै पहिलो प्राथमिकता हुनुपर्छ ।