गृहमन्त्रीलाई अपराध महाशाखाको ब्रिफिङ, मुठभेडमै अपहरणकारीको मृत्यु, सरकारले छानबिन गर्ने

महेश्वर गौतम/काठमाडौं ।
११ वर्षीय बालक निशान खड्काको अपहरणमा संलग्न दुई अपहरणकारीको मृत्युका विषयमा संशय बढिरहेका बेला गृहमन्त्री रामबहादुर थापाले घटनाबारे सरकारले छानबिन गर्ने बताएका छन् । अपहरणकारी इन्काउन्टरबारे विभिन्न बहस जारी रहँदा गृहमन्त्री थापाले घटनाबारे सरकारले छानबिन गर्ने बताएका हुन् । प्रहरीले भने अपहरणकारीद्वय गोपाल तामाङ र अजय तामाङमाथि गोली चलाउँदा उनीहरूको मृत्यु भएको दाबी गर्दैै आएको छ ।


बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले घटनाबारे सरकारले छानबिन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
समितिका सदस्य देवेन्द्रराज कँडेलले प्रहरीले भनेको इन्काउन्टर शंकास्पद भएको भन्दै घटनाबारे छानबिन हुनुपर्ने माग गरेका थिए । उनले बैठकमा घटनाबारे सोधपुछ गर्नका लागि नेपाल प्रहरीका महानिरीक्षक र सम्बन्धित पदाधिकारीलाई समितिमा बोलाउनसमेत गृहमन्त्रीको ध्यानाकर्षण गरेका छन् । समितिका सदस्यले घटना शंकास्पद भएको भन्दै छानबिनको माग गरेपछि गृहमन्त्रीले छानबिन गरिने प्रतिबद्धता जनाएका हुन् ।
यसैबीच अपराध अनुसन्धान महाशाखाको टोलीले गृहमन्त्री थापासमक्ष बालक निशान अपहरण घटनामा अपहरणकारीसँग ‘मुठभेड’ नै भएको ब्रिफिङ गरेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीलाई गृहमन्त्री थापाले बोलाएरै घटनाबारे चासो राखेका थिए । महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहको टोली घटनाको ब्रिफिङका लागि गृहमन्त्रालय पुगेको गृह स्रोतले बताएको हो ।
ब्रिफिङका क्रममा महाशाखा प्रमुख सिंहले गृहमन्त्रीलाई भक्तपुरमा मुठभेडको अवस्था सिर्जना हुँदा प्रहरीले गोली चलाएको जानकारी गराएको स्रोतले जनायो ।
‘फेक इन्काउन्टर होइन, अपहरणकारीसँग मुठभेड नै भएको हो, बाहिर हल्ला अर्कै किसिमले भयो,’ ब्रिफिङका क्रममा महाशाखा प्रमुख सिंहले गराएको जानकारी उद्धृत गर्दै स्रोतले भन्यो ।

घटना हुँदा गृहमन्त्री थापा इन्डोनेसिया थिए । उनी बुधबार राति मात्र नेपाल फर्किएका हुन् । आइतबार साँझ काँडाघारीबाट अपहरणमा परेका बालक निशान खड्काको हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न अपहरणकारीमाथि गोली चलाउँदा सोमबार उनीहरूको मृत्यु भएको थियो ।
भक्तपुरको पाइलटबाबा जंगलमा उनीहरूसँग मुठभेड भएको प्रहरीको दाबी छ । ब्रिफिङका क्रममा अनुसन्धानमा भएको लापर्बाहीबारे समेत छलफल भएको थियो ।
इन्काउन्टरमा मारिएका व्यक्तिका आफन्तले भने पक्राउ गरेर प्रहरीले गोली हानेको दाबी गर्दै आएका छन् । उनीहरूले मानवअधिकार आयोग पुगेर पक्राउ गरेर गोली हानिएको भन्दै छानबिनको माग राखेर उजुरीसमेत दिइसकेका छन् ।
गत आइतबार काँडाघारीबाट ११ वर्षीय बालक निशान खड्काको अपहरण भएको थियो । उनको शव भने प्रहरीले सोमबार दिउँसो निर्माणाधीन घरको पर्खालसँगै खाल्डो खनेर गाडिएको अवस्थामा फेला पारेको थियो ।