ने क पा सचिवालय बैठक, तल्ला कमिटीको एकता धकेलियो

सुभाष साह/काठमाडौं।

प्रदेश, जिल्ला, जनवर्गीय संगठनको एकताका लागि गठन भएका कार्यदलले समयमै काम नसक्दा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का तल्ला कमिटीको एकता धकेलिएको छ ।
कार्यदलले शुक्रबारसम्म पार्टी केन्द्रीय सचिवालय बैठकमा एकतासम्बन्धी प्रतिवेदन बुझाउने समयसीमा थियो । कार्यदलले समयमै काम सम्पन्न गर्न नसकेपछि पार्टी सचिवालयले उनीहरूको म्याद एक साता थपेको छ ।
ने क पाको बिहीबार बसेको सचिवालय बैठकले कार्यदललाई साउन मसान्तसम्मको समयसीमा तोकेको हो । सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदलहरूको प्रतिवेदन बुझाउने समयसीमाभित्र काम नसकेका कारण एक साताका लागि समय थपिएको बताए ।
१७ साउनमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र महासचिव बिष्णु पौडेलले छलफल गर्दै कार्यदललाई दोस्रो सर्कुलर जारी गरी शुक्रबारसम्म प्रतिवेदन बुझाएर ५ भदौभित्रमा एकता टुंगो लगाउन निर्देशन थियो ।
महासचिव पौडेलले जारी गरेको सर्कुलरमा २५ साउनमा प्रतिवेदन बुझाउने, ५ भदौमा एकता टुंगो लगाई १५ भदौभित्रमा एकीकृत संगठनको पहिलो बैठक सम्पन्न गर्नुपर्ने निर्देशन थियो ।

यसअघि १६ जेठमा पहिलो सर्कुलरमा कार्यदललाई १५ दिनभित्रमा एकीकरण गरेर त्यसको प्रतिवेदन बुझाउन भनिएको थियो । तर, विधान र नियमावलीको अभावमा कार्यदलले तोकिएको समयभित्रमा काम गर्न सकेको थिएन । विधान र नियमावली कार्यदलले पाए पनि विस्तृत छलफल एवं सबैसँग सुझाव लिनुपर्ने भएकाले तोकिएकै समयमा एकता टुंगो नलाग्ने भएको हो ।
यसअघि ३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको घोषणा गर्दै शीर्ष नेताले तीन महिनाभित्रमा सबै तहका कमिटीको एकता टुंगो लगाउने उद्घोष गरेका थिए ।
ने क पाको विधान र नियमावलीले प्रदेश कमिटीमा अध्यक्ष र सचिवसहित १५१ सदस्य रहने व्यवस्था छ । तर, आवश्यकतानुसार एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबराबर दुईका दरले सदस्य थप्न सकिनेछ ।

पार्टीको विधानमा सात प्रकारका स्थानीय कमिटीको व्यवस्था छ । जिल्ला कमिटी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, महानगर÷उपमहानगर÷नगर÷गाउँ कमिटी, वडा वा शाखा कमिटी, टोल वा प्रारम्भिक कमिटी र पार्टी सेल कमिटी हुनेछन् ।
काठमाडौं उपत्यकामा मजदुर विशेष जिल्ला कमिटी, युवा विद्यार्थी विशेष जिल्ला कमिटी, पेसागत, उद्यमी व्यवसायी र प्रदेश सम्पर्क विशेष कमिटी रहनेछ ।
भूगोलका जिल्ला कमिटी १२५ सदस्यीय आवश्यक भएमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबराबर १० का दरले सदस्य थप्न सकिने, विशेष जिल्ला कमिटी ७५ सदस्यीय, महानगर कमिटी १२५, उपमहानगर कमिटी १०१, नगर कमिटी ८१, गाउँ कमिटी ७५, महानगरका वडा कमिटी ४५, उपमहानगरका वडा कमिटी ३५, नगर र गाउँका वडा र शाखा कमिटीहरू २९, नगर र गाउँका टोल र प्रारम्भिक कमिटी १९ र पार्टी सेल कमिटी १५ सदस्यीय हुने व्यवस्था विधान र नियमावलीमा रहेको छ ।

दोहोरो पद नहुने

यसैबीच, पार्टी सचिवालय बैठकले सार्वजनिक पदमा रहेका नेतालाई पार्टीको कार्यकारी पदमा जिम्मेवारी नदिने निर्णय गरेको छ । एकताका लागि गठन भएको कार्यदललाई पार्टीले जारी गरेको सर्कुलरमा यस विषयमा केही खुलाएको थिएन । जसका कारण कार्यदलमै अन्योल रहेको थियो ।
प्रवक्ता श्रेष्ठले संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, महानगरपालिका÷उपमहानगरपालिका÷नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षलगायतले पार्टीमा कार्यकारी भूमिका नपाउने निर्णय भएको बताए ।
यसैगरी, संसदीय समितिका सभापति, प्रादेशिक दलका नेता, उपनेता, संघीय एवं प्रदेशसभाका प्रमुख सचेतक, सचेतक, जिल्ला समन्वय समितिका सभापति, उपसभापतिले पार्टीको कार्यकारी भूमिकामा जिम्मेवारी पाउँदैनन् ।
‘बैठकले सांगठनिक एकीकरणका लागि कार्यदललाई सहज बनाउन यस्तो निर्णय गरेको हो,’ श्रेष्ठले भने, ‘नेताहरू दोहोरो जिम्मेवारीमा हुँदा प्रभावकारी भूमिका निर्वाह गर्नमा समस्या हुनुका साथै सबै नेतालाई जिम्मेवारी बाँडफाँट गर्न सचिवालयले खोजेको छ ।’

केन्द्रीय कार्यालय धुम्बाराहीमै

ने क पाको केन्द्रीय कार्यालय धुम्बाराहीमा रहने भएको छ । बैठकले तत्कालीन एमालेको केन्द्रीय कार्यालयलाई नै एकीकृत पार्टीको केन्द्रीय कार्यालय बनाउने निर्णय गरेको छ ।
पार्टीका जनवर्गीय संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा रहनेछन् । पेरिसडाँडा तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कार्यालय रहेको थियो । यसअघि पार्टीले धुम्बाराही र पेरिसडाँडामै समानान्तर केन्द्रीय कार्यालय राख्ने निर्णय गरेका थिए ।

कार्यदललाई अर्को जिम्मेवारी

प्रदेश, जिल्ला एवं जनवर्गीय संगठनहरूको एकताका लागि गठन भएको कार्यदललाई पार्टी सचिवालयले विभिन्न केन्द्रीय निकायमा रहने सदस्यहरूको सिफारिस गर्न निर्देशन दिएको छ ।
केन्द्रमा रहने केन्द्रीय सल्लाहकार, राष्ट्रिय परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्चको, केन्द्रीय आयोग, विभागलगायतका निकायमा रहने सदस्यहरूको सिफारिस अब कार्यदलले गर्ने भएका छन् ।
यसैगरी, बैठकबाट पारित विधान र नियमावलीलाई थप व्यवस्थित ढंगले संगठन सञ्चालन गर्नका लागि त्यसका विभिन्न विनियम, निर्देशिका, आचारसंहिता निर्माण गर्न कार्यदल गठन गरेको छ ।
सो कार्यदलमा ने क पा नेता सुवासचन्द्र नेम्वाङ, भीम रावल, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा र वेदुराम भुसाल रहेका छन् ।
८ र ९ भदौमा पार्टी स्थायी कमिटीको बैठक बोलाउने निर्णय पनि सचिवालयले गरेको छ । बैठकले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पार्टी नेता नारायणकाजी श्रेष्ठ नेतृत्वको टोलीलाई चीन भ्रमणमा पठाउने निर्णय गरेको छ । श्रेष्ठ नेतृत्वको टोलीले १२ देखि १९ सेप्टेम्बरसम्म चीन भ्रमण गर्नेछ ।