टेकुको जगन्नाथ मन्दिरको पुनर्निमाण कसले–कहिले ?

नवीन लुईटेल /काठमाडौं ।

काठमाडौंको टेकुमा रहेको जगन्नाथ मन्दिर भूकम्पले जिर्ण बनेको ३ वर्ष पुग्दा पनि पुनर्निमाण हुन सकेको छैन । २०७२ साल बेशाखमा आएको विनासकारी भूकम्पले जिर्ण बनेको मन्दिरले पुनर्निर्माणसँगै नयाँ स्वरुप पाउन सकेको छैन । कहिले जापान सरकारले , कहिले युनिस्कोले त कहिले एडिबी र अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत विकास समितीले पुनर्निर्माण गर्ने चर्चा चलेपनि जगन्ननाथ मन्दिरको अहिलेसम्म पुनर्निर्माणको अत्तोपत्तो छैन । पुरातत्व विभाग र गुठि संस्थानले यो मन्दिर पुर्ननिर्माण गर्ने जनाएपनि त्यत्ति चासो नदेखाउँदा वरिपरि काठको टेकोले अड्याएर राखीएको छ । विभागका डिभिजनल इन्जिनियर गोपाल झाले युनिस्कोले पुनर्निर्माण गर्ने तयारी सुरु भएको बताए । उनका अनुसार युनिस्कोले डकुमेन्टेसन र रिसर्च गरिसकेको र कोष जम्मा गर्न लागिपरेको छ । विभागकी पुरातत्व अधिकृत सविता न्यौपानेले भने अधिकार सम्पन्न बाग्मती र एडिबीले पुनर्निर्माण गर्ने तयारी रहेको बताइन् । तर विभागका प्रवक्ता राम बहादुर कुँवरले भने अहिले तत्काल सो मन्दिरको पुर्ननिर्माण सुरु नभएको स्पष्ट पारे । उनले यसले उसले भनेर कसैले पनि पुनर्निमाणको जिम्मा नलिएको प्रष्ट पारे र्। मन्दिरको विषयमा पुनर्निमाण कसले गर्ने भन्ने टुङ्गो छैन , उनले भने , यस विषयमा हामीहरुको पनि कम ध्यान गएको हो , अब मैले विभागमा यसको विषयमा कुरा उठाउँछु ।

उता गुठी संस्थानले भने महानगरपालिकाले सो मन्दिरको पुनर्निमाण गर्नुपर्ने बताएको छ । संस्थानका प्रवक्ता सरोज थपलिया जगन्नाथ मन्दिरको पुर्ननिर्माण महानगरपालिकाले गर्ला भनेर बसीरहेको बताउछन् र्। सुरु देखि नै हामीहरुले महानगरले नै यसको पुनर्निमाण गरोस् भन्ने चाहनामा थियौँ तर भइरहेको छैन , उनले भने , हामीले यस विषयमा महानगरपालिकाका मेयरसँग पनि कुरा राखीसक्यौँ । मन्दिर वरपरको सत्तल पनि भूकम्पले क्षतीग्रस्त भएको छ । सत्तल भत्किदा धेरै जना त्यहाँ बसोबास गर्ने गुठीका रकमी (महन्त , जोगी , चन्दन घोट्ने , पुजारी , झाडु बडार्ने)ले त्यहाँ छोडेका गएका छन् भने अझै ५ परिवारको वसोबास छ ।

जगन्नाथ भनेको ३ देवदेवीको एउटै संगम हो । जहाँ कृष्ण , बलराम र सुभद्रा रहेका छन् । मन्दिरभित्र ३ वटा देवदेवीको मुर्ति छ । विसं १८४९ सालमा भवसींह प्रधानले आफ्नै निजी स्रोतमा मन्दिर निर्माण गरेको पुरातत्व विभागका प्रवक्ता कुँवरले जानकारी दिए । उनका अनुसार धार्मीक प्रयोजनका लागि प्रधानले मन्दिर त्यत्ति बेला निर्माण गरेको शिलालेखमा उल्लेख छ । पहिले अर्कै स्वरुपमा रहेको मन्दिरले विसं १९९० सालको महाभूकम्पपछि अहिलेको स्वरुप पाएको विभागका प्रवक्ता कुँवर बताउछन् । पूर्वी भारतको उडीसा राज्यमा रहेको भारतका चारधाम मध्येको एक जगन्नाथपुरीको नाममा सो मन्दिर टेकुमा पनि स्थापना गरिएको भनाई छ । भारत उडिसासम्म जान नसक्नेहरुका लागि यही मन्दिरसम्म आएर पनि दर्शन गर्दा पुन्य मिल्ने विश्वास दिलाउँदै भवसींह प्रधानले मन्दिरको स्थापना गरेको मानिन्छ ।
मन्दिर वरपरका प्राङ्गणमा घाँस र पातहरु अब्यवस्थित तबरले छरिएका छन् । इटाँले बनेको मन्दिरमा विभिन्न झारपातहरु पलाएका छन् । मन्दिरसँगै रहेको शिलालेख बुझ्नै नसकिने गरि राखीएको छ । मन्दिरको प्राङ्गणमा राखीएको घण्ट पनि कालो देखिएको छ । बजाउन पनि कठीन हुने गरि जाम भएको छ । ५० वर्षदेखि यही मन्ँिदरकै छेउमा रहेको सानो घरमा बस्दै आएका प्रेम भट्ट मन्दिर पुननिर्माणमा ढिलाई भएकोमा चिन्तित छन् । करिब १० वर्ष पहिले भारतीय भक्तजनहरु यही आएर मन्दिरको रंगरोगन आदी गरेको यथार्थता उनी संझन्छन् र्। पहिला त भारतीय मारवाडीहरु आएर जगन्नाथ मन्दिरको रंगरोगन गर्थे , उनले भने , वरपरका कति स्थानमा टायल छाप्ने काम र टालटुल गर्ने काम पनि गरेका थिए । त्यहाँ काठहरु पनि त्यसै थुप्रिएको छ । मन्दिरको छेउमै वर पीपलको बोट छ । मन्दिरका कलात्मक काठका थामहरु , त्यस्तै प्रकृतिका विभिन्न बुट्टाहरु कुदिएका झ्याल र ढोका पनि छन् । मन्दिरको बाहिरी माथिलो भागमा वरिपरि पीपलका बोटहरु पलाएका छन् । चरा र परेवाहरु मन्दिरका प्वालमा बसेका छन् । मन्दिरको झिङ्गटी छानोमा घाँस र झार पलाएको छ ।

काठमाडौंको हनुमानढोका दरवार परिषरमा प्रताप मल्लले बनाएको जगन्नाथ मन्दिर छ भने भक्तपुर र पश्चिम नेपालमा पनि जगन्नाथका मन्दिर रहेका छन् । पश्चिम नेपालमा जगन्नाथ भगवानलाई विशेष पुजा गरिन्छ । १३ औँ शताब्दितीरै पश्चिम नेपालमा जगन्नाथ मन्दिरको स्थापना गरिएको शिलालेख पाइएको पुरातत्व विभागका प्रवक्ता राम बहादुर कुँवरले जानकारी दिए । हिन्दु धर्ममा बद्रिनाथ , रामेश्वरं, द्धारकानाथ सहित जगन्नाथपुरीलाई चार धाममा चित्रित गरिन्छ ।