महिनाको एकदिन शिक्षकदेखि जनप्रतिनिधी सम्मले श्रमदान गर्नुपर्ने

राजधानी समाचारदाता, बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाले हरेक महिना एक दिन श्रमदानको गर्ने पर्ने नीति बनाएको छ ।

विकास निर्माणमा जनसहभागिता जुटाउने उद्देश्यले गाउँपालिकाको गाउँसभा मार्फत नै जनश्रमदानको नीति पास गरेको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।

ताराखोला गाउँपालिका जनसहभागिताको हिसाबले परिचित क्षेत्र हो । स्थानीयले व्यक्तिगत घर गोठ, सार्वजनिक, भवन, विद्यालय लगायतका भौतिक संरचना निर्माण गर्दा स्थानीयले दुई÷तीन दिन निःशुल्क सघाउने गर्दछन ।

गाउँपालिका भित्र हुने विकास निर्माणको काममा चालु आर्थिक वर्षदेखि नै प्रत्येक महिनाको एक दिन सम्पूर्ण जनप्रतिनिधि ,शिक्षक, कर्मचारी को अगुवाइमा जनसहभागीता गराउने योजना रहेको अध्यक्ष घर्तीले बताए ।

विकासका गतिविधिमा जनताको सहभागीताले दीगोपनको विकास निर्माणमा जनताको सहभागीता, अपनत्व तथा संरक्षणमा सहयोग पुग्ने भएकाले श्रमदानको नीति लिएको प्रमुख प्रशासकिय अधिकृत तोपलाल भुषालले जानकारी दिए ।