होमस्टेमा वर्षा लाग्यो, पर्यटक घटे, सञ्चालक खेतीपातीमा व्यस्त

जनक श्रेष्ठ, लमजुङ । पर्यटकीय जिल्ला लमजुङका होमस्टेहरुमा आउने पर्यटकको सख्यामा कमी आएको छ । बर्षायामको समय भएकाले होमस्टेमा आउने पर्यटकको सख्या कमी भएको हो । विभिन्न गाउँमा सञ्चालन गरिएको होमस्टेमा असार लागेसगैँ पर्यटकहरु नआएको पर्यटन ब्यवसायीहरु बताउँछन् ।

दक्षिण एसियाकै नमुना ग्रामिण पर्यटकीय घले गाउँमा दैनिक २ सय को हाराहारीमा पर्यटकहरु आउने गरेका थिए । तर बर्खायाम सुरु भएसगैँ पर्यटकहरुको संख्यामा निकै कम आएको घलेगाउँ होमस्टेका ब्यवस्थापक दिर्ग घलेले बताए । असार महिनाको सुरुवात देखि यता देनिक १०÷१५ जना मात्रै पर्यटकहरु घलेगाउँ होमस्टेमा आउने गरेको उनको भनाई छ । कुनै बेला होमस्टेमा पर्यटकहरु नअट्ने गरी आउँने घलेगाउँ होमस्टेमा पर्यटकहरु निकै न्युन भएपछि होमस्टे सञ्चालकहरु फुर्सदमा छन् । होमस्टेमै ब्यस्त हुने घलेगाउँका होमस्टे संचालकहरु यतिबेला धान रोपि सकेर बारीमा कोदो रोप्ने, तरकारी लगाउने काममा ब्यस्त बनेका छन् । आगामी असोज महिना लागेपछि मात्रै होमस्टेमा पर्यटकको चाप बढ्न थाल्ने घलेगाउँ पर्यटन ब्यवस्थापन समितिका अध्यक्ष प्रमे घलेले बताए ।

त्यस्तै बेंसीसहर नगरपालिका ३ गाउँशहर काउँलेपानिमा सञ्चालन गरिएको काउलेपानी होमस्टेमा आउने पर्यटकको सख्या समेत निकै कम भएको छ । दैनिक ५० देखि १ सयको हाराहारीमा पर्यटकहरु काउँलेपानी होमस्टेमा पुग्ने गरेकोमा बर्षायाम सगैँ न्युन भएको छ । अहिले मुश्किले १०÷१५ जना हप्तामा पर्यटकहरु आउँने गरेको काउँलेपानी सामुदायिक होमस्टेका अध्यक्ष देव गुरुङले बताए ।

बर्षायाममा काउँलेपानी सम्म आउँने बाटो ब्यवस्थित हुन नसक्दा पर्यटकको सख्या घट्नु मुख्य कारण भएको उनले बताए । विभिन्न जातजातिको बसोबास रहेको काउँलेपानीमा २५ घरधुरी रहेको छ । सो घरधुरीमध्ये १४ वटा घरमा होमस्टे सञ्चालन गरिएको छ ।

सन् २०११ बाट होमस्टे सुरु गरिएको काउँलेपानी होमस्टे सन् २०१४ मा नेपालकै उत्कृष्ट होमस्टे र सन् २०१६ मा नेपालको १० होमस्टे मध्ये घुम्नुपर्नेमा परेको थियो । त्यस्तै २०७४ सालमा नेपालकै पहिलो बातावरण मैत्री होमस्टे घोषणा समेत गरिएको छ ।

समुन्द्री सतहबाट १ हजार ६ सय मिटर उचाईमा रहेको काउँलेपानी होमस्टेबाट यशोबम्हा शाहबंश राजाले राज गरेको लमजुङ दरबार, विभिन्न हिमालहरु लगायतका रमणिय स्थलहरु देख्न सकिन्छ । १५ असार १५५० विक्रम सालमा राजाको रुपमा उनलाई ल्याएर लमजुङ दरबारमा राखिएको ईतिहासमा पाईन्छ । लमजुङबाट शाहवंशको उत्पती भएको मानिन्छ ।

त्यस्तै सुन्दरबजार नगरपालिका ११ स्थित तुर्लुङकोट होमस्टेमा असार लागेसगै हालसम्म १ जना पनि पर्यटक नआएको होमस्टे संचालकहरु बताउँछन् । जिल्लामा सिउरुङ होमस्टे, नरुवाल मगरगाउँ होमस्टे, भुस्मे तामाङ होमस्टे लगायत दर्जनौ होमस्टेहरु संचालित छन् । ती सबै होमस्टेहरुमा बर्खायाम सुरु भएदेखि नै पर्यटकको सख्यामा निकै कमी आएको बताएका छन् । जिल्लामा संचालित अधिकाश होमस्टेहरु नेपाल जनजाति आदिबासी समुदायको रहेका छन् ।