हात्ती गैडा हेर्न पाइने भएपछि बर्दियामा पर्यटक बढे

सुदीप अधिकारी, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या वर्षेनी बढ्दो क्रममा छ । पछिल्लो समयमा निकुञ्जमा हात्ती, गैँडा, बाघ लगायतका वन्यजन्तु सजिलै देख्न पाइने भएपछि निकुञ्ज घुम्न आउने पर्यटकको संख्या पनि बढेको हो । हात्ती, गैँडा, बाघ लगायतका वन्यजन्तु अवलोकनका लागि चितवन निकुञ्ज पछिकै अर्को मुख्य पर्यटकिय गन्तव्य बर्दिया निकुञ्ज मानिन्छ ।

निकुञ्जले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४\०७५ मा ५ हजार ९५७ विदेशी पर्यटक, ८ सय १६ सार्क देशका पर्यटक र आन्तरिक १३ हजार ५११ गरि जम्मा २० हजार २८४ बर्दिया निकुञ्ज भित्रिए । आर्थिक वर्ष २०७३÷०७४ मा जम्मा १७ हजार ९५९ पर्यटक निकुञ्ज अवलोकनका लागि आएका थिए । जसमा आन्तरिक पर्यटक ११ हजार ६०९, विदेशी ५ हजार ८ सय २७ र सार्क मुलुकका ५ सय २३ रहेका थिए ।

आर्थिक वर्ष २०७३\०७४को तुलनामा ०७४\०७५मा २ हजार ३२५ पर्यटक बढेका छन् । जसमा १ हजार ९०२ आन्तरिक, १ सय ३० विदेशी र २ सय ९३ सार्क मुलुकका पर्यटक बढेको देखिन्छ । विगतको तुलनामा आन्तरिक पर्यटकको संख्या सबै भन्दा बढी बढ्दो क्रममा छ । आव ०७३\०७४ मा ११ हजार ६०९ आन्तरिक पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । भने आव ०७४\०७५मा अन्तरिक पर्यटकको संख्या बढेर १३ हजार ५११ पुगेको छ ।

असोजदेखि अप्रिल जेठको अवधी पर्यटकका लागि पिक आवर मानिन्छ । सिजनको सुरुवातबाटै निकुञ्जमा पर्यटकको आवागमन सुरु हुने गर्छ । पछिल्ला वर्षको तुलनामा निकुञ्जमा बाघ, गैँडा लगाएत अन्य जनावरको संख्यामा बृद्धि भएको खबर चर्चामा आएपछि निकुञ्ज घुम्न आउनेको संख्या बढ्दै गएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारी बताउँछन् । हिजोआज निकुञ्जमा बाघ र गैँडा सजिलै अवलोकन गर्न सकिने नेचर गाइड राम शाहीले बताए । विगतमा निकुञ्जमा परिसर मात्र घुमेर फर्कने आन्तरिक पर्यटकहरु आजभोली निकुञ्जमा हात्ती सफारी, जंगल सफारीको समेत मज्जा लिने गरेका छन् ।

बर्दिया निकुञ्जको क्षेत्रफल ९६८ वर्ग किलोमिटर छ । निकुञ्जमा पछिल्लो गणना अनुसार ३५ वटा गैंडा, ५० वटा बाघ, एक सय भन्दा बढी हात्तीलगाएत ४ सय ३८ पंछी प्रजाती, २५ भन्दा बढी घस्रने र १ सय २१ भन्दा बढी माछा प्रजाती छन् ।