पुरचौंडी नगरपालिका मदिरा निषेधित क्षेत्र घोषणा

सीपी लोहिया/बैतडी २५,साउन ।

बैतडीको पुरचौंडी नगरकार्यपालिकाको बैठकले नगरपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ । नगरपालिकाको गत माघमा सम्पन्न भएको बिशेष नगरसभाले पारित गरेको निर्णयलाई कार्यान्वयनमा लैजाने निर्णय भएको नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले बताए । नगरपालिकाभित्रका व्यापारीलाई असार मसान्तभित्र आफूसँग भएको मदिरा व्यवस्थापन गरिसक्न नगरपालिकाले निर्देशन दिएको थियो । बिहिबार बसेको बैठकले भदौ १ गतेदेखि कसैले पनि नगरपालिका क्षेत्रभित्र मदिरा विक्रि गर्न नपाइने निर्णय गरेको र यसका लागि कार्यविधि समेत बनाइसकेको प्रवक्ता भट्टले बताए । समान्य नागरिकले मदिरा सेवन गरेमा ५ हजार, सरकारी कर्मचारी वा समाजको प्रतिष्ठित मानिसले मदिरा सेवन गरेमा १० हजार, कसैले विक्रि गरेको भेटाएमा १० हजार, गाडीमा मदिराको ओसारपोसार गरेमा १० हजार, मदिराको कसैले भारी बोकेर ल्याएमा १० हजार जरीवाना गर्ने कुरा कार्यविधिमा उल्लेख गरिएको प्रवक्ता भट्टले जानकारी दिए ।

यस्तै नगरपालिकाभित्र ढुंगा गिट्टी र बालुवा उत्खननका लागि ठेक्का प्रणाली अनुसार करारमा कार्यरत कर्मचारीहरुलाई उनीहरुको कार्य सम्पादनको आधारमा करार म्याद थप्ने र यसका लागि सम्बन्धित वडा अध्यक्षको सिफारिशमा करार थप्ने निर्णय गरेको छ । स्वास्थ्यकर्मीहरुको बिषयमा भने आज कुनै छलफल हुन सकेन् । बिहिबारको बैठकमा करारमा कार्यरत स्वास्थ्यकर्मीको करार निरन्तरताको बिषयमा पनि छलफल गर्ने योजना रहेको थियो । तर एकपटक कर्मचारीहरुसँग छलफल गरेर यो बिषयमा निर्णय लिने नगरकार्यपालिकाले जनाएको छ ।