रसुवामा हेलिप्याड निर्माण सम्पन्न

झरना नेपाली/ रसुवा।

रसुवामा हेलीप्याड निर्माण सम्पन्न भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालिजंग गणले आधुनिक हेलिप्याड निर्माण सम्पन्न गरेसँगै जिल्लामा रातिको समयमा पनि हेलिकप्टर अवतरण गर्न सकिने भएको छ ।

सेनाले पुरानो हेलिप्याड रहेको स्थानमा नयाँ हेलिप्याडको निर्माण सम्पन्न गरेको हो । हेलीप्याड निर्माणको लागी करिब १४ लाख खर्च भएको सेनाले जानकारीे दिएको छ ।

हेलिप्याड निर्माणका लागि जिल्लाको तीन वटा गाउँपालिका, तीन वटा जलविद्युत आयोजना र मैलुङ स्याफ्रु निर्माण कार्यदलले निर्माण सामग्री उपलब्ध गराएको सेनाले जनाएको छ ।

निर्माण सम्पन्न भएको हेलिप्याडमा वाइन्ड डिरेक्सन इन्डिकेटर, लाइटिङ, हेलिकप्टरको इन्ट्री र एक्जिट प्वाइन्ट राखिएको गणले जनाएको छ । ५० फिट डायमिटरको हेलिप्याड निर्माण गरिएको सेनाले जनाएको छ । यसमा एमआइ सेभेन्टिन हेलिकप्टर अवतरण गर्न सकिने बताइएको छ ।

जिल्लाको गोसाइँकुण्ड, आमाछोदिङ्मो र कालिका गाउँपालिकाले निर्माण सामग्री उपलब्ध गराएका हुन । त्यसैगरी रसुवागढी, सान्जेन र माथिल्लो त्रिशुली एकले हेलिप्याड निर्माणमा सामग्री उपलब्ध गराएका बताइएको छ ।

बिपद्को समयमा सवारी साधनबाट बिरामीलाई तत्काल अस्पताल लैजान धेरै कठिनाई हुने , भौगोलिक विकटता,जीर्ण सडक र एम्बुलेन्सको अभाव लगायतका कारण गम्भिर खालका बिरामीलाई तुरुन्तै अस्पतालमा लैजान समस्या हुने भएकाले हेलीप्याड निर्माण सम्पन्न भईसँगैे सहज हुने बिश्वास गरिएको छ । सामान्य अवस्थामा सर्वसाधरणले हेलिप्याड प्रयोग गर्न पाउने छैनन् ,तापनि आपतकालिन अवस्थामा भने प्रयोग गर्न सक्ने बताईएको छ ।