सिक्टा सिंचाईको मूलनहरको गुणस्तरीय निर्माणमा अख्तियारको अनुसन्धान

रुद्र सुवेदी/राजधानी /नेपालगन्ज।

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिंचाई  आयोजनाको मूल नहर पटक–पटक परीक्षणको क्रममा भत्केको विषयलाई अख्तियार दुरुपयोग अनुसंधान आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।
राप्ती सोनारी गाउँपालिकाले नहरको कारण आफ्ना ३ वटा वडाका नागरिक प्रत्यक्ष प्रभावमा पर्ने भन्दै निर्माणको गुणस्तर तथा नहरको डिजाईन स्टीमेट समेतको पुनः अध्ययन गर्न माग गरेको थियो ।

आयोजनाको ‘आईसिपी–टु’ अन्तरर्गत परुवा खोलादेखि डुडुवा खोला बीचको भागमा निर्माण गरिएको मूल नहर परिक्षण कै क्रममा पटक–पटक फुटेपछि जनस्तरबाट सो नहरको निर्माण गुणस्तरको परीक्षण गर्न माग गर्दै विरोधसमेत हुन थालेको हो ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ र ९ को बीचमा पर्ने चंगाई खोलास्थित सिक्टाको पश्चिम (दायाँ) मुल नहर पुनः परिक्षणको क्रममा भत्किएपछि नहर निर्माणको गुणस्तरको बारेमा समेत छानवीन गर्नुपर्ने माग आएको छ । विकासको लागि नागरिक सरोकार समिति बाँकेले नहरको निर्माण पुरा भई सञ्चालन मै नआउदै पटक–पटक फुटेपछि उच्च स्तरिय जाँचको माग गरेको थियो ।

दुईवर्ष अघि २०७३ असार १४ गते पनि नहर परिक्षण कै क्रममा सोही ‘आईसिपी–टु’ अन्तरगतको झिझिरि खोलाको किनारमा नहर फुटेको थियो । अहिले पनि गत साउनको पहिलो हप्तामा नहर परीक्षणको क्रममा फुटेपछि समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठको नेतृत्वमा स्थलगत अवलोकन गरी ठाँउ–ठाँउमा नहरको अवस्था नाजुक भेटिएको भन्दै उच्च स्तरीय जाँचको माग गरेको हो ।
कुल ५० क्युमेक्स क्षमता रहेको मुल नहर परिक्षणका लागि १० क्युमेक्स मात्र पानी छाडेको अवस्थामा भत्किए पछि निर्माण गुणस्तर परिक्षण गर्नु पर्ने देखिएको हो । मुल नहरको १७.७ सय किमीदेखि ३५ किमी खण्डको बीचमा पर्ने सो खण्डमा घुलनशिल माटो (डिसपोर्सिभ सोयल) भएको र नहर निर्माण गर्दा सो माटोको कुनै पनि उपचार नगरी निर्माण गरेका कारण पटक–पटक भत्किने गरेको स्रोतले दाबी गर्यो ।
यसैबीच शुक्रबार आयोगका सह–सचिव तथा प्रवक्ता रामेश्वर दंगालद्वारा जारी विज्ञप्तीमा ‘सिक्टा सिंचाइ आयोजनाको मूल नहर पटक–पटक भत्किएकाले नहरको गुणस्तरमाथि नै प्रश्न उठेको भन्ने विषयमा सञ्चार माध्यममा प्रकाशित समाचारप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’

सो बिज्ञप्तीमा आयोजना निर्माणमा हालसम्म भएको काम कारबाहीको विषयमा यसअघि आयोगबाट भइरहेको अनुसन्धान कार्यलाई समेत एकीकृत गरी विस्तृत अनुसन्धानको कार्यलाई तीब्रता दिन आयोगको मिति २०७५ साउन २५ गतेको निर्णयानुसार आयोगका प्राविधिक सहसचिवको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समूह गठन गरिएको र सो समूहले स्थलगत अध्ययन समेत गर्ने गरी विस्तृत अनुसन्धानको कार्य अगाडि बढाइसकेको उल्लेख गरिएको छ ।
विकासको लागि नागरिक सरोकार समिति बाँकेका संयोजक श्रेष्ठले संसदिय छानविन समिति माग गरिएकोृ भएपनि अख्यिारले छानविन र अध्ययन टोलि निर्माण गरीएको जानकारी आएकोमा स्वागत योग्य भएको बताए । उनले राष्ट्रिय गौरवका आयोजनामा गुणस्तरीय निर्माणको लागि समयमै संबन्धित निकायले चासो दिनु पर्ने र नागरिस्तरबाट खबरदारी र पहरेदारी हुनु आवश्यक भएको बताए ।