संरक्षण कृषि अगुवा

संरक्षण कृषि अगुवा


एकराज पाठक

हरेक अनाज, उपज या वनस्पतिको उद्गस्थल माटो । माटो नभई सृष्टि चल्दैन त्यसैले पृथ्वीलाई जननी मानिएको हो । तर, आमालाई जस्तै गाह्रो छ, पृथ्वीलाई पनि चराचर जगत् पाल्न । किनकि, जननीलाई माटो बनाउन गाह्रो छ ।
खेती गर्ने जमिनको एक सेन्टिमिटर माटोको तह जम्मा हुनलाई कम्तीमा चार हजार वर्ष लाग्छ । तर, हलोको सियोले भेट्ने माटोको गहिराइ २५ सेन्टिमिटर हुन्छ । हिसाब छर्लंगै छ । फेरि हलोको सियोले मात्र भेट्ने त्यो माटोको तह भनेको सानो वा छोटो जरा भएका अन्नबाली (धान, गहुँ, कोदो) र तरकारीका झाल आदिका लागि मात्र हो ।

मकैलाई त्यति मात्र गहिराइले पुग्दैन किनभने मकैका जरा दुई मिटर गहिराइसम्मै पुग्छन् । अब दुईदुई मिटर माटो बन्न कति हजार वर्ष लाग्यो ?
जल, स्थल र वायुको भण्डारण नै माटो हो । यो प्रांगारिक पदार्थ, जीवाणु र चिस्यान मिलेर बन्छ । यसरी माटो बन्ने प्रक्रियाले पछिल्लो समयमा गति लिन सकेको छैन । जीवाणुहरूले चिस्यानको माध्यमबाट प्रांगारिक पदार्थ कुहाएर माटो बनाउनुपर्नेमा कीटनाशक औषधि या बालीमा विषादी प्रयोगले जीवाणुहरू मर्छन् । यसका कारण माटो बन्ने प्रक्रियाका लागि जीवाणु कुहिन छाडेका छन् ।

धेरै विषादी प्रयोगले माटो बन्ने प्रक्रियामा ह्रास आइरहेको छ । यसबाहेक माटोको कमी हुँदै जानुका धेरै कारण छन् । तर, जीवाणुबाट बन्ने नियमित र वैज्ञानिक प्रक्रिया यसरी नै कम हुँदै गयो भने यसले मानव र जीवमा पार्ने असर पनि भयावह हुँदै जाने देखिन्छ ।
कृषि अनुसन्धान परिषद्, नार्कका वरिष्ठ कृषि वैज्ञानिक डा. टीकाबहादुर कार्कीलाई अहिले यसैको छ, बढी चिन्ता । यति कठिन प्रक्रियाबाट बनेको माटो बगेर गएको र क्षीण भएकामा उनी चिन्तित छन् । माटो बन्ने प्रक्रिया नै यति मन्द गतिमा छ, फेरि यसरी बनेको माटो पनि बगेर गएको छ ।
उनी भन्छन्, ‘यति महँगो माटो प्रतिहेक्टर शून्य दशमलव ५ देखि २५ मेट्रिक टनसम्म बगेर गएको छ ।’
मनसुुनपूर्व पर्ने पानीले बढी माटो बगाउँछ । मनसुनपूर्व जमिन खाली हुन्छ । अनि त्यस समयमा नियमित र मन्द नभएर खहरे बढ्ने प्रकृतिको पानी पर्छ । यस्तो अवस्थामा खाली जमिनको माटो बगेर जाने सम्भावना धेरै हुन्छ । त्यसैले यो माटो बगेर जाने गर्दछ । तर, मनसुन सुरु भएपछि भने नेपालको सन्दर्भमा अध्ययन गर्दा त्यस जमिनमा मकै तथा अन्य वनस्पति उम्रिने भएकाले त्यति धेरै माटो बग्न पाउँदैन । फेरि मनसुनको पानी एक्कासि धेरै नपर्ने र धैर्यताका साथ वर्षा हुने भएकाले पनि माटो त्यति धेरै बग्दैन, रोकिन्छ ।

यस्तो मनसुनपूर्वको अवस्थामा बाढीले माटो बग्ने मात्र नभएर पहिरोको सम्भावना पनि हुन्छ । लामो समयपछि पानी पर्ने र ठूलो पानी पर्ने भएकाले यस्तो बेलामा आएको पानीले जमिनमा चिरा पार्ने र पहिरो जान सक्छ ।
अमूल्य माटो कसरी बचाइराख्ने त ? वरिष्ठ वैज्ञानिक डा. कार्की गएको दशकदेखि यही उपायको खोजीमा छन् । उनको माटो बचाइराख्ने हतियार बनेको छ, संरक्षण कृषि । संरक्षण कृषिमा नै उनले विद्यावारिधि
गरेका हुन् ।
सन् १९९० मा अमेरिकाबाट सुरु भएको यो कृषि प्रणाली विश्वका दर्जनौं देश हुँदै सन् २०१० मा नेपाल भित्रियो । त्यसयता यो खेतीको अभियानको सुरुवात भयो र त्यसको अगुवाइ उनले गरेका छन् ।

कठिन प्रक्रियाबाट बनेको माटो बगेर गएको र क्षीण भएकामा चिन्तित छन्, कृषि अनुसन्धान परिषद् नार्कका वरिष्ठ कृषि वैज्ञानिक डा. टीकाबहादुर कार्की

संरक्षण कृषिको यो अभियान यतिखेरसम्म आइपुग्दा नेपालका विभिन्न जिल्लामा फैलिएको छ । कपिलवस्तु, नवलपरासी, चितवन, पाल्पा, गुल्मी र अर्घाखाँचीमा यो खेती प्रणाली प्रयोगमा छ । यो कृषि प्रणाली झन् व्यावहारिक र उब्जाउ देखिएको छ । परीक्षणबाट यो प्रणाली प्रभावकारी देखिएकाले यसलाई देशैभरि विस्तार गर्नुपर्ने धारणा छ, उनको ।
बिनाखनजोत या कम खनजोत गरी बाली बिरुवाका नल, पराल, ढोड जमिनमै छोडेर गरिने खेती प्रविधिलाई संरक्षण कृषि भनिन्छ । उनी भन्छन्, ‘जमिनमा खनजोत नै नगर्ने या कम खनजोत गर्ने, खेती गर्ने जमिनमा छापो लगाउने या माटो खुला नछाड्ने र बाली चक्र अपनाउने प्रक्रियाहरू नै सबै संरक्षण
कृषिमा पर्छन् ।
उनको भनाइ छ, ‘हुन त नेपालमा अहिले पनि खेती गर्ने जमिनलाई धेरै खनजोत गर्र्ने, माटोलाई टुक्रयाउने मात्र नभई धुलौटे र फुरफुराउँदो बनाउने गरिन्छ ।
बाँझो जमिनमै या अलिकति मात्र खनजोत गरेर खेती गर्न मान्दैनन्, कृषकहरू । तर, अब भने माटो नष्ट नगर्नेतर्फ सचेत बनेका छन् । भोलिका दिनमा संरक्षण कृषिबाट मात्र कृषियोग्य माटो जोगाउन सकिन्छ भन्ने चेतना नागरिकमा बढेको उनको भनाइ छ ।
संरक्षण कृषिले कसरी संरक्षण गर्छ माटो ? माटो टुक्रिन नदिँदा बग्ने डर हँुदैन । माटो धेरै खेलाउने र बढी धुलो बनाउने गर्दा भूक्षयको डर हुन्छ, जुन होचो जमिनतिर बग्न थाल्छ । यस्तो बग्ने क्रम पनि रोकिनेछ । उनी भन्छन्, ‘यो प्रणाली पहाडमा झन् धेरै आवश्यक छ । किनभने पहाडको खेतीयोग्य जमिन बढी भिरालोमा हुने र यस्तोमा धान रोप्दा पानी नपुग्ने र बग्ने त्रास हुन्छ ।’ नेपालको सबै कृषियोग्य जमिनमध्ये करिब ३० प्रतिशत भिरालोमा पर्छ ।
यस्तो भिरालो जमिनमा अलिअलि मात्र खनेको वा बाँझो जमिनमै खेती गर्दा पनि उत्पादनमा कमी होइन वृद्धि नै भएको छ । यस्तोमा छरुवा धान वा गहुँ खेती गर्न सकिन्छ । यस्तोमा लगाउने घैया धानको उत्पादन झन् बढी देखिएको छ । अनि यसरी गरिने खेतीमा परम्परागत खेतीभन्दा ४० देखि ५० प्रतिशतसम्म लागत कम लाग्ने गरेको अध्ययनले देखाएको छ ।

उनी भन्छन्, ‘अब हामीले कुनै न कुनै नयाँ प्रविधि र खेती गर्ने तरिकाबारे नसोची हँुदैन किनभने हाम्रो जमिन यही हो, बढ्दैन । तर, खाने मुख भने बर्सेनि बढ्दै छ, जुन स्वाभाविकै हो । अनि यही जमिनमा र पुरानै विधिले खेती गरेर खान पनि पुग्दैन । माटो बचाउने, यसको उर्वरा शक्ति बढाउने र फसल पनि बढाउने उपाय यही संरक्षण कृषि हुन सक्छ ।’
‘हामी उही हलो र जुवामै छौं,’ उनी भन्छन्, ‘हेर्नुस् त ५० वर्षअघि र आजको हलो जोत्ने प्रविधिमा फरक छ त ? छैन नि । हुन त अहिले तराईमा ट्याक्टर आदि आएका छन् तर पहाड त उही हो । खेती लगाउने तरिका उही हो, खनजोत उही हो । अब सधैं यसरी हुँदैन । माटोपानी बचाउन र उत्पादन बढाउन अब संरक्षण कृषिकै अभ्यासमा हामी जानुपर्छ ।’ ल