‘पितृ सत्ता जोगाउँछ, तीज र ऋषिपञ्चमी पर्वले’

राजधानी समाचारदाता/काठमाडौं।

महिला अधिकारकर्मी तथा सांस्कृतिककर्मीहरुले तीज र ऋषिपञ्चमी चाडले पितृसत्तालाई नै जोगाइराख्ने भन्दै पर्वहरुबारे बहस हुनुपर्ने बताएका छन् । तीज पर्वसम्बन्धी धार्मिक विश्वासले महिला नै कमजोर हुने भन्दै उनीहरुले तीज बहिष्कार गर्नुपर्ने विचार व्यक्त गरेका हुन् ।
घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको ‘आजको सन्दर्भमा तीज’ विषयक अन्तत्र्रिmयामा बोल्दै वरिष्ठ समालोचक तथा माक्र्सवादी सौन्दर्यचिन्तक निनु चापागाईंले आजको तीजले आजको पुस्तालाई उपभोक्तावादी बनाएको बताए । ‘पहिले तीजलाई सामन्तवादी संस्कृतिले निर्देशित गथ्र्यो, अहिले यसमा पुँजीवादका विकृति थपिएका छन्’, चापागाईंले भने । उनले संसारभरिक पुरुषको भन्दा महिलाको आयु बढी भएको तथ्य प्रस्तुत गर्दै महिलाले व्रत बस्दैमा पुरुषको आयु थपिने अन्धविश्वासको आलोचना गरे ।

‘कसैले पूजापाठ नगरी, व्रत नबसी र लिंगपूजा नगरी खानपान मात्रै गर्छु वा रमाइलो मात्रै गर्छु भन्छ भने त्यतिसम्म ठीकै छ । नत्र तीज विकल्प खोजिनु पर्ने चाड होइन, यो खारेज गर्नुपर्छ ।’
सांसद् तथा नेकपा नेतृ अञ्जना विशंखेले तीज मनाउनु र छाउपडी प्रथा मान्नु उस्तै भएको विचार व्यक्त गरिन् ।
‘सरकारले एकातिर छाउपडी गलत हो भन्छ, ऋषिपञ्चमीमा बिदा दिनु भनेको छाउपडी प्रथालाई मान्यता दिनु हो’, विशंखेले भनिन्, ‘वर्षभरि रजस्वला भएका महिलाले शुद्ध हुन भन्दै मनाउने पर्व हो ऋषिपञ्चमी । अनि सरकारले त्यही दिन बिदा दिनु भनेको छाउपडीलाई मान्यता दिनु हो ।’
विशंखेले सरकारले महिलाका लागि ऋषिपञ्चमीमा महिलालाई दिँदै आएको बिदाको व्यवस्था खारेज गर्न आफूले संसद्मै कुरा उठाउने बताइन् ।

महिला आयोगकी पूर्व सदस्य तथा लेखक धनकुमारी सुनारले तीजलाई महिलाहरूको अपवित्रता पखाल्ने पर्वका रूपमा मनाइएको भन्दै पञ्चमीको दिनमा नुहाएर शुद्ध चलनले त्यसलाई पुष्टि गरेको धारणा व्यक्त गरिन् । ‘अहिले कम्युनिस्टहरु नै सरकारमा छन् तर महिला समानतामा कम्युनिस्टकै सरकारको दोहोरो चरित्र छ’, उनले भनिन्, ‘संविधानले प्रदान गरेको महिलासम्बन्धी मौलिक हक कार्यान्वयन गर्नुपर्छ । तर सरकार तीजमा बिदा दिएर बस्छ ।’

युवा नेतृ मानुषी यमि भट्टराईले नेपालमा थुप्रै जाति, समुदाय र सभ्यताका मानिस बस्ने र सबैको परम्परामा तीज पर्व नभएको भन्दै आफूले पनि परिवारमा तीज कहिल्यै नमनाएको अनुभव सुनाइन् । ‘मैले पहिलोपटक महिलाहरुले लिंगपूजा गरेको दृश्य देखेर अचम्म मानेकी थिएँ,’ उनले भनिन््, ‘त्यो थाहा पाएपछि मलाई अचम्म लाग्यो र घृणा पनि लाग्यो ।’ आफू राजनीतिकर्मी भएकाले विचारै नमिल्ने प्रकृतिका धार्मिक र सांस्कृतिक पर्वमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिनु परेको पनि यमिले चर्चा गरिन् । ‘मेरो परिवारले तीज मनाउँदैन तर समाजले यसको अभ्यास गरिरहेको छ’, उनले भनिन्, ‘तीज धार्मिक मात्र होइन, सामाजिक कार्य पनि हो । त्यसकारण हामी यसबाट भाग्न सक्दैनौँ । समाजमै पसेर बदल्नुपर्छ ।’
कार्यक्रममा डा. विन्दा मैनाली, विभूती भट्टराई, बलराम तिमल्सिना, युग पाठक, केशर कालिकोटे, बन्धुविक्रम क्षेत्री, रजनी ढकाललगायतले पनि बोलेका थिए ।

घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले कला, साहित्य र संस्कृतिका विभिन्न आयाममा अध्ययन–अनुसन्धान, प्रकाशन र बहसका कार्यक्रमहरु गर्ने लक्ष्य लिएको प्रतिष्ठानका सदस्य सचिव सङ्गीत श्रोताले बताए । प्रतिष्ठान प्रगतिवादी कथाकार तथा समालोचक घनश्याम ढकालको स्मृतिमा २०६९ सालमा स्थापित संस्था हो ।