ओभरीमा निर्मित सर्पदंश उपचार केन्द्र सञ्चालनमा

राजधानी संवाददाता/नेपालगन्ज । गर्मी तथा वर्षायाममा सर्पदंशका विरामीको चाप बढ्न थालेपछि पूर्व–पश्चिम राजमार्ग अन्तरगत बाँकेको ओभरीमा सर्पदंश उपचार केन्द्र निर्माण गरी सञ्चालनमा ल्याईएको छ ।

बाँके निर्वाचन क्षेत्र नं. १ क बाट निर्वाचित सांसद कृष्णा केसीले शिलान्यास गरेको सो केन्द्र २९ लाख २६ हजार ३ सय ६४ रुपैया लागतमा निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइएको हो ।

राप्तीसोनारी गाउँपालिकाले २० लाख ५० हजार र बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाको लागि खटिएको श्रीमेहर गणले ९ लाख ६२ हजार ३ सय ६४ बराबरको प्राविधिक तथा जनश्रमदानबाट सो भवन निर्माण भएको हो । उद्घाटनसंगै केन्द्र सञ्चालनमा समेत ल्याईएको हो ।

गाउपालिकाका अध्यक्ष लाहुराम थारुले भवनको उद्घाटन गर्दै यस केन्द्रले बाँकेको राप्तीसोनारी तथा दाङ्गबाट समेत आउने सर्पदंशका विरामीले उपचार सेवा पाउने विश्वास व्यक्त गरे ।

राप्ती सोनारी गाउपालिकाका ५१ हजार जनसंख्यालाई लक्षित गरी निर्माण गरिएको सो भवन बहु उपयोगी हुने विश्वास गरिएको छ ।

भवनको उद्घाटन समारोहमा श्रीमेहर गणका गणपति तथा प्रमुख सेनानी बासुदेव धिमालले सर्पदंशका विरामीले मात्र नभई सो केन्द्रबाट राजमार्गमा हुने सवारी दुर्घटनाका विरामलाई समेत प्राथामिक उपचार दिन सकिने गरी सञ्चालनमा ल्याउन पहल गरिने बताए ।