मलेसियामा कामदारको पारिश्रमिक वृद्धि, आगामी जनवरीदेखि लागू हुने

राजधानी समाचारदाता/काठमाडौ।

मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारका लागि आगामी वर्षको जनवरीदेखि लागू हुने गरी ५० रिंगिट वृद्धि गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

अहिले मलेसियन सरकारले गरेको यो नयाँ निर्णय पूर्ण रुपमा लागू भएमा आगामी वर्षदेखि यहाँ कार्यरत नेपाली कामदारले न्यूनतम मासिक पारिश्रमिक १०५० रिंगिट पाउनेछन् । यहाँका सेवा, निर्माण, उत्पादन, कृषि, सुरक्षा लगायत विभिन्न रोजगारी क्षेत्रमा गरी करिब ५ लाख नेपाली कार्यरत छन् ।

हाल मलेसिया प्रायद्वीपमा न्यूनतम पारिश्रमिक मासिक १ हजार रिंगिट छ भने सावाह र सारावक क्षेत्रमा काम गर्नेहरुका लागि ९२० रिंगिट कायम छ । वर्तमान सरकारको गठबन्धन पाकातन हरापनले गत मे ९ को १४ औं आमनिर्वाचनको आफ्नो चुनावी प्रतिवद्धतापत्रमै निजी क्षेत्रमा कार्यरत कामदारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरी १५ सय रिंगिट र्पुयाइने उल्लेख गरिएको थियो । तर उक्त प्रतिवद्धतापत्रमा उल्लेख गरिएभन्दा निकै कम रकममात्र वृद्धि गरिएको हो । विदेशी कामदारहरुको व्यवस्थापन गर्न कतिपय श्रमसम्बन्धी नीतिहरु परिवर्तन गर्ने बताउँदै आएको मलेसियामा विदेशी कामदारको लेभी रकम उनीहरु कार्यरत रोजगारदाताले नै तिर्नुपर्ने नीतिगत प्रावधान छ । हालै वृद्धि गरिएको नयाँ न्यूनतम पारिश्रमिक १५ लाख कामदारहरुका लागि निकै कम भएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।