सिलाई तालिमले महिला आत्मनिर्भर बन्दै

सिलाई तालिमले महिला आत्मनिर्भर बन्दै

सीपी लोहिया

‘कपडा सिउने तालिम पाएपछि घरमा एक मेसिन राखेर गाँउलेहरुका कपडा सिउन सुरु गरेकी छु र ज्यालाको पैसाले दैनिक घरखर्च चलाइरहेकी छु’ सिगास ६,की भुजा साँउदले भनिन्’ । गत आर्थिक बर्षको बजेटबाट जिल्लाको सिगास गाँउपालिकाका बिपन्न तथा पिछडिएका महिलाहरुलाई सिलाई कटाईको तालिम दिइएपछि तालिम पाएका महिलाहरुले आम्दानी गर्न सुरु गरेका छन् ।


गाँउपालिकाको सहयोगमा तालिम पाएपछि आत्मनिर्भर बन्ने बाटो खुलेको सिगास ७,की राधिका धामिले बताइन् । उनले भनिन् ‘खेतिपाति पनि खासै हुदैँन्, खेतमा मकै, गहुँ जंगली जनावरले खसाप गरिदिन्छन् । घरका पुरुषले भारतमा गएर मजदुरी गरेको पैसाले घरखर्च चलाउदैँ आएका थियौँ तर अहिले सिलाईको तालिम पायौँ र यसै पेशामा लागेका छौँ, आम्दानी पनि राम्रै भैरहेको छ, हिजोका दिनमा कपडा सिउनका लागी कोहि खोड्पे बजार, कोहि सदरमुकाम त कोहि डडेल्धुरा समेत जाने गरेका थिए । आजभोली हाम्रै घरमा आउछन् हामी अझैपनि सिलाई कटाई सिक्दै गरेका छौँ उनले भनिन् । गत आर्थिक बर्षमा गाँउपालिकले ४५ जनालाई ३–३महिनाको सिलाईकटाई तालिम प्रदान गरेको थियो । चालु आर्थिक बर्षमा पनि थप ४५ जना गरि ९० जना दलित, गरिब तथा बिपन्न परिवारलाई सिलाई–कटाई तालिम प्रदान गरिदैँछ ।

पहिला ३ महिनाको तालिम लिएका हरुलाई थप ३ मिहिने तालिम दिइदैँछ भने नयाँ ४५ जनालाई पनि ६ महिना तालिम दिईने गाउपालिका अध्यक्ष हरिसिंह धामीले बताए । अहिले हरेक वडाका १०–१०जनाका लागी तालिम सञ्चालन गरिएको उनले बताए ।
महिलालाई सिलाईकटाई पेशामा आत्मनिर्भर बनाउन गत आर्थिक बर्ष२०७४÷०७५मा गाँउपालिकाले १२लाख रुपँया बिनियोजन गरेको थियो भने, चालु आर्थिक बर्षको बजेट बाट ८लाख रुपैंयाँ थप गरिएको गाँउपालिकाले जनाएको छ ।
गाँउघरमा पहिला सिलाई गर्ने मान्छे नहुँदा कपडा सिउन दिनभर हिडेर टाढा–टाढा जानु परेपनि अब घर नजिकै सिउन पाइने स्थानीय सुरेन्द्र साउदले बताए ।