स्वर्गको यात्रा

स्वर्गको यात्रा


राजीव गौतम

दिनहु“ स्कुलबाट फर्किंदा आमालाई एउटा नयाँ कुरा सुनाउने सचिता आज भने नयाँ जिज्ञासाका साथ घर आइन् । उनको मनमा पाठ पढाउने क्रममा नेपाली विषयको मिसले भन्नुभएको स्वर्गको उदाहरणले अनेकौं विचार उत्पन्न भइरहेको थियो । यसको बारेमा त आमालाई पनि राम्रै ज्ञान होला भन्ने लागेर स्कुलबाट फर्कनेबित्तिकै हतार हतार ब्याग आफ्नो कोठामा राखेर आमा भएको ठाउँमा आइपुगिन् । उनी पढ्ने क्रममा कुनै रमाइला कुरा थाहा पाइन् भने पनि आमालाई सुनाइहाल्थिन् र केही नबुझे जस्तो लाग्यो भने पनि उहाँलाई सोधिहाल्थिन् । छोरी हतारिएर केही भन्न खोजेको देखेर आमाले ‘पहिले स्कुलको लुगा फेरेर हातमुख धोइ सफा भएर आऊ अनि खाजा खाँदै गफ गरौंला’ भन्नुभयो ।

हातमुख धोएर खाजा खाने क्रममा उनले आज पढाउँदा मिसले दिनुभएको उदाहरणको यथार्थ आमासँग जान्न चाहिन् । आमाले पनि राम्रोसँग यसको बारेमा बुझाउन थाल्नुभयो । जब आमाले यो संसार विश्वासमा अडिएको छ र उक्त विश्वासअनुसार अहिले राम्रो काम गर्नेले पछि पनि स्वर्गको सुख भोग गर्न पाउँछ भन्ने मान्यता राखिएको कुरालाई उजागर गरिदिनु भयो तब उनको मन केही हलुंगो भयो । भोलिक लागि गृहकार्य सकाउनुपर्ने भएकाले उनी केही समय गृहकार्यमा व्यस्त भइन् । बाबा पनि अफिसबाट फर्किसक्नुभएको र खाना पनि तयार भइसकेकाले उनले बाबाआमासँग बसेर
खाना खाइन् । खाना खाएको केही बेरपछि सुत्ने तर्खर गरिन् ।

सुत्नुअघि उनी साँच्चिकै स्वर्ग कस्तो हुन्छ होला है भनी एक छिन ध्यानमग्न भइन् । थाकेको कारणले ओछ्यानमा पल्टिनेबित्तिकै एकै छिनमा निदाइ पनि हालिन् । अब सपनामा उनको स्वर्गको यात्रा तय भयो । उनलाई आकाशबाट कसैले बोलाएर स्वर्ग पु¥याइदिने आश्वासन दिए । तर, जब उनी त्यहाँसम्म कसरी पुग्ने भनेर मात्र के सोच्दै थिइन् तब सो मानिससम्म पुगिने निकै नै सुरक्षित खालको भ¥याङ उनीसम्म आइपुग्यो । उनले उक्त भ¥याङको पहिलो खुड्किलामा पाइला राख्नेबित्तिकै जादुमय तरिकाले एकै छिनमा त्यहाँ पुगिन् । त्यसपछि उनलाई उक्त मानिसले माया र सदभावका साथ स्वर्गतर्फ लिएर गए । स्वर्गको ढोकाबाट भित्र प्रवेश गर्नेबित्तिकै उनलाई नौलो कुराको अनुभूति भयो । जता फर्किए पनि रमाइलो र खुसियालीको मात्र महसुुुुस हुन थाल्यो । हरेक कुरा आकर्षक देखिन्थ्यो । जे कुराको कल्पना ग¥यो, त्यही आँखा अघि देखा परिहाल्थ्यो । अनेक किसिमको हरियाली तथा सुगन्धले त झन् मनै लोभ्याउँथ्यो । पृथ्वीमा कहिल्यै नदेखेका फलफूल तथा खानेकुराको स्वाद लिन पाइन्थ्यो ।

सुत्नुअघि उनी सा“च्चिकै स्वर्ग कस्तो हुन्छ होला भनी ध्यानमग्न भइन्

मिस र आमाले नभन्नुभएको तर साँच्चिनै सम्झिनलायकको काम तथा व्यवहारको पनि उनले अनुभव गरिन् । त्यो के भने त्यहाँ भएका हरेक मानिस सभ्य र शिष्ट थिए । उनीहरू मिहिनेती र सद्गुणी पनि थिए । सबै सत्यको पक्षमा निःस्वार्थका साथ लागेका हुनाले कुनै बनावटी नियम कानुनको आवश्यकता त्यहाँ देखिँदैनथ्यो । हरेक चिजबिजमा आफ्नै प्रकारको चमकता र पूर्णताको अनुभव गर्न पाइन्थ्यो । दुःख भन्ने चिज देख्न त के सोच्नसम्म पनि पर्दैनथ्यो । अरूलाई राम्रो गर्न सकियो भने आफ्नो स्वतः राम्रो हुन्छ भन्ने भावना उनीहरूमा थियो । त्यहाँ केही कुराको पनि कमी महसुस हुँदैनथ्यो । सबै सबैमा पूर्ण देखिन्थे । अपूर्ण भन्ने देख्न त के महसुुुस गर्न पनि पाइँदैन थियो । यसरी सबैमा देखिने मित्रवत व्यवहारले यो अर्कै संसार हो भन्ने प्रस्टसँग झल्काउँथ्यो । यस्तो अलौकिक संसारमा गएर नयाँ कुराको अनुभव गर्न पाउँदा सचिता पनि साँच्चिकै दंग थिइन् ।

स्वर्गमा रमाइरहँदा अचानक उनलाई कसैको आवाजले बिउँझायो । यो आवाज उनकी आमाको थियो । जब बिउँझिएर यताउति हेरिन् अनि पो थाहा पाइन्, उनले त सपना पो देखिरहेकी रहिछन् । घामको किरण उनको ओछ्यानसम्म आइपुगिसकेको रहेछ । त्यसपछि एकछिन सपनामा देखेको कुरालाई मनन गर्न थालिन् ।
अब मिसले र आमाले भन्नुभएको कुरा पनि उनीमा छर्लंग भयो । उनको कलिलो मस्तिष्कले विचार गर्न थाल्यो कि आखिर सबैले नियम कानुनको पालना गरी परिश्रम गर्दै जाने र एकअर्कामा माया तथा सद्भाव कायम गर्ने हो भने त हाम्रो देश पनि स्वर्गभन्दा कम हुने रहेनछ । त्यसपछि उनले मनमनै भनिन्, ‘सबैले मिलीजुली राम्रो काम गर्ने हो भने स्वर्ग त आफ्नो जीवनकालमै पृथ्वीमा पनि सम्भव रहेछ ।