१० रूपैयाँ बचतले दिएको सन्देश

आर्थिक रूपमा सम्पन्न हुनका लागि ठूलै उद्यम गर्नुपर्छ भन्ने छैन । सामान्य बचतबाट पनि जीवनमा प्रगति गर्न सकिन्छ भन्ने गतिलो उदाहरण धादिङ गजुरी गाउँपालिका–५ स्थित राई गाउँका महिलाहरूले देखाएका छन् । उक्त गाउँका महिलाहरूले प्रारम्भमा थोरै रकम जम्मा गर्न थाले । गाउँभरिका महिलाहरूले जम्मा गरेको रकम धेरै भएपछि सहुलियत ब्याजमा आफ्नै समूहको पैसा निकाले र गच्छेअनुसारको उद्यम सुरु गरे । कसैले तरकारी खेती गरे त कसैले कुखुरा पाले । कोही खाजा घर सञ्चालनमा लागे । सामुहिक बचतसँगै कतिपय महिलाहरूले सामुहिक सीप पनि सिके आफूले जानेको ज्ञान अरूलाई दिएपछि सिकाउने दक्ष भए भने सिक्नेले पनि अतिरिक्त ज्ञान पाए ।

राजमार्गवाट नजिकै रहेर पनि पिछडिएको गाउँ भनेर चिनिने राई गाउँमा सामुहिक बचतले केवल आर्थिक रूपमा मात्रै सम्पन्न बनाएको छैन । सामाजिक रूपमा अघि बढ्न पनि महिलालाई सघाएको छ । उनीहरू समूहमा केवल ऋण र मुनाफाको कुरा मात्रै गर्दैनन् । कसरी क्षमता विकास गर्नुको साथै गाउँको पनि उन्नति गर्न सकिन्छ भनेर बहस गर्न थालेका छन् । कुनै समय गाउँमा नयाँ मान्छे देख्यो कि भाग्ने गरेका महिलाहरू अहिले नयाँ मान्छे देख्ने बित्तिकै नयाँ जिज्ञासा राख्छन् । गाउँमा कोही मान्छे आउने बित्तिकै थोरै भएपनि ऊसँग भएको ज्ञान हासिल गरौं भन्ने भावना राख्नाले महिलाहरूलाई स्वाभिमानी मात्रै बनाएको छैन । आत्मबल पनि बढाएको छ । कुनै समय घर गृहस्थीमै सीमित त्यो पनि थोरै कमाईका लागि लोग्नेकै भर पर्न विवश महिला अहिले आफै आम्दानी र खर्चको हिसाब मात्रै गर्दैनन् । कसरी धेरै आम्दानी गर्न सकिन्छ भनेर अरूलाई ज्ञान दिन सक्ने हैसियतमा छन् । राई गाउँमा महिलाहरूमा देखिएको सकारात्मक चेतको प्रभाव उनीहरूको परिवारको सदस्य मात्रै हैन, अन्यत्रमा पनि पर्न थालेको छ ।

गाउँमा कोही मान्छे आउने बित्तिकै थोरै भएपनि ऊसँग भएको ज्ञान हासिल गरौं भन्ने भावना राख्नाले महिलाहरूलाई स्वाभिमानी मात्रै बनाएको छैन । आत्मबल पनि बढाएको छ । कुनै समय घर गृहस्थीमै सीमित त्यो पनि थोरै कमाईका लागि लोग्नेकै भर पर्न विवश महिला अहिले आफै आम्दानी र खर्चको हिसाब मात्रै गर्दैनन् । कसरी धेरै आम्दानी गर्न सकिन्छ भनेर अरूलाई ज्ञान दिन सक्ने हैसियतमा छन्

१० रुपैयाँको बचतले परिवर्तन ठट्टा हैन । महिलाहरूले मासिक १० रुपैंया जम्मा गरेर दुई लाखको कोष बनाए भने केही बढी रकम जम्मा गर्ने हो भने कति रुपैंया बनाउन सकिन्छ होला आफैं अनुमान गर्न सकिन्छ । केवल राई गाउँ मात्रै हैन, यसरी थोरै रकम जम्मा गरेर आर्थिक रूपमा समृद्ध हुने योजना अन्य गाउँका महिलाहरूले पनि बनाएका छन् र कतिले योजना कार्यान्वयन पनि गरेका छन् । कुनै पनि मुुलुक त्यतिबेला सम्पन्न हुन्छ जतिबेला आममानिस आर्थिक रूपमा सम्पन्न हुन्छन् । कुनै पनि व्यक्ति आर्थिक रूपमा सम्पन्न हुनका लागि सबैभन्दा पहिला आर्थिक रूपमा सम्पन्न हुने लक्ष्य हुनुपर्छ । लक्ष्य बनाएपछि मात्रै त्यसपछि गरिने आर्थिक कारोबारले नागरिकलाई समृद्ध बनाउन भूमिका खेल्छ । राई गाउँमा महिलाले अपनाएको शैलीइ अन्य गाउँका महिलाहरूले पनि अपनाउने हो भने घाटा कसैलाई पनि हुँदैन ।