बलात्कार नियन्त्रण र यौनिक सदाचार

बलात्कार नियन्त्रण र यौनिक सदाचार

 
रामप्रसाद गौतम

मानिस यौन क्रियाबिना बाँच्न सक्दैन किनकि यो आधारभूत आवश्यकता हो । त्यसैले, स्वैच्छिक स्वतःस्फूर्त यौन क्रियाकलापलाई यौनिक सदाचार मानिन्छ । तर हिजोआज यौनमा विकृति बढ्दै छ । यौन पिपासुहरूको उन्माद बढ्दो छ, यसलाई समयमा व्यवस्थापन गर्न सकिएन भने यो संसार फेरि पाषण युगमा फर्किनेछ । यो मनोगत होइन, तथ्यांकहरूले पुष्टि गरिरहेको छ । यौन चाहना नियन्त्रण गर्न नसकिएला तर व्यवस्थित गर्न सकिन्छ । यौन व्यवस्थापनको कारणले नै मानिस मानव बनेको हो अन्यथा ऊ पशु हुन्थ्यो र त्यस्तै रहन्थ्यो । कडा कानुनले, प्रहरीका डण्डाले, पत्रपत्रिकामा बेइज्जत हुने डरले बलात्कारमा केही कमी आउँछ तर यो रोकिँदैन किनकि यौन नियन्त्रण होइन, सदाचारको विषय हो ।

केन्द्रीय बाल कल्याण समितिले तयार पारेको एक प्रतिवेदनअनुसार नेपालमा २०७४ चैतदेखि २०७५ असारसम्म चार महिनामा ११८ बालबालिका बलात्कृत भएको सार्वजनिक भएको छ । यसमध्ये १४ जना बालिकाको सामूहिक बलात्कार भएको छ । सेक्स, जबर्जस्ती करणी, बलात्कार, सामूहिक बलात्कार र त्यसपछि हत्या । यी सबै अलग कुरा हुन् । यिनलाई अलगअलग ट्रिट गरिनुपर्छ । सबैलाई एउटै डालोमा राखेर व्यवहार गर्नुहुँदैन । यो यौन व्यवस्थापनको पहिलो चरण हो ।
योबाहेक नेपाल प्रहरीले संकलन गरेको तथ्यांकलाई हेर्ने हो भने १० भदौ २०७० देखि ९ भदौ २०७५ सम्म १०३४ बलात्कारका घटनाका फस्र्ट इन्फरमेसन रिपोर्ट एफआईआर दर्ता भए । जसमा आफन्त, बिरामी, दुधे बालिकादेखि ९२ वर्षीया वृद्धाको समेत बलात्कार भएको छ । तर ६० प्रतिशत बलात्कार चाहिँ १५ वर्ष मुनिका बालिकाको भएको छ । ज्यादै विद्रुप अवस्थाबाहेक ११–१५ वर्ष उमेर समूहका बालिकाहरू यसरी बलात्कारमा पर्न गएका छन् । यो समस्या दिनानु दिन विकराल हुँदै गएको छ ।

अबका दिनमा यौनिक सदाचारको शिक्षा प्रभावकारी बनाउन, यौनेन्द्रीयहरूलाई मन र दिमागले नियन्त्रित गर्ने तरिका सिकाएर निम्न तरिकाले बलात्कारमा नियन्त्रण गर्न सकिन्छ । स्वामी विवेकानन्दले एकपटक भनेका छन्, रज र वीर्य बाहिर जाँदा मानिसलाई जति आनन्द हुन्छ, त्योभन्दा सयौ गुणा आनन्द ती चीज शरीर भित्र रोकिँदा हुन्छ । मानिसलाई सदाचारी बनाउन सकिन्छ तर निम्न उपाय पनि अपनाउनुपर्छ ।

१. स्पष्ट रूपमा किशोरकिशोरीलाई यौन शिक्षा दिनुपर्दछ :

मानिसको जीवनमा विशेषगरी किशोरीहरूमा अनियन्त्रित यौनले पार्ने समस्याबारे पाठ्यक्रमबाट नै जानकारी दिनुपर्छ । महिलाको महिनावारी, बच्चा जन्मिँदाका समस्या, नचाहेको गर्भ रहन गएमा त्यसका लागि चक्कीहरू खाँदा हुने समस्या, गर्भपतन गराउँदाका समस्या र यसबाट जीवनभर हुने दुःखको बारेमा युवायुवती दुवैलाई जानकारी दिनुपर्छ । हालै बीबीसीले प्रकाशित गरेको समाचारअनुसार महिलाको पेलभिक एरिया – (पाठेघर– प्रजनन अंग) को बनावट, यसको संवेदनशीलता आदिको बारेमा आजसम्म कुनै रिसर्चले वास्तविक समस्या र निदानका उपायरू भेट्न सकेको छैन । त्यसैले यसको सुरक्षा गर्नु आवश्यक छ भन्ने कुरा सानैदेखि सचेत बनाउनुपर्छ ।

२. स्वैच्छिक यौनलाई केही खुला गर्नुपर्छ :

स्वैच्छिक रूपमा एकआपसमा चिनेर बुझेर, सल्लाह सहमतिको आधारमा गरिने यौनसम्पर्कलाई अनावश्यक आतंकित गर्न पनि हुँदैन । कतै बलात्कारीलाई बचाउन र लुकाउन प्रयास गर्ने अर्कोतिर स्वैच्छिक सम्पर्कलाई अनावश्यक कडाइ गर्नु पनि राम्रो होइन । यसले पनि अराजकता थपिँदै गएको छ । यौन जीवनमा जता पनि डर त्रास हुँदै गर्दा यसरी बलात्कार र हत्याका घटना घटेकाले चेतनामा आधारित यौनलाई अनावश्यक टर्चर गर्नुबाट रोक्नुपर्ने देखिन्छ । वयस्क युवा युवायुवतीबीच सहमतिमा हुने सेक्स आफैंमा अपराध होइन भन्ने कुराको जानकारी पनि दिनुपर्छ ।
अनुमतिपत्रका आधारमा नियमित स्वास्थ्य परीक्षण गरेर यौन व्यवसायीलाई अनुमति दिनु पनि खासै नराम्रो काम नहुन सक्छ । यसले पर्यटक आगमनमा पनि सुधार हुन्छ । यसमा लामो छलफल गरेर उचित अनुचितमा व्यापक छलफल गर्नुपर्ला तर अनुमति महिला र पुरुष दुवैलाई दिएमा, यसले अहिलेको जस्तो बलात्कारको यो भयावहलाई केही हदसम्म रोक्नेछ ।

यौन चाहना नियन्त्रण गर्न नसकिएला तर व्यवस्थित गर्न सकिन्छ । यौन व्यवस्थापनको कारणले नै मानिस मानव बनेको हो अन्यथा ऊ पशु हुन्थ्यो र त्यस्तै रहन्थ्यो । कडा कानुनले, प्रहरीका डण्डाले, पत्रपत्रिकामा बेइज्जत हुने डरले बलात्कारमा केही कमी आउँछ तर यो रोकिँदैन किनकि यौन नियन्त्रण होइन, सदाचारको विषय हो

३. इन्टरनेटका अश्लील साइटलाई बन्द गरिनुपर्छ :

इन्टरनेटका अश्लील साइटका कारणले पाशविक बलात्कारका घटना बढ्ने हुनाले, नेपालका मेनसर्बरबाट अश्लील साइटहरू हटाउनुपर्छ । यसले १८ वर्ष मुनिका साना बालबालिकामा नकारात्मक असर पार्छ नै, त्यसमा कुनै द्विविधा छैन । सबैभन्दा बढी ६० प्रतिशत बलात्कार यही उमेरमा भएको तथ्यांकलाई हेर्दा पोर्नसाइट युवाहरूको शत्रु नै हो । एकातर्फ विद्यालयमा घोकन्ते शिक्षा र अर्को काँचो उमेरमा पोर्न एक्सेसले गर्दा युवाहरूको सोच्ने शक्तिमा ह्रास आउँछ नै । दक्षिण कोरियालगायत विश्वका धेरै देशमा यस्ता साइटहरू बन्द गरिसकिएको छ । यसमा सरकारले सोच्न जरुरी छ ।

४. रोजगारीका अवसर बढाउने

मानिसको मनस्थिति सन्तुलित गर्नका लागि व्यस्तता आवश्यक हुन्छ । त्यसैले, सरकारले संविधान प्रदत्त जनताको रोजगारीको हक प्रदान गर्नका लागि के गर्न सकिन्छ, यसबारे व्यापक दृष्टिकोणयुक्त आत्मनिर्भरतामा आधारित अर्थतन्त्रको रणनीति तय गर्नुपर्ने देखिन्छ । बलात्कार रोक्न पूर्ण रोजागारीउन्मुख आर्थिक सर्किट आवश्यक छ । देशले काम गर्न सक्नेलाई जसरी हुन्छ, काम दिनुपर्छ । व्यस्तता सामाजिक अपराधमा न्यूनीकरण गर्छ ।

५. भ्रष्टाचार र कालोबजारी नियन्त्रण

जुन धन मेहनतबिना कामबिना र लगानीबिना प्राप्त हुन्छ । त्यसले अनेक विकृति जन्माउँछ । यस्ता विकृति मदिराजन्य र यौनजन्य नै हुन्छन् । त्यसैले, भ्रष्टाचार रोक्नका लागि नयाँ तरिका अवलम्बन गर्न सकेमा पनि भ्रष्टाचार रोक्न सजिलो हुने देखिन्छ ।

६. स्वरोजगारी परामर्श तथा उद्यमशीलता विकास

युवाहरूलाई के गर्नु पर्दछ, कसरी स्वरोजगार र आत्मनिर्भर बन्न सकिन्छ भन्नेबारेमा, उचित परामर्श दिन नसक्नु पनि देशको कमजोरी हो । युवाले कोरा र सैद्धान्तिक ज्ञानको प्रमाणपत्र हातमा लिएर रोजगारीका लागि भौतारिएका बेलामा कसरी स्वरोजगार बन्न सकिन्छ । कसरी समयको गतिसँग आफ्नो गति कायम गर्न सकिन्छ भन्ने बारेमा उचित परामर्श प्रदान गरेर पनि युवालाई यस्ता हत्या बलात्कारजन्य गतिविधिबाट मुक्त राख्न सकिन्छ ।

७. खुला सिमानाको व्यवस्थापन

नेपालको बलात्कारजन्य अपराध र यौनजन्य हिंसामा अप्रत्यक्ष तर सशक्त रूपमा खुला सिमाना जिम्मेवार छ । सिमानामा द्विदेशीय यौनधन्दा भएका खबर पटकपटक आउने गर्छन् । यदि सिमानाबाट को आउँछ र को बाहिर जान्छ ? भन्ने अभिलेख हुने हो भने क्रसबोर्डर बलात्कारमा नियन्त्रण हुन्छ । नेपालमा बलात्कारजन्य अपराध गरेर, भागेर सीमा पारि गई बस्नेको पनि कमी छैन । यदि हाम्रो सीमा अभिलेख राम्रो हुन्थ्यो भने त्यो दिन कोको देशबाहिर गए जानकारी पाउन सजिलो हुन्छ ।
खुला सिमाना र बलात्कारको के सम्बन्ध ? भन्ने तर्क पनि आऊला । तर नेपालबाट हजारांै युवतीहरू विदेशका गल्लीहरूमा यौन धन्दामा संलग्न रहेको हामी कसैबाट लुकेको छैन । भारतबाहेक अन्य देशमा समेत नेपाल सरकारको जानकारीबिना नेपाली युवतीहरू गएको र यौनधन्दामा संलग्न भएको खबरहरू आइरहेका छन् । अनियन्त्रित यौन जीवनले नारी जीवन नारकीय हुने कुरा लुकेको छैन र पनि देशले ती युवतीलाई रोक्न पनि सकेन र अभिलेखसमेत राख्न सकेन । अहिले कसैले युवतीलाई बेच्न लैजाँदै छन् कि भनेर नाका नाकामा एउटा एनजीओले काम गरेको छ । यदि सिमाना व्यवस्थापन गरिएको भए भिसा सिस्टम लागू गरिएको भए को कहाँ जाँदै छ र किन जादै छ भन्ने देशलाई जानकारी हुने थियो ।

विश्वको जुनसुकै कुना वा गल्लीमा वा कुनै घरमा नेपाली नारीको इच्क्षाविपरीत बलात्कार हुन्छ भने त्यो समग्र नेपालको बेइज्जतको विषय मात्र नभएर सगरमाथाको बलात्कार हो । त्यसैगरी, वृद्ध अवस्थामा जब सबै यौन रोगग्रस्त मानिसहरू स्वदेशमा आउँछन् भने त्यो अर्को समस्याको विषय हुन्छ । त्यसैले नेपालमा बलात्कारको यो भयावहलाई रोक्न सीमा व्यवस्थापन आवश्यक छ । नागरिक विदेशमा दुःखपूर्ण र नारकीय जीवन बिताउन जाँदै छन् भने राज्यले रोक्नुपर्छ र स्वदेशमै केही रोजगारी दिनुपर्छ ।
देशका सम्पूर्ण नागरिकलाई उद्यमशील, व्यस्त, आत्मनिर्भर, स्वस्थ प्रतिस्पर्धातर्फ उन्मुख गराउन सकिएमा बलात्कारजन्य घटनामा कमी आउने निश्चित छ । मानिसमा आउने यौन उन्मादलाई बलात्कारजस्ता खराब कामबाट रूपान्तरण गरी खोज, नयाँ आविष्कार, सिर्जना खेलकुद, स्वच्छ प्रतिस्पर्धा आदिमा लगाउने परिपाटीको विकास गरेर नै समाजलाई हिंसारहित, कुण्ठारहित, बनाउन सकिन्छ ।