संगठन सुधार अभियानमा दोलखा कांग्रेस

राजधानी संवाददाता/राजधानी ।

नेपाली कांग्रेस दोलखाको दोस्रो जिल्ला सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । सम्मेलनमा दोलखा कांगे्रसले कार्यकर्ताहरूलाई दुईदिने प्रशिक्षण दिएको छ । संगठन सुधार अभियानमा अहोरात्र खट्न कांगे्रस  नेताहरूले कार्यकतालाई निर्देशन दिएका हुन्  ।

नेपाली कांग्रेसका केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक पुरुषोत्तम दाहाल र नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय उपाध्यक्ष प्रमोदहरि गुरागार्इंले दोलखाका कांग्रेस नेता तथा कार्यकर्ता, स्थानीय तहको विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिहरू, विभिन्न भातृ तथा भगिनी संस्थाका प्रतिनिधिहरूलाई दुईदिने प्रशिक्षण दिइएको नेपाली कांगे्रस दोलखाका सचिव सन्तोष रिमालले जानकारी दिए ।

स्थानीय तहले अनपेक्षित र लाद्ने गरी गरेको जनविरोधी निर्णय, विभिन्न नीति तथा कार्यक्रम, करलगायतको भण्डाफोर कार्यक्रमहरू आयोजना गर्ने नीति तय भएको सचिव रिमालले बताए ।

 शनिबार सुरु भएको पार्टी प्रशिक्षण तथा  १०५औं बीपी जयन्ती कार्यक्रम आइतबार सम्पन्न भएकोे छ । प्रशिक्षण कार्यक्रममा स्थानीय तह, प्रदेश र संघीय निर्वाचनका क्रममा हार बेहोर्नुको पछाडिका कारण, गल्ती र कमजोरीबारे समीक्षा गरी आगामी कार्यनीतिका लागि कार्यसमितिलाई जिम्मेवार बनाइएको दोलखाका सभापति रुद्रबहादुर खड्काले जानकारी दिए ।

आगामी ७ मंसिरमा महासमिति बैठकपछि संगठन सुदृढीकरण कार्यक्रम लिएर जनताको घरघरमा पुग्ने निर्णय भएकोे सभापति खड्काले जानकारी दिए । प्रशिक्षण सँगसँगै नेपाली कांग्रेस दोलखाले गत वर्ष गरेको विभिन्न निर्णय र कार्यक्रम अनुमोदन गरिएको उनले बताए ।