कांग्रेस विधान मस्यौदा, प्रदेश सभापति स्वतः केन्द्रीय सदस्य

महेश्वर गौतम/काठमाडौं ।

नेपाली कांग्रेसको नयाँ विधानमा प्रदेश सभापतिलाई पनि केन्द्रिय सदस्य राख्न प्रस्ताव गरिएको छ । कांग्रेसले नयाँ संरचना अनुसारको पार्टीको विधान बनाउँन तिव्र गतिमा प्रक्रिया अघि बढाइ रहेका बेला नयाँ संरचनामा जाँदा प्रदेश स्तरका सभापतिलाई पनि केन्द्रिय सदस्य राख्न प्रस्ताव गरिएको हो ।
विधान समिति सदस्य रहेका नेता प्रदिप पौडेलले प्रदेश सभापतिलाई समेत केन्द्रिय कार्यसमितिमा सदस्य रहने गरी विधान बनाउँन सुझाव आएको जनाए ।

‘प्रदेश सभापतिलाई पनि पदेन केन्द्रिय सदस्य राख्न विधान समितिलाई प्रस्ताव आएको छ, विभिन्न उपसमितिबाट प्राप्त सुझावका विषयमा हामी छलफलमा नै छौं,’ नेता पौडेलले राजधानीसँग भने ।
यस्तै सभापतिको निर्वाचनमा पराजित भएका तर प्राप्त मतका आधारमा दोस्रो नम्बरमा रहेका उम्मेदवारलाई विधानमा नै वरिष्ठ नेता राख्ने प्रस्ताव समेत विधान समितिलाई आएको छ ।
हाल कांग्रेसको विधान मस्यौदा मूल समितिले विभिन्न उपसमितिबाट प्राप्त सुझावको आधारमा प्रारम्भिक मस्यौदाको खाका तयार गरेको हो ।


कांग्रेसले संविधानले व्यवस्था गरेको मुलुकको नयाँ संरचना अनुसार केन्द्र देखि मतदान केन्द्रसम्मको संरचना तयार गर्ने, पदाधिकारी बढाउँने र केन्द्रिय समितिको संख्या समेत बढाउँन गृह कार्य गरिरहेको छ । विधान समितिलाई सदस्यता वितरण प्रक्रियालाई समेत खुकुलो बनाउन सुझाव आएको छ ।
गत शनिबार बसेको विधान समितिको बैठकमा विधान मस्यौदाको खाका तयार गर्दै विभिन्न तीन उपसमितिले आ आफ्नो प्रतिवेदन मूल समितिलाई बुझाएका थिए ।
नयाँ विधानमा वरिष्ठ नेता सहित पदाधिकारी संख्या १० जना रहने गरी प्रस्ताव गरिएको छ । जस अनुसार सभापति सहित, दुई उपसभापति, दुई महामन्त्री, तीन सहमहामन्त्री र एक कोषाध्यक्ष प्रस्तावित छन । तर निर्वाचित र मनोनित पदबारे तय भएको छैन ।

यसैगरी पार्टीको केन्द्रिय समिति पनि १ सय २१ देखि १ सय ३१ सम्म रहने गरी प्रस्ताव गरिएको छ । हाल कांग्रेस केन्द्रिय समिति ८५ सदस्सीय छ ।
पार्टीको संरचना समेत मतदान केन्द्र कमिटि देखि केन्द्रिय समितिसम्म गरी आठ तह प्रस्ताव गरिएको छ । सबै भन्दा तल्लो तहमा मतदान केन्द्र कमिटी, गाउँपालिका नगरपालिका वडा कमिटी, स्थानीय तह कार्यसमिति, प्रादेशिक क्षेत्रीय समिति, संघीय क्षेत्रीय समिति, जिल्ला कार्यसमिति, प्रादेशिक कार्यसमिति र केन्द्रीय कार्यसमिति गरी नयाँ खाका तयार गरिएको हो ।
महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको विधान समितिले पार्टीको संरचना, कार्यविभाजन र आन्तरिक व्यस्थापनसँग सम्बन्धित विधान बनाउन तीन उपसमिति गठन गरेको थियो ।

समितिले एकीकृत प्रारम्भिक मस्यौदामाथि असोज पहिलो साता सबै प्रदेशमा छलफल तथा अन्तक्र्रिया कार्यक्रम समेत गर्दैछ । यस्तै असोज दोस्रो साता अन्तिम मस्यौदा तयार हुने छ । ५ देखि ९ मंसिरसम्म हुने महासमिति बैठकले त्यसलाई पारित गरेपछि कांग्रेस संविधानले तय गरेको संरचनामा रूपान्तनरण हुनेछ ।