राप्रपा प्रजातान्त्रिकले भन्यो ,- सरकार परराष्ट्र नीति संचालनमा अपरिपक्व

राजधानी समाचारदाता/काठमाडौं।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले वर्तमान सरकार परराष्ट्र नीति संचालनमा अपरिपक्व भएको ठहर गरेको छ ।
राप्रपा प्रजातान्त्रिकको सोमबार बसेको उच्च स्तरीय कार्यसम्पादन समिति बैठकले भारतमा हुने सैन्य अभ्यासमा सरकारको तर्फबाट एक हप्ताको बीचमा चारथरी नीतिगत अवधारण आएको भन्दै आपत्ति जनाएको हो ।
‘सरकारका परस्पर विपरित अवधारणाले नेपालको परराष्ट्रनीति संचालनमा अत्यन्त वेढङ्गी र अपरिपक्व तौर तरिका देखिएको र यसले अन्तराष्ट्रिय क्षेत्रमा नेपाल लज्जित हुन सक्ने हुनाले सरकारलाई प्रष्ट पार्न आब्हान गरिन्छ ।’ बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ ।

यस्तै शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्नै लाग्दा समेत रोल्पा लगायत धेरै जिल्लाका द्वन्द्व पीडितले राज्यद्वारा राहत तथा क्षतिपूर्ति पाउँन नसकेको भन्दै राप्रपाले क्षतिपूर्ति पाउन बाँकी द्वन्द्व पीडितहरुलाई निष्पक्ष एवं विना पूर्वाग्रह क्षतिपूर्ति दिन माग गरेको छ ।
यस्तै सरकारले परम्परा देखि चली आएका कृष्ण अष्टमी, घटस्थापना लगायतका विदाको कटौती गरेको भन्दै हिन्दु धर्म र परम्परामा आधारित पर्व विदाहरु यथावत कायम माग गरेको छ ।
अध्यक्ष पशुपति शम्शेर राणाको अध्यक्षतामा बसेको बैठकमा पार्टीको संगठनको अवस्था, आगामी कार्य योजना एवं मुलुकको समसामयीक राजनीतिको बारेमा समेत छलफल भएको प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए ।