लभ स्टेसनमा प्रदीप–जसिता

राजधानी समाचारदाता/काठमाडौं ।

लिली विली चलचित्रमा जोडी बनेपछि चर्चा कमाएका अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ नयाँ चलचित्र ‘लभ स्टेशन’ मा पनि जोडीको रुपमा अनुबन्धित भएका छन् ।
सोमबार राजधानीमा पत्रकार भेटघाट आयोजना गर्दै चलचित्रबारे जानकारी दिईयो । यो चलचित्रमा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाहलगायत चयन भएका छन् ।
कार्यक्रममा बोल्दै अभिनेता प्रदीपले फिल्मको स्क्रिप्ट साह्रै राम्रो भएको र यसलाई अग्रज निर्देशक उज्ज्वल घिमिरेले निर्देशन गर्ने भएकाले आफु लभ स्टेजनमा आबद्ध भएको बताए ।

अभिनेत्री जसिताले पनि प्रदीपसँग आफ्नो जोडीलाई बिगतमा दर्शकले मन पराएकाले यसपटक पनि जोडी बनेर लभ स्टेशनमा काम गर्न लागेको बताईन् ।
आगामी ५ असोजबाट दार्जिलिङ देखि छायाँकन सुरु गरिने यो चलचित्रका लेखक निर्देशक उज्ज्वल घिमिरे हुन् । फिल्मको कथामा प्रदीप र जसिताको जोडी फिट भएकाले उनीहरुसँग काम गर्न लागेको निर्देशक घिमिरेले बताए ।

यो फिल्मका प्रस्तुतकर्ता गोविन्द शाही हुन् । काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गर्न लागेका हुन् ।
फिल्मी लिली बिली निर्माण गर्दा नै प्रदीप र जसितासँग दुई ओटा सिनेमा निर्माण गर्ने सम्झौता भए बमोजिम लभ स्टेशनमा पनि यी दुईलाई लिएको गोविन्द शाहीले बताए ।
आलोक शुक्लाको छायाँकन रहने लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ । दार्जिलिङका उमेश थापा लाईन प्रोड्युसर रहेका यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।