मोफसल यात्रामा इन्टु मिन्टु लन्डनमा


राजधानी संवाददाता /इटहरी ।

चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को टोलीले मोफसल यात्राअन्तर्गत इटहरीमा पत्रकार भेटघाटमार्फत सिनेमाबारे जानकारी गराएको छ । ५ असोजमा रिलिज हुने यो सिनेमाको टिम बिर्तामोड, दमक, विराटनगर, धरान हुँदै इटहरी आइपुगेको हो ।
इटहरीमा पत्रकारसँग भेटघाट गर्दै सिनेमाका कलाकारले आफ्नो भूमिका र सिनेमाबारे प्रकाश पारे । सो क्रममा यो सिनेमाकी निर्देशक रेनेशा वान्तवा राईले छायांकन लन्डनमै गरिएको र यो प्रेमकथामा आधारित सिनेमा रहेको बताइन् । उनका अनुसार यो सिनेमालाई प्रभु शमशेर जवरा र प्रज्ज्वल शमशेर जवराले निर्माण गरेका हुन् । जसमा साम्राज्ञी राज्यलक्ष्मी शाह, धीरज मगर, सारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिलभूषण पाठक, रुबी राणालगायतको अभिनय छ ।
सोही क्रममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र धीरज मगरले आफ्ना प्रशंसकलाई भेटेर सेल्फी खिच्दै सिनेमाबारे जानकारी गराए । अभिनेता धीरजले आफू पूर्वी नेपाल पहिलोपटक आएको र यहाँ प्रशंसकको माया पाएर साह्रै खुसी लागेको बताए ।