नेपाल एग्रो माइक्रोफाइनान्स तेस्रो वर्षमा

काठमाडौं/रास– नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था तेस्रो वर्षमा प्रवेश गरेको छ । संस्थाले वार्षिक उत्सवको उपलक्ष्मा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रमको उद्घाटन नेपाल सरकार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि विकास लम्सालले गरेका हुन् । रक्तदान कार्यक्रममा मन्त्री लम्सालसहित १६ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा बोल्दै लम्सालले नेपाल एग्रोले देशको वर्तमान आवश्यकताअनुरूप कृषिजन्य उत्पादन बढाउन सहयोग पुग्ने गरी परिकल्पना तय गरेको बताए । उनले गण्डकी प्रदेशमा ससाना तर धेरै संख्यामा कृषिजन्य उद्योग स्थापना गरिने र २०२० को लक्ष्यबमोजिम आउने पर्यटकका लागि आवश्यक बासस्थानको व्यवस्था गर्न पर्यटन क्षेत्रमा होमस्टेहरू सञ्चालन गरिने भएकाले यसकोे महŒव अझै बढ्ने बताए ।

धेरैभन्दा धेरै कृषकको घरदैलोमा पुगेर एक दुईवटा गाई पाल्नेलाई पाँच सातवटा गाई पाल्न, दुई चारवटा बाख्रा पाल्नेलाई २०÷२५ वटा बाख्रा पाल्न, एउटा गरामा तरकारी खेती गर्नेलाई चार÷पाँचवटा गरामा तरकारी खेती गर्न हौसलासहित कर्जा तथा तालिम प्रदान गर्ने कार्य गर्दै देशको कृषिको उत्पादकत्व बढाउन सहयोगी हुने परिकल्पना राखेकोे प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले बताए ।

दुई वर्षको अवधिमा कास्की, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, सल्यान, प्युठान, रोल्पा, तनहुँ र लम्जुङ,  गरी १० जिल्लामा २६ शाखामार्फत करिब १५ हजार परिवारलाई कर्जा, बचत, बिमा तथा रेमिट्यान्स सेवा प्रदान गर्ने क्रममा ३५ करोड रुपैयाँभन्दा बढी लगानीमा रहने गरी कर्जा प्रवाह गरेको, करिब १२ करोड निक्षेप संकलन गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल एग्रो माइक्रोफाइनान्सका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष रमेशकुमार कर्माचार्यले पछिल्लो करिब दुई वर्षदेखि कर्जाको ब्याजमा भएको वृद्घिले हरेक क्षेत्रका व्यवसायीलाई लगानीको लागि असहज परिस्थिति भई रहेकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

नेपाल एग्रोले सर्वसाधारणका लागि छुट्याइएको ३० प्रतिशत पुँजी बिक्री गर्ने प्रक्रिया सुरु भइसकेकाले निकट भविष्यमा हालको पुँजी ३ करोड ३६ लाख बढेर ४ करोड ८० लाख पुग्ने बताए । नेपाल रेडक्रस सोसाइटीका ध्रुव लामिछानेका अनुसार रक्तदान कार्यक्रममा मन्त्री विकास लम्सालसहित १६ जनाले रक्तदान गरेका थिए ।