नलाइनबाट मकालु यातायातको टिकट

काठमाडौं/रास– मकालु यातायातले अनलाइन टिकट काट्ने सेवा सुरु गरेको छ । प्रविधिको बढ्दो प्रयोगसँगै यात्रुलाई टिकट काट्न सहज होस् भन्ने उद्देश्यले माउन्ट मकालु यातायात प्रालिले बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकट काट्न सकिने सेवा सुरु गरेको हो । अनलाइन टिकेटिङ सेवासँगै अबदेखि पूर्वी नेपालका झापा, मोरङको विराटनगर, धरान, ताप्लेजुङ, जनकपुरलगायतका क्षेत्रमा अनलाइनबाटै टिकट काटेर यात्रा गर्न सकिनेछ ।

कम्पनीले राजधानीमा एक कार्यक्रमको आयोजना गरी अनलाइन टिकेटिङ सेवाको औपचारिक सुरुवात गरेको हो । कार्यक्रममा माउन्ट मकालु यातायात प्रालिका अध्यक्ष तुलसीमान सिंहले नेपालमा पनि अहिले प्रविधिको प्रयोग बढिरहेको बताए । हरेक क्षेत्र प्रविधिको प्रयोग गरेर अगाडि बढिरहेका बेला यातायात क्षेत्रलाई पनि प्रविधिमैत्री बनाई यात्रुलाई सहजता प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले अनलाइन टिकेटिङको सेवा सुरु गरेको पनि कम्पनीले जनाएको छ ।  कार्यक्रममा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पीआर खनालका अनुसार नेपालको यातायात क्षेत्रलाई डिजिटलाइज बनाउनुपर्छ भन्ने उद्देश्यले करिब चार वर्ष अगाडि बससेवा डटकमको स्थापना गरेको बताए । सोही क्रममा पूर्वी नेपालमा उत्कृष्ट र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको मकालुसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

करिब २२ वर्ष अगाडि स्थापना भएको माउन्ट मकालु पूर्वी नेपालमा यात्रुहरूको पहिलो रोजाइको यातायात कम्पनी बन्न सफल भएको दाबी गरिएको छ । यो अविधसम्म ५० लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरिसकेकोे यो यातायात कम्पनीले समय र यात्रुको मागसँगै डिलक्स र एसी गाडीमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

बससेवा डटकम नेपालको एक मात्र अनलाइन बस टिकेटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स, हाइसलगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसनसमेत अनलाइनबाटै गर्दै आएको जनाएको छ ।