नगरपालिकामा उपप्रमुखले नै ताला लगाएपछि…

कावासोती । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकामा मंगलबार जनप्रतिनिधिहरुले नै तालाबन्दी गरिदिएका छन् ।

गैंडाकोट नगर प्रमुखले बजेट अपारदर्शी र निर्णयबिना एकलौटी वितरण गरेको भन्दै उनीहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।

नगरपालिकामा आएको २०७४÷७५ को बजेटमध्ये झन्डै २ करोड बढी रकम कार्यपालिकामा निर्णय नै नगराई नगर प्रमुख छत्रराज पौडेलले एकलौटी वितरण गरेको र सो को हिसाब माग्दा नदिइएपछि उपप्रमुख विष्णुकुमारी कँडेल सापकोटा, वडाध्यक्षहरू र नेपाली कांग्रेस गैंडाकोटले मंगलबार प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यको कार्यकक्षमा तालाबन्दी गरेको कांग्रेस नगर सचिव मुकुन्द पौडेलले बताए ।

नगरपालिकाका हरेक निर्णय कार्यान्वयन हुनुभन्दा अगाडि प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच बैठकमा लैजाने एजेन्डा र निर्णयबारे सहमति भए पनि प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले मनपरी गर्न थालेपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको नगर उपप्रमुख कँडेलले बताइन् ।

गत आर्थिक वर्षको बजेट फ्रिज भएर जाने रकम कार्यपालिकाको बैठकमा नै प्रस्तुत नगरी नगरप्रमुख पौडेलले एकलौटी वितरण गरेपछि सो बजेट कसरी बाँडियो ?

त्यसको जानकारी लिखित र मौखिक रूपमा पटकपटक माग गरे पनि प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले दिन इन्कार गरेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको कांग्रेस नगर सभापति तारापति खरेलले बताए ।

नगर उपप्रमुख कँडेलले आफूले बजेटबारे पटकपटक लिखित र मौखिक रूपमा जानकारी माग गरे पनि प्रमुख प्रशासकीय अधिकृतले आलटाल गर्ने गरेको आरोप लगाइन् ।

गैंडाकोट नगरपालिकामा लगाइएको तालाबन्दी नेपाल सरकारको कानुनी नियमअनुसार खोलिने नगर प्रमुख पौडेलले बताए । उनले नगरपालिकाको नगरसभाले पास गरेर मात्र बजेट खर्च गर्ने अभ्यास रहेको र आफू त्यसअनुसार अघि बढेको बताए ।