आत्महत्याको त्रास

दुई छोरा झुण्ड्याएर आमाले २९ वर्षीय आमाले आत्महत्या गरेको समाचारले हामी कुन समाजमा छौं सोच्न वाध्य बनाउछ । कतिपयले भन्लान् पनि ‘आत्महत्या गर्नेहरु कायर हुन्’ यति भनेर मात्रै पुग्दैन । कसैले एक्लै आत्महत्या गर्नु र सन्तानलाई पनि मारेर आफु पनि मर्नु फरक कुरा हो । किनकी सन्तानलाई सबै भन्दा धेरै माया गर्ने आमा नै हुन् । जब कुनै आमाले आफुसंगै सन्तानलाई पनि मार्छिन भने एकछिनको सनक पन मात्रै भनेर बुझेर पुग्दैन । आफ्नो मृत्युपछि छोरा छोरीको भविष्य सुरक्षित हुन्छ भन्ने अनुभुति भएको भए पक्कै ति आमाले सन्तानलाई आफुसंगै डोरी झुण्ड्याउने कष्ट गर्ने थिईनन् ।
एक महिना अघि एउटी आमाले आफ्ना जुम्ल्याह दुई सन्तानलाई सेफ्टी ट्याङ्कीमा फ्याँकेर बेपत्ता भईन् भने आफुसँगै सन्तानलाई समेत झुण्ड्याउने आमाहरु धेरै छन् । हरेक पटक नयाँ सरकार आउने बित्तिकै आर्थिक समृद्धिलाई मुख्य नारा बनाए पनि आम सर्वसाधारणको जीवनस्तरमा परिवर्तन ल्याउन सक्ने गरि कुनै योजना कसैले ल्याएको छैन ।

पछिल्ला समय धनी र गरीब विचको खाडल झन झन फराकिलो बन्दै गएकाले पनि गरिबहरुको जनजीवन थप कष्टकर बन्दै गएको छ । सामान्य रोग लाग्दा पनि महंगो शुल्क तीर्नुपर्ने वाध्यता त छ नै, दैनिक जीवन धान्न उत्तिकै कष्टकर हुँदै गएको छ । बजारको हरेक तहमा विचौलियाको प्रभाव यति बलियोसंग गढेको छ । सामान्य कामका लागि पनि धेरै थोरै कमिशन नखुवाई हुँदै नहुने अवस्था यस्तोमा गरिबीको रेखामुनी रहेकाहरुसंग आत्महत्याको विकल्प हुन्न । पछिल्लो समय सन्तान सहित आमाहरुले आत्महत्या गर्ने क्रम बढेको छ । पछिल्लो एक वर्षम मात्रै मुलुकका विभिन्न स्थानमा १० जना भन्दा बढी आमाहरुले आफुसंगै सन्तानलाई मारेका छन् । यस्तो घटना हुनुको मुख्य कारण सामाजिक असुरक्षा नै हो । अहिले पनि हाम्रो समाजमा छोरा छोरीहरु बाबु आमाको कमाईमै निर्भर हुनुपर्ने वाध्यता छ । टुहुरा एवं अन्य कारणले अभिभावक बिहिन भएका वालवालिकाको संरक्षण राज्यले गर्न सकेको छैन ।

 आफ्नो मृत्युपछि छोरा छोरीको भविष्य सुरक्षित हुन्छ भन्ने अनुभुति भएको भए पक्कै ति आमाले सन्तानलाई आफुसंगै डोरी झुण्ड्याउने कष्ट गर्ने थिईनन् ।

राज्यले गरिव एवं असहायहरुका लागि काम गरेको भए २००७ सालदेखि उठेको सुकुम्बासी समस्या अहिलेसम्म समाधान भईसक्नु पर्ने थियो । विभिन्न प्राकृतिक प्रकोपको कारण हरेक वर्ष सुकुम्बासीको समस्या बढ्दो छ । जो संग सम्पत्ति छैन वा त्यस्ता ब्यक्तिको हातखुट्टा चलेन भने उसंग बाँच्नका लागि अरु उपाय हुँदैन । त्यस्तो अवस्थामा कमजोर ब्यक्तिले आफुसँगै आफ्ना सन्तानलाई पनि मार्नै चाहन्छ । टुहुरा, वालवालिका, असहाय शीर्षकमा काम गर्ने प्राय सरकारी एवं गैरसरकारी संस्थाले लक्षित वर्गमा कार्यक्रम गर्नुको साटो कागजी रिपोर्टमै विश्वास गर्ने परम्परा अझै हटेको छैन । सन्तान सहित आत्महत्या गर्ने आमाहरुको संख्या घटाउनका लागि अब केवल भाषण गरेर मात्रै हुन्न । गरीब एवं असहायको हित अनुरुप काम पनि गर्नुपर्छ । आशा गरौं आगामी दिनमा स्थानीय तहले आफ्नो क्षेत्रका गरिव एवं असहायलाई राहतका कार्यक्रम लिएर आउने छन् ।