नाडाको रौनक, सवारी पारखी नयाँ गाडीमा झुम्मिए

मधुजंग पाण्डे/काठमाडौं ।

मंगलबारदेखि राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा सुरु भएको नाडा अटो सो मा सवारी पारखीहरुको बाक्लो भीड लागेको छ । सोही भीडमा सहभागी हुनेहरुबीच नयाँ नयाँ मोडलका गाडीमा चढेर सेल्फी खिच्नकालागि तिब्र प्रतिस्पर्धा नै भएको थियो ।
सवारी साधनको कुम्भ मेला सुरु भएको पहिलो दिन मेला स्थलमा पुग्नेहरु मध्ये कोही नयाँ मोडलका कार र बाइकमा चेढर आफ्ना साथीलाई मोबाइलमा फोटा खिचाउन व्यस्त थिए भने केही आफुलाई नयाँ लागेको सवारी साधनका बारेमा विस्तृत विवरण लिने प्रयास गरिरहेका थिए । काठमाडौको बुढानिलकण्ठबाट मेला स्थल पुगेका अवलोकनकर्ता धुर्व खतिवडाले मंगलबार होण्डाको नयाँ कार बुकिङ गर्नकालागि आफ्नो साथीलाई पर्खिरहेको बताए । उनले साथी आइपुग्ने बित्तिकै होन्डाको प्रदर्शनीमा राखिएको होण्डा सिआरभी चारपाङग्रे सवारी खरिद गर्नकालागि बुकिङ लिन लागेको बताए । सवारी पारखी खतिवडा मात्र होइन सो मेलामा सहभागी अधिकाँश अवलोकनकर्ताहरुले मेला सुरु भएको पहिलो दिनमा नै आफुलाई मन परेको सवारी बुकिङ गराउन आतुर देखिएका थिए ।

सो मेलामा सवारी विक्रेता कम्पनीका प्रतिनीधीहरु दिनभर आफ्नो स्टलमा राखिएका सवारीको विशेषताहरुबारे जानकारी गराउन र बुकिङ लिने कार्यमा व्यस्त भएका थिए । मेलामा भएका सबै स्टलमा आफुले प्रदर्शनीमा राखेका नयाँ सवारीसँगै मोडलहरुलाई राख्दा यस मेलाको रौनक त्यसै बढेको अवलोकनकर्ताहरुको अनुभव छ ।
मेला उद्घाटन गर्न गएका अर्थमन्त्री डा. युवराज खतिवडा पनि मंगलबार लामो समयसम्म प्रदर्शनी स्थलमा बसेका थिए । नाडा अटो सो मेला उद्घाटन समारोहमा भएको औपचारिक समारोहपछि पनि अर्थमन्त्री खतिवडा प्रायः सबै स्टलमा पुगेर व्यवसायीलाई उत्साहित बनाइरहेक थिए । उनले प्रदर्शनी स्थलमा स्वदेशी टायरको नयाँ ब्राण्डको प्रदर्शन देखि धेरै नयाँ आकर्षक गाडीहरु पनि सार्वजनिक गर्न भ्याएका थिए । जसले गर्दा नाडा अटो सो को रौनक निकै बढाएको नाडा अटो मोवाइल एसोसिएसनका अध्यक्ष शम्भुप्रसाद दाहाले जानकारी दिए । उनले विगतका वर्षहरुको तुलनामा यसपाली यहाँ मेलास्थलमा सवारी पारखीहरुबीच निकै रौनक बढेको दावी गरे । यस मेलाले सहजै रुपमा सबैलाई गाडीको पहुँच पु¥याईदिएको दावी गरे ।

वित्तीय क्षेत्र र ठूला भेहिकलका स्टल अटेनन

यस मेलामा नाडा अटो मोवाइल एसोसिएसनका व्यवसायीहरुले अहिले ठूलो प्रदर्शनी कक्ष नभएकाले बिमा, बैंक लगायत वित्तीय क्षेत्र र ठूला भेहिकलका स्टल नअटेको बताएका छन । नाडाका अध्यक्ष शम्भुप्रसाद दाहाले यसपाली चाहेर पनि प्रदर्शनीकक्ष कम भएकाले बिमा, बैंक लगायत वित्तीय क्षेत्र र ठूला भेहिकलका स्टल नअटेको बताए । कुनै पनि ठूला ब्यापारिक प्रदर्शनी गर्दा प्रदर्शन गर्ने स्थान नभएको भन्दै उनले ठाउँ अभाव भएकोबारे सरकारलाई गुनासो नै गरेका थिए । दाहाल लगायत अन्य व्यवसायीहरुले अहिले आफुहरुले त्यसविरुद्ध आवाज नै उठाएको बताएका छन । राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको सवारी साधनहरुको कुम्भ मेला ‘नाडा अटो सो’ मा पर्याप्त ठाउँ नहुँदा ठूला भेहिकल र बैंक तथा बीमा कम्पनीहरुलाई स्टल राख्ने स्थाननै नपुगेको नाडाले जनाएको छ । गत बर्ष हेबी इक्विपमेन्ट तथा ठूला सवारी साधनलाई पनि प्रदर्शनी स्थलमा राखिएको थियो। अन्य सवारीको स्टल थपिँदै जाँदा स्थान साघुरो भएर ठूला भेहिकलको स्टल राख्न नसकिएको अटो मोबाइल एसोसियसनले जनाएको छ ।

होन्डाको नयाँ क्रुजर बाइक

होन्डाले भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो सो मा नयाँ बाइक एनएम फोर ल्याएको छ । विशेष डिजाइनको सो क्रुजर बाइकलाई क्लच प्रयोग गरेर वा नगरेर चलाउन सकिन्छ । यसको गियर चेन्ज गर्नकालागि बटन दबाए पुग्ने होण्डा ब्राण्डका सवारी साधनको नेपालस्थित आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालीले जानकारी गराएको छ । होन्डाले भर्खर विमानस्थलबाट सिधै अटो सो को प्रदर्शनीस्थलमा यो नयाँ मोडलको बाइक ल्याएको बताएको छ । स्याकार ट्रेडिङ कम्पनीले अहिले यस नयाँ बाइकको मूल्य सार्वजनिक गरेको छैन । मेला उद्घाटन गर्न पुगेका अर्थमन्त्री डा. युवराज खतिवडाले सो बाइक स्टलमै सार्वजनिक गरेका हुन् । सो बाइकमा ७ सय ५० सीसीको इन्जिन रहेको छ ।


महिन्द्राको इलेक्ट्रिक कार ई–भेरिटो

मंगलबारदेखि राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा सुरु भएको नाडा अटो सो मा महिन्द्राको इलेक्ट्रिक कार ‘ई–भेरिटो’ सार्वजनिक भएको छ । नाडा अटो सो सुरु भएको पहिलोदिन मंगलबार यस नयाँ कार सार्वजनिक गरिएको हो । यसअघि महिन्द्राको इटुओ प्लस उपलब्ध गराउदै आएको महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले सो गाडी सार्वजनिक गरेको हो । अटो सो उद्घाटनको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले यस नयाँ कार सार्वजनिक गरेका हुन ।
महिन्द्राको ई भेरिटो सेडान कार हो । यसलाई महिन्द्राले २०१६ मा नै भारतीय बजारमा सार्वजनिक गरेको थियो । ई–भेरिटोमा ७२ भोल्टको मोटर छ, जसले ४० बीएचपी पावरका साथै ९१ एनएम टर्क उत्पादन गर्छ । एक पटकको फुल चार्जमा कारलाई १ सय १० किलोमिटरसम्म गुडाउन सकिन्छ । महिन्द्राले यस कारमा जडान गरेको रि–जेनेरेटिभ ब्रेकिङ प्रणालीले पावर तथा ब्याट्रीलाई चार्ज गर्ने गर्छ । यसको अलवा महिन्द्राले ई–भेरिटोमा फास्ट चार्जिङ सिस्टम लगाएको छ । यसको सहयोग मार्फत् एक घन्टा ४५ मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ । महिन्द्रा ई–भेरिटोको मूल्य २८ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।

४५ लाखको बाइक प्रदर्शनीमा

राजधानीमा मंगलबारदेखि सुुरु भएको नाटा अटो सो का आकर्षणहरु मध्ये एक ४५ लाख रुपैयाँ पर्ने अमेरिकी कम्पनी हार्ले डेभिडसनको आइरन ८८३ टीएम बाइक नै भएको छ । अटो सोमा सहभागी भएका अवलोकनकर्ताहरुलाई यसको मूल्यले निकै अचम्मित बनाएको छ ।
उनीहरुलाई आश्चर्य नबनाओस् पनि कसरी ? हेर्दा सामान्य देखिने बाइकको मूल्य ४५ लाख रुपैयाँ भनेको सुनेपपछि अवलोकनकर्ताबीच निकै कौतुहल्ता नै भएको थियो । अबलोकनकर्तालाई अचम्मित पार्ने त्यो बाइक हो अमेरिकी कम्पनी हार्ले डेभिडसनको आइरन ८८३ टीएम । नेपालमा यो बाइक पूर्वयुवराज पारसले चढ्ने गरेका छन् । त्यसबाहेक पनि केही व्यक्तिहरुले चढ्ने गरेको बताइन्छ ।

उच्च खानदानी एवं सम्भ्रान्त परिवारले मात्रै चढ्न सक्ने यो बाइकको विशेषता के छ ? अटो सो मा रहेका कम्पनीका प्रतिनिधिले भने , ‘यसको प्रविधिनै फरक छ । प्रविधिको उच्चतम प्रयोग गरिएकाले हार्ले डेभिडसन भन्ने ब्राण्ड महंगो भएको हो’। २१८५ मिलिमिटर लामो यो बाइकको तौल २४७ किलो छ । सिटको उचाइ ७६० मिलिमिटर छ । साढे १२ लिटर इन्धन जान्छ । स्वचालित एरकुलर छ, जसले इञ्जिन तात्नै दिँदैन । नेपालकालागि हार्ले डेभिडसन ब्राण्डका बाइकको आधिकारिक बिक्रेता आइएमइ अटोमोटिभ्स प्रालि हो । सो कम्पनीले नै नेपाली सवारी पारखीहरुलाई उनीहरुको चाहना अनुरुप अहिले बिक्रीकालागि प्रदर्शनीमा राखेको जनाएको छ ।