सुधार हुँदै सार्वजनिक यातायात

रासस/ललितपुर ।

अझै पनि साँघुरो भ्यानमा यात्रुलाई उभिएर यात्रा बाध्यता हटेकोे छैन । दुई जनाको सिटमा तीन जना कोचिएर बस्नुपर्ने यात्रुको बाध्यता छ । नयाँ यात्रुलाई आफू कहाँ पुगियो भन्नेसम्म पनि जानकारी हुँदैन । चालक र सहचालकलाई कहाँ आइपुगियो भनी सोध्दा झर्किएर जवाफ दिन्छन् । यात्रु चढाउन जुनसुकै ठाउँमा पनि सवारीसाधन रोक्छन् तर ओर्लने बेलामा भने चालककै खुसीमा झर्नुपर्छ ।

काठमाडौं उपत्यकाका सार्वजनिक सवारीसाधनमा वर्षौंदेखि यात्रुले भोग्दै आएको यो समस्या हो । दुई वर्ष यता भने सार्वजनिक यातायातका क्षेत्रमा सुुधार हुँदै जाँदा यी र यस्ता घटना विस्तारै कम हुँदै गएका छन् । सरकारले साना सवारीसाधनको दर्ता बन्द गर्ने र ठूला सवारीसाधनलाई प्रोत्साहन गर्दा सार्वजनिक सवारीसाधनमा रहेका विकृति पनि कम हुँदै गएका छन् ।

अबको केही वर्षमा यात्रुले वर्षाैंदेखि भोग्दै आएको समस्या समाधान भएर जाने यातायात व्यवस्था कार्यालय वाग्मती अञ्चल कार्यालयले जनाएको छ । साझा यातायातले सेवा विस्तार गरेपछि साझाजस्तै नयाँ यातायात सेवा प्रदायक संस्था यस क्षेत्रमा बढेका छन् । सिट क्षमता धेरै भएका र यात्रुलाई विभिन्न सुविधा दिने सवारीसाधन काठमाडौं उपत्यकामा बढिरहेका छन् ।

साना ठूला सवारी शाखाका प्रमुख वसन्तप्रसाद पन्थी सार्वजनिक सवारीसाधनमा सुधार आइरहेको बताउँछन् । उनका अनुसार नयाँ यातायात प्रदायकले यात्रुका लागि नयाँनयाँ सुविधा थपिरहेका छन् । सरकारले यातायात क्षेत्रमा वर्षांैदेखि रहेको एकाधिकार अन्त्य गरेपछि यातायात क्षेत्रमा नयाँनयाँ सेवा प्रदायक आउन थालेको शाखा प्रमुख पन्थीले बताए ।

सिट क्षमता धेरै भएका र यात्रुलाई विभिन्न सुविधा दिने सवारीसाधन थपिने काठमाडौं उपत्यकामा बढिरहेको छ ।

 

पहिले यातायात व्यवसायी महासंघले ‘रुट परमिट’ दिने अधिकार हुँदा नयाँ सेवा प्रदायकलाई प्रवेश गर्न गाह्रो थियो । अहिले कार्यालयले सहकारी वा निजी कम्पनीका रूपमा दर्ता भएर आएका सबैलाई अनुमति दिइएको छ । उनी भन्छन, ‘विस्तारै यात्रुलाई आकर्षित गर्नका लागि पनि थप सेवा बढेका छन् ।’

साझा यातायातपछि मयुर यातायात, महानगर यातायात, रिद्धिसिद्धि यातायातलगायत सेवा प्रदायक थपिएका छन् । यीमध्ये कतिले यात्रुलाई टिकट दिने, वाइफाई सेवा दिने, कुन ठाउँमा पुगियो जानकारी दिने र मनोरञ्जनका लागि टेलिभिजनको सुविधा पनि प्रदान गरेका छन् । नयाँ बसमा सिट क्षमता बढिरहेको छ । शाखा प्रमुख पन्थीले भने, ‘यात्रुले कष्ठकर रूपमा यात्रा गर्नुपर्ने बाध्यता भने कम हुँदै छ ।’

साना सवारीसाधनले थोरै स्थान ओगटे पनि कम यात्रुलाई मात्र सेवा दिने यस्ता साधन धेरै हुँदा काठमाडौंको सडकमा बढी सवारीसाधन रोकिने गरेकाले सरकारले गत वर्षबाट दर्ता बन्द गरेको हो । ठूला सवारीसाधनले एकैपटकमा धेरै यात्रुलाई सेवा दिन सक्छ । उनी भन्छन, ‘माइक्रो बसले भन्दा साझाजस्ता बसले दशौं गुणा बढी यात्रु बोक्न सक्छन् ।’

यातायातका क्षेत्रमा पूरै परिवर्तन नभए पनि सुधार देखिनु पनि सकारात्मक भएको सार्वजनिक यातायात क्षेत्रका अभियन्ता राम थापा बताउँछन् । सार्वजनिक यातायातमा काम गर्ने कर्मचारीको व्यवहारमा भने खासै परिवर्तन आएको छैन । उनी भन्छन,‘ उनीहरूले यात्रुसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने कुरा व्यवसायी र सरकारले सिकाउनुपर्छ ।’

यातायात कार्यालयमा कार्यरत डिल्लीराम अधिकारी नयाँ र सुविधा सम्पन्न बस दर्ता भइरहेको जानकारी दिए । अरनिकोलगायत अन्य समितिअन्तर्गत सञ्चालित सवारीसाधन पनि सहकारीमार्फत दर्ता हुँदै यात्रुका लागि विविध सुविधा लिएर आएका छन्् ।