नाडा अटो सो,वातावरणमैत्री ठूला सार्वजनिक सवारीसाधन भित्र्याउन अर्थमन्त्रीको आग्रह

राजधानी समाचारदाता/काठमाडांै ।

अर्थमन्त्री डा. युवराज खतिवडाले वातावरणमैत्री ठूला सार्वजनिक सवारीमा सरकारले बढी प्राथमिकता दिएको भन्दै व्यवसायीलाई इलेक्ट्रिक वातावरणमैत्री र ठूला सार्वजनिक सवारीसाधन भिœयाउन आग्रह गरेका छन् । मंगलबारदेखि राजधानीमा सुरु भएको सवारीसाधनको कुम्भ मेला ‘नाडा अटो सो’ उद्घाटनको क्रममा अर्थमन्त्री खतिवडाले व्यवसायीलाई यस्तो आग्रह गरेका हुन् ।

क्रेडिट कार्ड’ को अर्थतन्त्र विश्वमा धराशायी भएको उदाहरण दिँदै उनले सबै नेपाली उपभोक्तालाई कमाएर मात्र सवारी खरिद गर्न आग्रह गरे । उनले ऋण लिएर, ऋण तिर्ने क्षमता विकास नभई सवारीसाधन नकिन्न सुझाव दिए । अर्थमन्त्री खतिवडाले नाडा व्यवसायीलाई बढी सवारी बेच्यो भने सरकारलाई राजस्व पनि बढी नै आउने भएकाले पूर्वाधार विस्तारमा पनि निकै राहत मिल्ने बताए । उनले भन्सार दर शून्य नै बनाए पनि चोरीपैठारी नरोकिने बताए । राजस्वमा आन्तरिक स्रोतको योगदान दुई तिहाइ नबन्दासम्म भन्सारमा निर्भर रहनुपर्ने भन्दै उनले उद्यमी व्यवसायीलाई अब सरकार एउटा सन्तुलित भन्सार नीतिमै पुग्ने बताए । व्यवसायीलाई आन्तरिक क्षमता बढाउन केही समय दिन आग्रह गर्दै उनले व्यवसायीलाई गाडी एसेम्लिङ र एपेयर्स पार्ट्स उत्पादन गर्ने स्वदेशी कम्पनीहरूमा पनि सरकारले सहयोग गर्ने बताए ।

नाडा अटो सोको उदघाटन गर्दै अर्थमन्त्री डा.युवराज खतिवडा । तस्बिर : सत्यन श्रेष्ठ

उनले यस्ता कम्पनीको प्रवद्र्धनका लागि सरकारले सहयोग गर्ने र अन्य सुविधा पनि दिने जानकारी गराए । यसैगरी, उनले पुरानो कारखाना गोरखकाली टायर उद्योग पुनः सञ्चालन गर्ने भए सरकार सहयोग गर्न तयार रहेको पनि जानकारी गराए ।

नाडाका व्यवसायीले भनेजस्तै गाडी किन्ने रहर गर्नेहरूले सवारी नकिनिदिए त गाडीको व्यवसाय नै चल्दैन भन्दै उनले  कमाएर मात्र गाडी खरिद गर्न उपभोक्तालाई आग्रह गरे । उनले भने, ‘ऋण लिएर गाडी धेरै नकिन्नुहोस् । ऋण तिर्ने क्षमता विकास नभई धेरै गाडी नकिन्नुहोस् । क्रेडिट कार्डको इकोनोमी कसरी कोल्याप्स भयो भनेर हामीले २००७÷०८ को विश्व अर्थतन्त्र हे¥यो भने सजिलै जानकारी हुनेछ ।’ उनले व्यापार घाटा कम गर्न कर बढाएको दाबी गरे ।

उनले ऋणमा आधारित उपभोगले आर्थिक विकास नहुने उल्लेख गरे ।  आम्दानीमा आधारित उपभोग वृद्धिले मात्रै अर्थतन्त्र विस्तारमा सहयोग गर्ने पनि उनले बताए । सवारी गुढ्नकै लागि सडक बनाउन राजस्व चाहियो, राजस्वको आधार ठूलो हुनुपर्ने भएकाले राजस्व बढाएको दाबी गरे ।  व्यावसायीले बैंकको कर्जामा कडाइ हुँदा गाडीको बिक्रीमा कमी आएको गुनासो गर्दा अर्थमन्त्री खतिवडाले बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रणालीमा आवश्यकताअनुसार खुकुलो र कडा नीति लिइने गरिएको जानकारीसमेत गराए ।

देश आर्थिक विकासको चरणमा प्रवेश गर्दै गर्दा ऋणको माग हुने हुँदा यसले बैंकिङ क्षेत्रमा तरलताको समस्या देखा परेको उनले बताए । उनले बैंकिङ क्षेत्रको तरलताको समस्या समाधान गर्न सरकारले पहल गरिरहेको पनि दाबी गरे ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले देशमा अर्थतन्त्र बुझेको अर्थमन्त्री आएको भन्दै खुसियाली मनाउँदै गर्दा अपेक्षाअनुसार काम नभएको बताइन् । उनले देशको व्यापार घाटा बढ्यो भनिरहँदा सरकारले अटोमोबाइलको विकास तथा निर्माणका लागि केही सहुलियत दिनुपर्ने दाबी गरिन् । यसैगरी, उनले विद्युतीय सवारीसाधनको प्रयोग बढाउन चार्जिङ स्टेसन निर्माण गर्ने हो भने पनि धेरै नै व्यापार घाटा कम गर्न सहयोग पुग्ने बताइन् ।

नाडा अटो मोबाइल एसोसिएसनका अध्यक्ष शम्भुप्रसाद दाहालले सरकारले अटो मोबाइल क्षेत्रमा अत्यधिक कर बढाउँदा यस वर्ष १.५ प्रतिशतले बिक्री घटेको बताए । सरकारलाई राजस्व तथा अन्तरशुल्क घटाउन अनुरोध गर्दा पनि नमानेकोमा उनले दुखेसो पोखे ।

सो कार्यक्रममा नाडा अटो सोका मेला संयोजक निराकार श्रेष्ठले यस मेलामा करिब ६० हजारले मेला अवलोकन गर्ने जानकारी दिए । नाडाको आयोजनामा अटो सोको १३औं संस्करण मंगलबारबाट सुरु भएको हो ।  नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा सुरु भएको नाडा अटो सो २०१८ को शीर्ष प्रायोजक सर्भो लुब्रिकेन्ट्स रहेको छ । सो मेला आगामी ३१ भदौसम्म चल्नेछ ।

यस मेलामा विभनन १९ वटा ब्रान्डका चारपांग्रे तथा २० वटा ब्रान्डका दुईपांग्रे सवारीसाधन प्रदर्शनीमा राखिएका  छन् । अटो सोमा यस वर्ष ७१ कम्पनीको सहभागिता रहेको छ । यसपटक १३४ वटा स्टल रहनेछन् । सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं वस्तुगत संयोजक उमेशलाल श्रेष्ठले सरकारले गाडीलाई विलासिताका साधन भएको भन्दै कर बढाएकोमा दुःख व्यक्त गरे । उनले अब सवारीसाधनलाई अत्यावश्यक रूपमा राखिनुपर्ने सुझाव दिए ।