सलाम एयरको काठमाडौं–मस्कट उडान सुरु

राजधानी समाचारदाता /काठमाडौं।

सलाम एयरको काठमाडौं–मस्कट उडान सुरु गरेको छ । आईएमई ग्रुपले सलाम एयरलाइन्सको सेवा भिœयाएको हो । मंगलबार बिहान सलाम एयरको पहिलो उडान अवतरण भएसँगै यसले अबदेखि काठमाडौं–मस्कट गन्तव्यका लागि नियमित उडान भर्नेछ ।
यस एयरलाइन्सको जीएसए (जनरल सेल्स ऐजेन्ट) व्यवस्थापन आईएमई ग्रुपद्वारा प्रवद्र्धित आईएमई इन्टरनेसन ल ट्राभल प्रालिले गर्ने भएको छ । ओमानको पहिलो बजेट क्यारियरका रूपमा सन् २०१६ मा स्थापना भई ३० जनवरी २०१७ देखि व्यवसायिक यात्रा सुरु गरेको हो ।


सलाम एयरलाइन्सले मस्कटलाई आफ्नो हब बनाई १७४ सिट क्षमता रहेको एयरबस ३२०÷२१४ द्वारा हालसम्म ढाका, बाकु, टिवलिस, दोहा, दुबई, सिलकोट, मुल्तान, कराँची, खार्तुम, जेद्दालगायत १३ वटा साथै सलाल र सुहार गरी दुईवटा आन्तरिक क्षेत्रमा उडान भर्दै आएकामा काठमाडौं थप गरी १६ वटा गन्तव्यमा हवाई सेवा विस्तार गरेको छ ।
निकट भविष्यमा अन्य विभिन्न आन्तरिक तथा बाह्य क्षेत्रमा उडान विस्तार गरी हवाई यात्रुहरूको सेवा र सुविधालाई मध्य नजर गर्दै लाइट, फ्रेन्डली र फ्लेक्सी गरी तीन किसिमका हवाई भाडा निर्धारण गरेको छ । सलाम एयरले व्यावसायिक क्षमता अभिवृद्धि र यात्रुमा सेवाको भावनालाई मध्य नजर गर्दै आफ्ना यात्रु तथा सेवाग्राहीले कुनै पनि गन्तव्यमा एक वर्षभित्र १० पटक यात्रा गरेको बोर्डिङपास सम्बन्धित कार्यालयको टिकट काउन्टरमा बुझाएपछि एक टिकट निःशुल्क प्राप्त गर्ने व्यवस्था मिलाएको छ । टिकट किन्दा एकवटा निःशुल्क दिने योजना लागू गरेको छ ।

आईएमई गु्रपद्वारा प्रर्वद्धित चन्द्रागिरि हिल्सले सलाम एयरलाइन्सको पहिलो उडानबाट नेपाल आउने यात्रुलाई उपहार स्वरूप ५० प्रतिशत र तत्पश्चात् सलाम एयरबाट यात्रा गर्ने यात्रुलाई २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । यो सेवा लिनका लागि सलाम एयरबाट यात्रा गर्ने यात्रुले एयरको बोर्डिङपास चन्द्रागिरि हिल्सकोे टिकट काउन्टरमा देखाउनुपर्ने व्यवस्था गरेको छ ।
यो एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको समय तालिकाअनुसार काठमाडौंका लागि बिहान ८ः०० बजे अवतरण र ८ः४० मा उडान भर्नेछ । नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजकुमार क्षेत्रीले सलाम एयरको हवाई सेवा सुरु भएपछि मध्यपूर्वी देशबाट नेपाल भ्रममा आउने विदेशी पर्यटक र वैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाई दिदीबहिनीलाई सहज आवागमन थपिएको विश्वास व्यक्त गरे । सलाम एयरका प्रमुख कार्यकारी अधिकृत क्याप्टेन महम्मद अहमदुले आईएमईसँग सलाम एयरले व्यावसायिक सम्बन्ध स्थापित गरेकोमा खुसी व्यक्त गरे ।

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमका लागि मध्यपूर्वलगायत विश्वका विभिन्न मुलुकमा प्रवेश गरेका नेपालीलाई रेमिटेन्स सेवाका अतिरिक्त बजेट एयरलाइन्समार्फत हवाई सेवा प्रदान गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । यो सेवाको प्रारम्भसँगै मध्यपूर्वका धेरै देशमा आवतजावतका लागि नेपालको सिधा सम्पर्क स्थापित भएको भन्दै नेपाल उधोग वाणिज्य महासंघमा उपाध्यक्षसमेत रहेका अध्यक्ष ढकालले ती देशबाट नेपाल भ्रमणमा आउने बाह्य पर्यटनलाई समेत सहज भएको धारणा राखे ।