नेपाल–माल्दिभ्स भिड्दै, नेपाललाई इतिहास रच्ने अवसर

दिल तामाङ/ढाका।

दक्षिण एसियाली राष्ट्रको सबैभन्दा ठूलो प्रतियोगिता (साफ च्याम्पियन) साफ सुजुकी कपको १२औं संस्करण बंगलादेशमा जारी छ । दक्षिण एसियाली राष्ट्रको विश्वकपका रूपमा चिनिएको साफको सेमिफाइनलमा नेपालले बुधबार बलियो प्रतिद्वन्द्वी माल्दिभ्सको सामना गर्दा सोही दिन नै साबिकको विजेता भारत र पाकिस्तानबीच भिडन्त हुँदै छ ।

नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसार ३ः४५ बजेपछि बंगबन्धु राष्ट्रिय रंगशालामा सुरु हुनेछ । त्यसपछि भारत र पाकिस्तानले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

माल्दिभ्सविरुद्धको खेल नेपालको लागि ऐतिहासिक खेल हुनेछ । नेपालले २५ वर्षे साफको इतिहासमा अहिलेसम्म सेमिफाइनल भन्दा अघि बढ्न सकेको छैन भने, साफमा अहिलेसम्म माल्दिभ्सलाई पराजित गर्न सकेको छैन । यस्तो अवस्थामा नेपालले माल्दिभ्सलाई पराजित गरेर फाइनलमा स्थान बनाए नेपाल पहिलोपटक साफको फाइनलमा प्रवेशको तयारीमा छ । साफमा नेपाल र माल्दिभ्स ६ पटक आमने समाने भएका छन् । जसमा चार खेल माल्दिभ्सले जितेको छ भने दुई खेल बराबरीमा सकिएको छ । नेपाल यो सहित चारपटक सेमिफाइनलमा पुग्न सफल भएको छ ।

नेपाल र माल्दिभ्स अहिलेसम्म समग्रमा १५ पटक आमने सामने भएका छन् । जसमा नेपालले चार खेलमा जित हात पार्दा चार खेलमा बराबरी र ७ खेलमा हार बेहोरेको इतिहास छ । १९ गोल गर्दा नेपालले २० गोल खाएको छ । साफका पछिल्लो दुई भेटमा नेपालले माल्दिभ्सलाई बराबरीमा रोक्न सफल भएको थियो ।

नेपाली टिमका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सेमिफाइनलमा माल्दिभ्सलाई पराजित गर्दै फाइनल पुग्नेमा विश्वस्त रहेको बताएका छन् । ‘हामीसँग माल्दिभ्सलाई जित्ने आधार छ । समूह चरणका तीन खेलमा नेपालले सशक्त प्रदर्शन गरेको छ । टिममा दिन प्रतिदिन सुधार भैरहेको छ ।’ प्रशिक्षक महर्जनले मंगलबार प्रि म्याच सम्मेलनमा भने, ‘खेलाडीले आफ्नो शतप्रतिशत दिएर खेलेका छन् । वैकल्पिक खेलाडीले पनि राम्रो खेलिरहेको छ । त्यसैअनुसार खेल्न सके हामी माल्दिभ्सलाई पराजित गर्न सक्नेछौं ।’

उनले माल्दिभ्सविरुद्धको खेलमा नेपालले अहिलेसम्म हासिल गर्न नसकेको नतिजा आउने बताए । पछिल्ला दुई खेल बंगबन्धु र साग गोल्डकपको सेमिफाइनलमा माल्दिभ्सलाई पराजित गरेको स्मरण गर्दै साफ सुजुकी कप फरक प्रतियोगिता रहेपनि फेरि एकपटक पराजित गरेर फाइनल पुग्ने लक्ष्य रहेको बताए । नेपालले बंगबन्धु गोल्डकपमा माल्दिभ्समाथि ४–१ को तथा १२औं दक्षिण एसियाली खेलकुदमा ४–० को जित निकालेको थियो ।

उनले विपक्षी टोली विगतको भन्दा केही कमजोर देखिएपनि खेल्ने शैली समान रहेका कारण सचेत हुनुपर्ने बताउदै माल्दिभ्सविरुद्ध खेलको अवस्था हेरेर रणनीति बनाउने बताए ।

साफ च्याम्पियनसिपमा नेपाल माल्दिभ्स हेड टु हेड

१९९९ नेपाल विरुद्ध माल्दिभ्स (२–३) समूह चरण

१९९९ नेपाल विरुद्ध माल्दिभ्स (०–२) तेस्रो स्थान

२००३ नेपाल विरुद्ध माल्दिभ्स (२–३) समूह चरण

२००८ नेपाल विरुद्ध माल्दिभ्स (१–४) समूह चरण

२००९ नेपाल विरुद्ध माल्दिभ्स (१–१) समूह चरण

२०११ नेपाल विरुद्ध माल्दिभ्स (१–१) समूह चरण

नेपाली टिमका कप्तान विराज महर्जनले माल्दिभ्ससविरुद्धको सेमिफाइनल खेलका लागि नेपाली टोली तयार रहेको बताएका छन् । ‘हामी माल्दिभ्सविरुद्धको खेलमा आत्मविश्वासी भएर खेल्नेछों । बढी आत्मविश्वासी भएर होइन । उनीहरु कमजोर प्रतिद्धन्द्धी हैन ।’ कप्तान महर्जनले भने, ‘टिमले पछिल्ला खेलहरुमा निकै राम्रो खेलिरहेका छन् । उनीहरुमा आत्मविश्वास बढिरहेको छ । यो टिमको लागि खुशीको कुरा हो । हामी जितकै लागि खेल्नेछौं ।’

माल्दिभ्सका प्रशिक्षक पिटरले प्रतियोगितामा नेपाल सबैभन्दा बलियो प्रतिद्धन्द्धी रहेको बताउदै नेपालविरुद्ध सचेत भएर खेल्ने बताए । ‘नेपाल बलियो प्रतिद्धन्द्धी हो । उसले पछिल्लो समय राम्रो फुटबल खेलिरहेको छ । तर, हामी नेपाललाई रोक्दै फाइनलमा पुग्ने योजनामा हुनेछौं ।’ प्रशिक्षक पिटरले प्रिम्याच पत्रकार सम्मेलनमा भने, ‘हाम्रो योजना नेपाललाई नियमित समयमा पराजित गर्दै फाइनलमा पुग्ने हुनेछ । यस्तो हुन नसकेको अवस्थामा हामीसँग अरु असर पनि छ । त्यसमा पेनाल्टी सुटआउट हुनसक्छ । जहाँ हामी नेपाललाई रोक्न सक्षम हुनेछौं ।’

नेपालल समुह चरणमा दुई जित निकाल्दा एक खेलमा हार बेहोेरेको थियो । यता माल्दिभ्सले १ बराबरी र एक हार बेहोर्दै गोलाप्रथामा विजेता हुदै अन्तिम चारमा स्थान बनाएको थियो ।