न्यु डायमण्ड र एपिएफबीच उपाधि भिड्न्त

राजधानी सम्वाददाता/पोखरा

महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि न्यु डायमण्ड एकेडेमी र बिभागिय क्लब एपिएफ बीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा न्यु डायमण्डले चितवन टाइगर्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । प्रतिभा मालीको उत्कृष्ट प्रदर्शनमा न्यु डायमण्डले बिदेशी खेलाडी सम्मलीत चितवनमाथि पहिलो सेटमा २५–१८ को जित निकाल्यो ।

 न्यु डायमण्ड दोस्रो सेटमा १७ –२२ ले पछि परेको अबस्थालाई उल्टाउदै २५–२३ को संघर्षपुर्ण जित निकाल्न सफल भयो । दोस्रो सेटमा पुनरागमन गरेपनि जित निकाल्न नसकेको चितवन टाइर्गस् अन्तिम सेटमा २५–१७ ले पराजित भयो ।  इन्द्रराज्यलक्ष्मी माबिको भलिबल कोर्टमा भएको दोस्रो सेमिफाइनल खेलमा आर्मीलाई पराजित गरेसंगै एपिएफले उपाधीका लागि न्यु डायमण्डसंगको भेट पक्का गरेको हो । एपिएफले आर्मीलाई पहिलो सेटमा २५–२२,दोस्रो सेटमा २५–२० र तेस्रो सेटमा २५–२१ ले पराजित गर्यो । एपिएफको जितमा सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन गरीन । बुधवार तेश्रो स्थानका लागि आर्मी र चितवन तथा फाईनल खेल न्युडायमण्ड र एपीएफबीच हुने छ ।

तिज महोत्सवका अवसरमा नव आर्दश सामुदायिक विकास समाजको आयोजनामा जारी प्रतियोगिताको विजेताले एक लाख र उपबिजेताले ६५ हजार रुपैयाँसहित ट्रफि मेडल र प्रमाणपत्र पाउने प्रचारप्रसार संयोजक धर्ममानसिह भण्डारीले जानकारी दिए । प्रतियोगितामा दुइ बिभागिय क्लब एपिएफ र आर्मी गरी ५ टोली सहभागि छन् ।