सी–पुटिन छलफल

भ्लादिभोस्टोक/एजेन्सी– चीनका राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्टोकमा भेटवार्ता भएको छ । भेटमा विश्वका शक्तिशाली दुई नेताबीच दुइपक्षीय सम्बन्ध बिस्तार तथा विश्व शान्ति सुरक्षा र विश्वको आर्थिक तथा राजनीतिक स्थायित्वका विषयमा कुराकानी भएको बताइएको छ ।

भ्लादिभोस्टोकमा हुने चौथो ‘इस्टर्न इकोनोमिक फोरम’ मा सहभागी हुन रूसी राष्ट्रपति पुटिनको निमन्त्रणामा सी रूस पुगेका हुन् । रूसी राष्ट्रपतिले चीनसँग बढ्दो निकट सम्बन्धलाई लिएर सम्मेलनका भाग लिन रूस पुगेका चिनियाँ राष्ट्रपतिसँगको भेटमा प्रशंसा गरे ।

रुसी राष्ट्रपति पुटिनले भने, ‘हामीबीच राजनीतिक, सुरक्षा तथा रक्षा क्षेत्रमा विश्वासिलो सम्बन्ध रहेको छ ।’ सो अवसरमा चीनका राष्ट्रपति सीले दुई मुलुकबीचको मित्रता सधैँ मजबुत रहँदै आएको बताएका थिए ।