अमेरिका–चीन ट्रेड वार, करवृद्धिबाट जोगिन चिनिया कम्पनीको नयाँ तरिका

बेइजिङ/एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करवृद्धिबाट जोगिन ठूलो संख्याका चिनियाँ कम्पनीले नयाँ तरिका अपनाउन थालेका छन् । सोहीअनुसार ‘चीनमा निर्मित’ को साटो वस्तुको उत्पादनका लोगोमा भियतनाम, सर्बिया र मेक्सिकोको नाम छाप्न थालिएको बताइएको छ ।

ट्रम्पले करिब ५० अर्ब डलर बराबरका चिनिया वस्तुमा २५ प्रतिशत करवृद्धि गरेको घोषणा गरेलगत्तै विश्वकै दुई सर्वाधिक ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीच केही महिनादेखि व्यापारिक तनाव चुलिएको छ । अमेरिकी घोषणा लगत्तै चीनले पनि प्रतिशोध स्वरुप अमेरिकी आयातमा करवृद्धि गरेको छ ।

शेन्जेनमा सूचीकृत मोटरसाइकलको पार्टपूर्जा बनाउने एच–१ कर्पले गत महिना नै भियतनामबाट उत्पादन थाल्नुपर्ने एउटा प्रमुख कारण करवृद्धि भएको बारेमा लगानीकर्तालाई जानकारी दिएको थियो । कम्पनीले करवृद्धिका असरबाट बच्न उत्पादन कटौती पनि गर्ने बताएको छ । ट्रम्पले अगस्ट महिनामा विद्युतीय बाइकसहित मोटरसाइकल र त्यसका पार्टपूर्जामा नयाँ कर लगाउने घोषणा गरेका थिए ।

बाइकदेखि टायर, प्लास्टिकदेखि टेक्स्टाइलसम्मका चिनिया कम्पनीहरुले कारखाना अन्य देशतर्फ स्थानान्तरण गरिरहेका छन् । सरकारलाई जानकारी दिएरै स्थानान्तरण गरिएका यी कम्पनीको मुख्य उद्देश्य नै अमेरिका प्रवेश गर्ने वस्तुमाथि लाग्ने अतिरिक्त कर हो ।

राष्ट्रपति ट्रम्पले गत साता मात्र करिब २ सय अर्ब अमेरिकी डलर बराबरका चिनिया सामग्रीमा करवृद्धि गर्ने चेतावनी दिएका थिए । विश्वभरका कम्पनीहरुले आफ्नो आपूर्ति व्यवस्थामा समीक्षा गर्नुपर्ने अवस्थामा सिर्जना भएको क्रिस्टोफर रोजर्सले बताए ।

हालैका वर्षमा आपूर्ति प्रणाली चीनले अन्यत्र स्थानान्तरण गरिरहेको छ । किनकि चीनभित्रै पनि श्रमिक र वातावरण संरक्षणको लागतमा वृद्धि भइरहेको छ । चीन अहिले कतिपय व्यवसायका लागि त्यति आकर्षक मानिन्न । विज्ञहरु र कम्पनीहरुको भनाइमा करवृद्धिले आगोमा घ्यु थपेको छ ।

‘चीन–अमेरिका व्यापार असमझदारीले विश्वव्यापी आपूर्ति प्रणालीमा तिब्र प्रभाव पार्ने निश्चित छ,’ डब्लुटिओ स्टडीजका अनुसन्धान निर्देशक कुई फानले भने, ‘अत्याधिक श्रमिक आवश्यक पर्ने कारखाना पलायन हुँदा त्यसले बेरोजगारी समस्या निम्त्याउँछ र यस विषयलाई गम्भीरतापूर्वक विचार गरिनु आवश्यक छ ।’ कारखाना अन्यत्र सार्दैमा अमेरिकाको समग्र व्यापार घाटामा कमी ल्याउन मद्दत नगर्ने फानले बताए ।

खेलौना निर्माता कम्पनी हास्ब्रो, क्यामेरा निर्माता ओलम्पस, जुत्ता निर्माता डेकर्स एन्ड स्टीभ म्याडेन समेतका अरु पनि महत्वपूर्ण कम्पनी चीनबाट पलायन हुन लागेकाले बेइजिङलाई चिन्तित तुल्याएको बताइएको छ ।

झेजियाङ हाइलाइड न्यू मेटेरियल कम्पनीले आफ्ना उत्पादन अमेरिका र अरु मुलुकमा निकासी गर्दछ । अमेरिकी करवृद्धिले यो कम्पनीलाई पनि असर पारेको छ । अरु २ सय अर्ब डलर बराबरका चिनिया सामानमा करवृद्धि घोषणा भए यस कम्पनीको उत्पादनमा धेरै ठूलो प्रभाव पर्नेछ ।

कम्पनीका उपाध्यक्षले भने, ‘अहिले हाम्रो सम्पूर्ण उत्पादन चीनमै भइरहेको छ । करवृद्धि समेतका जटिलताबाट बच्न हाम्रो कम्पनीले लामो छलफल पश्चात भियतनाममा नयाँ कारखाना खोल्न लागेको छ ।’ उनले करिब १५ करोड ५० लाख लगानीबाट कारखानाको उत्पादनलाई नियमित गर्न सकिने बताए ।

करवृद्धिको प्रभावबाट बच्न कतिपय तयारी पोशाक उत्पादकहरु म्यान्मार, थाइल्यान्डतर्फ पलायन भएका छन् भने विद्युतीय मोटर उत्पादक एक कम्पनी मेक्सिको गएको छ । त्यस्तै सर्बियामा करिब एक अर्ब डलरमा लिङलोङ टायरले कारखाना स्थापना गर्न लागेको छ । टायर निर्मातामाथि अमेरिकी करवृद्धिले सबैभन्दा बढी समस्या सिर्जना गरेको छ । अन्तरराष्ट्रिय व्यापारिक अबरोध हटाउन कारखाना अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्थामा कतिपय देश रहेका छन् ।