बस दुर्घटनामा ५२ जनाको मृत्यु

एजेन्सी/हैदराबाद।

भारतको तेलंगना राज्यको जगतियाल जिल्लामा एउटा यात्रुबाहक बस दुर्घटनामा ५२ जनाको मृत्यु भएको छ । यात्रुले खचाखच भरिएको राज्य सञ्चालित सो बस गहिरो खोचमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा अधिकांश महिला छन् ।

घाइतेहरुलाई उद्धार गरी स्थानीय जगतियालको अस्पतालमा भर्ना गरिएको छ । सो बस कोन्डागाटु अन्जनेया स्वामी मन्दिरबाट तिर्थयात्रु लिएर फर्कदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

तेलंगना राज्यका वित्तमन्त्री एटला राजेन्द्रले भने, ‘राज्य सरकारद्वारा सञ्चालित आरसिटी बस खस्दा ५२ जनाको मृत्यु भएको छ । मुख्यमन्त्री चन्द्रशेखर रावले मृतकका परिवारलाई ५÷५ लाख दिने घोषणा गर्नुभएको छ ।’ मुख्यमन्त्री रावले घाइतेहरुको तत्काल उपचारको व्यवस्था गर्न आदेश दिएका थिए ।

यस्तै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दुर्घटनामा ठूलो मानवीय क्षति भएकोमा दुःख व्यक्त गरेका छन् । मोदीले ट्विटमा लेखेका छन्, ‘तेलंगनाको जगतियाल जिल्लामा भएको बस दुर्घटना दुःखद छ, शोक सन्तप्त परिवारमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

दुर्घटनामा धेरै सर्वसाधारण मारिएकोप्रति दुःख व्यक्त गर्दै तेलंगना काँग्रेसका अध्यक्ष एन उत्तम कुमार रेड्डीले पीडितका परिवारलाई १०÷१० लाख राहत दिन माग गरेका छन् ।