निर्मला हत्या प्रकरण : धरौटीमा छुटे ‘मुख्य अभियुक्त’ विष्ट

सुरेश पन्त/महेन्द्रनगर।

बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या अभियोगमा प्रहरीले मुख्य अभियुक्तका रूपमा पक्राउ गरेका दिलीपसिंह विष्ट अन्ततः साधारण तारेखमा रिहा भएका छन् ।
जिल्ला अदालत कञ्चनपुरले विष्टलाई मंगलबार साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । आवश्यक परेको खण्डमा उपस्थित हुने कागज गराएर रिहा गर्न आदेश दिइएको बताइएको छ ।

निर्मलाको डीएनएको प्रोफाइल र दिलीपसिंहको डीएनएको प्रोफाइल नमिलेपछि उनी साधारण तारेखमा छुटेका हुन् । ‘निर्मला पन्तको डीएनएको प्रोफाइलसँग दिलीप सिंहको डीएनएको प्रोफाइल नमिलेपछि उनलाई अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक एसपी कुवेर कडायतले बताए ।
घटनास्थलबाट डीएनए परीक्षणका लागि लिइएको नमुना विधि विज्ञान प्रयोगशालाले निर्मला पन्तको भेजाइनल स्वाब (योनीभित्रको तरल वस्तु) मा रहेको बलात्कारीको डीएनए र दिलीपसिंह विष्टको डीएनए फरक पाइएको हो । दिलीपको डीएनए नमिलेको रिपोर्ट विधि विज्ञान प्रयोगशालाले पठाएपछि उनी रिहा भएका हुन् ।
जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरका न्यायाधिवक्ता खेम भट्टले प्रहरीले तत्काल पेस गरेका प्रमाण र हालसम्म पेस भएका प्रमाणका आधारमा विष्ट दोषी नदेखिएको बताए ।

यस्तै, निर्मलाको हत्यामा संलग्न रहेको आरोप लागेका बम दिदीबहिनी पनि मंगलबारै रिहा भएका छन् ।
सरकारी वकिलको कार्यालयका अनुसार बबितालाई ३० हजार रुपैयाँ धरौटीमा छोडिएको छ भने रोशनीलाई बिनाधरौटी अभिभावकको जिम्मा लगाइएको छ ।
मुलुकी फौजदारी कार्यविधि (संहिता) २०७२ को दफा १५ अनुसार अनुसन्धानको सिलसिलामा हिरासतमा रहेका व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई धरौटी वा जमानत लिई वा उसलाई अभिभावकको जिम्मामा हाजिर जमानीमा छोड्न सक्ने व्यवस्था रहेको छ । त्यसै व्यवस्थानुसार प्रहरीले निर्मला हत्याको अनुसन्धानमा पक्राउ परेका विष्ट र बम दिदीबहिनीलाई रिहा गरेको सरकारी वकिल कार्यालयले जनाएको छ ।

मानसिक सन्तुलनसमेत गुमाएका विष्टलाई १३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले २५औं दिनपछि गत ४ भदौमा घटनास्थलनजिकैबाट पक्राउ गरेको थियो ।
कञ्चनपुको तत्कालीन प्रहरी नेतृत्वले विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो । वास्तविक अपराधी जोगाउन नक्कली प्रमाण बनाएर विष्टलाई फसाउन खोजिएको भन्दै महेन्द्रनगरमा भएको आन्दोलनमा शनि खुनाको मृत्यु भएको थियो भने केही प्रदर्शनकारी घाइते भएका थिए ।

हाल निलम्बनमा रहेका तत्कालीन एसपी डिल्लीराज विष्ट कमान्डको टोलीले दिलीपलाई नै मुख्य अभियुक्त भनेको थियो । उनलाई विगतमा पनि भिनाजुको हत्या गरेकाले प्रहरीले प्रमुख अभियुक्तका रूपमा पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गरेको थियो । एसपी डिल्लीराज विष्ट नेतृत्वको प्रहरीले अनुसन्धानमा गम्भीर त्रुटि गरेको भनेर राष्ट्रिय मानवअधिकार आयोग र उच्चस्तरीय छानबिन समितिले सार्वजनिक गरिसकेका छन् । एसपी विष्टलाई सरकारले निलम्बनसमेत गरेको छ ।
विष्ट र रोशनी धरौटीमा रिहा हुने भएपछि वास्तविक हत्यारा पत्ता लगाउन प्रहरी नेतृत्वमाथि दबाब बढ्ने देखिएको छ । उच्चस्तरीय छानबिन समितिको म्याद थपिएपछि अनुसन्धान लम्बिँदा वास्तविक हत्याराले उन्मुक्ति पाउने खतरा रहेको भन्दै समितिका सदस्य उपसचिव वीरेन्द्र केसीले सोमबार समितिबाट राजीनामा दिएका थिए ।
भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला गत १० साउनदेखि बेपत्ता भएकी थिइन् । बेपत्ता भएकी उनको शव भोलिपल्ट गाउँनजिकैको उखुबारीमा नग्न अवस्थामा भेटिएको थियो ।