मुख्यमन्त्री पौडेलले गरे भीमफेदी कारागारको अनुगमन, कारागारमा विद्यालय स्थापना गरिने

राजधानी संवाददाता/हेटौंडा।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार मकवानपुरको भीमफेदीमा रहेको कारागारको निरीक्षण गरेका छन् । कारागार पुगेर मुख्यमन्त्री पौडेलले कारागारको अवस्थाका बारेमा पनि जानकारी लिएका हुन् ।
कारागारमा देखिएका समस्याहरुको निराकरण गरिने मुख्यमन्त्री पौडेलले प्रतिवद्धता जनाएका छन् । बिचौलियाका कारण कारागारभित्र समस्या देखिएको भन्दै मुख्यमन्त्री पौडेलले यसको सामाधानका लागि कारागारबाट सोझै सामान खरिद गर्ने व्यवस्था मिलाउन कारागार प्रशासनलाई निर्देशन समेत दिए ।


यसैगरी कारागारमा विद्यालयको स्थापनाका लागि प्रदेश सरकारले एक जना शिक्षकलाई तलब समेत व्यवस्था गर्ने बताए । कारागारमा स्थानीय उत्पादन खपत गराउने वाताबरण निर्माण गरिने उनको भनाइ छ । कारागारमा कैदिबन्दी जीवन विताइरहेका व्यक्तिहरुलाई उत्पादनमा लगाउने पनि उनले उल्लेख गरे ।
यस्तै कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेललले असोज १ गते देखि कारागार प्रदेशको मातहातमा आउने तयारी भइरहेको जानकारी दिए । भीमफेदी कारागारलाई प्रदेश स्तरीय बनाउन लागेको समेत उनले बताए ।
कार्यक्रममा जेलको ख ब्लकका चौकीदार दिपेन्द्र राई र क ब्लकका चौकीदार डानियल लामाले शौचालयको सेफ्टिी ट्याङकी, औषधी उपचार तथा अन्य बिरामीहरुको सेवाका लागि समस्या भएको बताएका थिए ।
निरिक्षणका क्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, ३ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक दीपक थापा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, ३ नम्बर प्रदेश सांसद जुनेली श्रेष्ठ, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्बती राना, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बुद्धिराज गुरुङलगायत टोलीमा सहभागि थिए ।