महिला हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्ने

राजधानी संवाददाता/अछाम।

अछाम सदरमुकाम मंगलसैनमा आयोजित एक कार्यक्रमका सहभागि महिलाहरुले महिला हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । ‘कुसंस्कारको अन्त्य गरौँ, सुखी र समृद्ध समाज निर्माण गरौँ’ भन्ने नाराका साथ मंगलसेनमा आयोजित सद्भावपूर्ण तीज कार्यक्रमका सहभागि महिला नेतृ तथा अधिकारकर्मीले महिलाको अधिकारको रक्षा तथा हिंसाको अन्त्यका लागि हरेक व्यक्ति जिम्मेवार हुनुपर्ने बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि मंगलसैन नगरपालिकाका उपप्रमुख सरीता उपाध्यायले तीजलाई महिलाले बर्ष दिनको सुख दुःख बिसाउने पर्वका रुपमा लिने गरेको बताईन् ।
अखिल नेपाल महिला संघका अध्यक्ष लक्ष्मी बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य मना अधिकारीले रमाइलो संगै महिलाको दुःख बिसाउने पर्वका रुपमा रहेको तीजले महिला अधिकारको सावल समेत स्थापित गर्न सक्ने धारण राखिन् ।
कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जालका सदस्य राधिका भुजेल, निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य मञ्जु महत लगायतले शुभकामना दिएका थिए ।