निर्मला पन्त हत्यामा झुटो अनुसन्धान गर्ने दर्जन प्रहरीलाई बरखास्त गर्ने तयारी

सुरेश पन्त, महेन्द्रनगर । निर्मला पन्त हत्याकाण्डमा ‘झुटो’ अनुसन्धान गर्दै नक्कली अभियुक्त खडा गर्ने प्रहरी अधिकारी माथि कारवाही हुने भएको छ । प्रहरी प्रधान कार्यालयले कञ्चनपुर घटनामा प्रहरीको भूमिका शंकास्पद र अनुसन्धानमा गम्भीर त्रुटि रहेको निष्कर्ष निकालेको हो ।

अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय र सीआइबीका कम्तीमा एक दर्जन प्रहरीकर्मी बर्खास्त हुने सम्भावना बढेको छ । उनीहरुलाई हिरासतमा लिएर थप अनुसन्धान गर्न गृहमन्त्रालयले तयारी गरेको स्रोतको भनाई छ ।

प्रहरी अधिकारीमाथि छानबिन र कारवाही सिफारिसका लागि एसएसपी उत्तमकुमार सुवेदीको नेतृत्वमा समिति गठन गरिएको थियो । निर्मला हत्याकाण्डको अनुसन्धानमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट यसअघि नै निलम्बनमा परिसकेका छन् भने अन्य प्रहरी अधिकारीको भूमिकाबारे अनुसन्धान जारी छ ।

कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी र अनुसन्धान अधिकृत एकेन्द्र खड्कालगायत अन्य केही जुनियर अधिकृतको पनि अनुसंन्धानका घेरामा पर्ने भएका छन ।
प्रहरी स्रोतका अनुसार अनुसन्धानमा दिलिप विष्टलाई नै मुख्य अभियुक्त बनाएर प्रस्तुत गर्ने कार्यमा सिआइबीका डिएसपी अंगुर जिसीको पनि संलग्नता पाइएपछि उनलाई पनि निलम्बन गर्ने वा अन्य कारवाही गर्नेबारे छलफल भइरहेको छ । निर्मला हत्याकाण्डको अनुसन्धानका लागि सिआइबीले जिसीको नेतृत्वमा टोली कञ्चनपुर पठाएको थियो ।

प्रहरी अधिकारीको भूमिकामाथि प्रश्न उठेपछि आन्तरिक छानविन भइरहेको प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्री बताए । यसअघि मंगलबार साँझ गृह मन्त्रालयमा बसेको गृहमन्त्री, सचिव, आईजीपीलगायत उच्च अधिकारी सहभागी बैठकले पनि अनुसन्धानमा संलग्न सबै प्रहरीमाथि छानबिन गर्ने निर्णय गरेको छ ।

सरकारले गठन गरेको उच्चस्तरीय समितिले पनि निर्मला हत्याकाण्डमा प्रहरीको भूमिका गैरजिम्मेवार देखिएको निष्कर्ष निकालिसकेको छ । छानबिनका क्रममा दोषी देखिए प्रहरी अधिकारीमाथि विभागीयदेखि अन्य कानुनी कारवाही पनि हुनसक्ने प्रहरी प्रवक्ता क्षेत्री बताउँछन् ।