विदेश जान भन्दै उमेर बढाएर नागरिकता बनाउने बढेपछि प्रशासनद्धारा कडाई

झरना नेपाली, रसुवा । रसुवामा उमेर बढाएर नागरिकता बनाउने क्रम बढेसँगै जिल्ला प्रशासन कार्यालय रसुवाले कडाइ गरेको छ ।

वैैदेशिक रोजगारमा जाने उदेश्यले उमेर बढाएर नागरिकता बनाउने क्रम बढेको हो । कम उमेरमा नागरिकता बनाएर वैदेशिक रोजगारीमा जाँदा बेचविखनमा पर्ने समस्या हुने भएकाले जिल्लाको ५ वटै गाउँपालिकालाई यस्ता कार्य तत्काल रोक्न जिल्ला प्रशासन कार्यालय रसुवाले पत्र काटेको छ ।

सहि उमेर एकिन गरेर मात्रै सिफारिस गर्न पत्रमा उल्लेख गरिएकोे छ । कम उमेरमा नागरिकता बनाउँदा नाबालकले समेत नागरिकता प्राप्त गर्ने र यसैबाट राहदानी बन्ने जोखिम बढेको हो ।

उमेर नपुगी नागरिकता बनाएर विदेश जानाले मानव बेचविखनको समस्या उच्च रहने भएकोले वडाले सिफारिस गर्दा सहि उमेर एकिन गरेर मात्रै सिफारिस गर्न कायालयले पत्र काटेको प्रजिअ कृष्ण पौडेलले बताए ।

नेपाल नागरिकता ऐन २०६३ (संसोधन) को दफा २१ को (३) वमोजिम ‘कसैले नेपाली नागरिकको झुठो विवरण वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाइ प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बिस हजारदेखि एक लाख रुपयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था गरिएको छ ।