ब्राजिल निर्वाचन : लुला राष्ट्रपतिको दौडबाट पछि हटे, वर्कर्स पार्टीबाट फर्नान्डो हाडाड उम्मेद्वार

ब्राजिलको राष्ट्रपति निर्वाचनमा वर्कर्स पार्टीका उम्मेदवार फर्नान्डो हाडड । पर्दामा उम्मेदवारको रुपमा चर्चामा रहेका पूर्व राष्ट्रपति लुईस इनासियो लुला डा सिल्भा । सिल्भा जेलमा रहेका कारण अन्तिम समयमा आएर हाडड चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । ब्रालिमा अक्टोर ७ मा राष्ट्रपति निर्वाचन हुँदैछ ।

रियो दि जेनेरियो । ब्राजिलका पूर्व राष्ट्रपति तथा वर्कर्स पार्टीका प्रभावशाली नेता लुइस इनासियो लुला डा सिल्भा आगामी महिना हुने राष्ट्रपतीय निर्वाचनको दौडबाट पछि हटेका छन् ।

भ्रष्टाचारको आरोपमा केही महिनादेखि जेलमा रहनुका बाबजुद उनी आगामी महिना हुने राष्ट्रपति निर्वाचनको मत सर्वेक्षणमा अग्रस्थानमा रहँदै आएका थिए ।

वर्कर्स पार्टीका तर्फबाट उनको स्थानमा अब फर्नान्डो हाडाड राष्ट्रपतिको उम्मेद्वार बन्नेछन् । उम्मेदवारी मनोनयनको केही घन्टा बाँकी रहँदा उनले हाडाडलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सार्दै आफू पछि हटेका हुन् ।

वर्कर्स पार्टीका एक प्रभावशाली नेताले सो निर्णय ७२ वर्षीय पूर्व राष्ट्रपति लुला डा सिल्भाले जेल सजाय भोगिरहेको प्रहरी मुख्यालयबाहिर घोषणा गरेका थिए । लुला रहेको जेलबाहिर उनका समर्थकमाझ पढेर सुनाइएको पत्रमा ब्राजिलमा सामाजिक न्यायको लडाइँका लागि उनको प्रतिनिधित्व चुनावमा अडाडले गर्ने बताइएको थियो ।

ब्राजिलमा आगामी अक्टोबर ७ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ । पूर्व राष्ट्रपति डिल्मा रुसेफ भ्रष्टाचारलगायत विभिन्न काण्डका कारण महाअभियोग लागेर दुईवर्षअघि पदच्युत भएपछि वर्कर्स पार्टी ब्राजीलको सत्ताबाट विमुख हुन पुगेको थियो ।

डिल्मा रुसेफभन्दा अघि लुला डा सिल्भाले राष्ट्रपतिका रुपमा सन् २००३ देखि जनवरी २०११ सम्म राष्ट्रपतिका रुपमा देशको नेतृत्व गरेका थिए । हाल जेलमा रहेका लुलाको स्थानमा मैदानमा उत्रिएका हाडडको चुनावी अभियानका लागि पनि वर्कर्स पार्टीले ‘हाडाड नै लुला हुन्’ भन्ने नारा समेत बनाएको छ । लामो कानुनी लडाईपछि लुलाले चुनावमा उम्मेदवार नबने निर्णय लिएका हुन् ।

भ्रष्टाचारको आरोपमा दोषी ठहर भएर १२ वर्ष जेल सजाय सुनाइनुका साथै ब्राजिलको निर्वाचनसम्बन्धी उच्च अदालतले सिल्भालाई राष्ट्रपतिमा उठ्न अयोग्य भनेर घोषणा गर्नुका बाबजुद चुनावी मत सर्वेक्षणहरूमा लुला नै अगाडि देखिदै आएका थिए ।

लुलाका वकिलहरूको टोली र वर्कर्स पार्टीले गत ३१ अगस्टमा सुनाइएको अदालतको निर्णयपछि सर्वोच्च अदालतमा त्यसको पुनरावलोकनका लागि मुद्दा दायर गरेका छन् । तर सर्वोच्च अदालतले त्यसको निर्णय सुनाउन बाँकी नै छ । सोमबार रातिसम्म पनि सम्भव भएसम्म लुलाको नाम नै राष्ट्रपति उम्मेद्वारका लागि अघि सार्ने रणनीति वर्कर्स पार्टीले अपनाएपनि अन्तिम समयमा उम्मेदवार फेर्नु परेको हो ।

वर्कर्स पार्टीका संस्थापक लुईस इडवार्डो ग्रिनवेल्थले लुला रहेको जेल बाहिर पत्र पढेका थिए । सो पत्रमा लुलाले आफूलाई भोट गर्ने सबैलाई आफ्ना साथी हाडाडलाई भोट हाल्न आग्रह गरेका छन् ।

लुला सन् २०१७ को जुलाईमा भ्रष्टाचारमा दोषी ठहर भएका थिए । तर उनले आफूमाथि लागेको भ्रष्टाचारको आरोप अस्वीकार गर्दै सो आरोप राजनीतिबाट प्रेरित रहेको बताउँदै आएका छन् ।

अदालतले दोषी ठहर गरेपछि उनले त्यसविरुद्ध अपिल गरेपनि अदालतले अस्वीकार गरेपछि जेल गएका हुन् । हाल उनले राष्ट्रपति पदको चुनावमा नलडे पनि कानुनी लडाई भने जारी राख्ने बताइएको छ ।

लुलाको स्थानमा चुनावी मैदानमा राष्ट्रपतिको उम्मेदवारका रुपमा खडा भएका हाडड लुलाकै मन्त्रिपरिषदमा शिक्षामन्त्रीका रुपमा काम गरेका व्यक्ति हुन् । हाल उनी उपराष्ट्रपतिको दौडमा थिए ।

उनले सन् २०१३ देखि २०१७ सम्म ब्राजिलको चर्चित सहर साओ पाउलोको मेयरको रुपमा काम गरेका थिए । यद्यपि उनको कार्यकालको अन्तिममा ठूला प्रदर्शनको सामना गर्नुपरेको थियो ।

उनी पनि ब्राजिलमा कानुनी समस्या झेलिरहेका छन् । ८ देखि ११ सेप्टेम्बरसम्म गरिएको मत सर्वेक्षणमा उनी स्वतन्त्र रुपमा चुनाव लड्दा पनि ८ प्रतिशत मतका साथ शीर्ष ५ जना उम्मेदवारमा परेका थिए । उनी वर्कर्स पार्टीको आधिकारिक उम्मेदवार बन्ने भएपछि उनको पक्षमा जनमत बढ्ने अनुमान गरिएको छ ।