उपसचिवको दरबन्दीमा नायब सुब्बा हाकिम

रमेश तिमलसिना/रौतहट
जिल्लाको स्थानीय तहमा अझै पनि दरबन्दी अनुसारको कर्मचारी आउन नसक्दा विकासका कामहरु प्रभावित भएका छन् ।

रौतहटको १६ नगरपालिकामा उपसचिव र २ गाउँपालिकामा शाखा अधिकृतको दरबन्दी भएको भए पनि अझै केही नगरपालिका नायब सुब्बाले नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् ।

स्थानीय तहको निर्वाचन समपन्न भएपछि जन निर्वाचित जनप्रतिनिधिहरु आएको वर्ष दिन हुन लाग्दा पनि रौतहटका २ वटा नगरपालिकामा सुब्बाले नै कामचलाइरहेका छन ।

सरकारले हरेक नगरपालिकामा उपससचिव तहको प्रमुख प्रशासकीय अधिकृत तोकेको भएपनि जिल्लाको बौधीमाइ नगरपालिका र राजपुर नगरपालिकामा अझै सुब्बाले कार्यालय प्रमुखको जिम्मेवारी वहन गरिरहेका छन् ।

बौधीमाइ नगरपालिकामा नायब सुब्बा बिरेन्द्र चन्द्रवंशी र राजपुरमा जगत साहले प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गदै आएका छन् । ती नगरपालिकामा सरकारले गत असारमा शाखा अधिकृत खटाएको भएतापनि नगरपालिकाले हाजिर नगराएपछि उनीहरु फर्किएका थिए ।

मुलुकमै सबैभन्दा बढी नगरपालिका भएको जिल्ला रौतहटमा अधिकांश नगरपालिकाम निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुले नै नगरपालिका हाँक्दै आएका हुन् ।

१६ वटा नगरपालिकामध्ये ४ वटा नगरपालिकामा मात्र उपसचिवले काम सम्हालेका छन् । चन्द्रपुरमा सुरेश दाहाल, गरुडामा टेकनाथ पन्थी, गौरमा सुमन कार्की र फुतुहा विजयपुर नगरपालिकामा सागर रोक्का उपसचिव प्रमुख भएर कामकाज गर्दै आएका छन् ।

नेपाल सरकारले कर्मचारी समायोजनको कुरा मात्र गर्ने तर काम नगर्ने परिपाटीले रौतहटका अधिकांश नगरपालिकामा निमित्तले मात्र काम चलाउदै आएका छन ।

यहाँ १६ वटा नगरपालिका र २ गाउँपालिका गरी १८ स्थानीय तह छन । अन्य १२ वटा नगरपालिकामा शाखा अधिकृतले कामकाज गर्दै आएका छन भने २ गाउँपालिकामा पनि शाखा अधिकृत प्रमुख छन । अझै १२ वटा स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा नगरपालिका चल्दै आएका छन ।