घर बिदामा आएका रानाका हत्या आरोपी ४२ वर्षपछि पक्राउ

स्याङ्जा । तत्कालिन रत्नपुर गाँउ पञ्चायत–८ (हाल : चापाकोट नगरपालिका–८) मा २ चैत २०३३ मा चैते दशैंको मेला हेर्न गएका पाल्पाका जीतबहादुर रानालाई हत्या गरेको अभियोग लागेका देवीबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ ।

घर बिदामा आएका भारतीय सेनामा कार्यरत २४ वर्षीय रानालाई निर्घात कुटपिट गरी कालीगण्डकी नदीको किनारमा फालेर हत्या गरेको अभियोगमा तत्कालीन अवस्थामा रत्नपुर र सेखामाका गरी १२ जनालाई मृतक रानाका दाजुले किटानी जाहेरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले घट्नाको अनुसन्धानपश्चात जिल्ला अदालतमा प्रतिवादीहरुलाई तारेखमा राखी पुर्पक्ष गरेकोमा १७ माघ २०३६ मा सबै प्रतिवादीहरुलाई कसुरदार ठहर गरी जन्मकैदको फैसला गरेको थियो ।

प्रतिवादीहरुले पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गरेकोमा २४ कार्तिक २०३९ मा जिल्ला अदालतकै फैसला सदर गरेको र पुनः प्रतिवादीहरुले सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि ८ माघ २०४० को फैसलाले जिल्ला अदालतकै फैसालालाई सदर गरेको थियो ।

अदालतको फैसलाले जन्मकैद सदर गरेपछि भारत लगायत विभिन्न ठाँउमा लुक्दै हिडेका घट्नामा संलग्नमध्ये केही अभियुक्तको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

अभियुक्त घर्तीलाई प्रहरीले २१ भदौ २०७५ का दिन निजका दाजु बलबहादुर घर्तीको घरमा आएर बसेका बेला रत्नपुर प्रहरी चौकीले पक्राउ गरेको हो ।

उनीसँगै संलग्न रत्नपुरका भक्तबहादुर कुमाललाई १० माघ २०७१ मा पक्राउ गरी जिल्ला कारागार स्याङ्जामा सजाय भुक्तान गरीरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रनाउ प्रकाश बिष्टले बताए ।

कुमालको उमेर ६९ वर्ष रहेको छ भने घर्तीको उमेर ६५ वर्ष रहेको छ । अभियुक्त घर्ती तत्कालिन अवस्थामा चापाकोट टार सिञ्चाई आयोजनामा पियन पदमा कार्यरत थिए । घट्नामा संलग्न अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

अपराधमा संलग्न भई अदालतले दोषी ठहर गरेको जोसुकै अपराधी उम्कने प्रयास गरेपनि ढिलो चाँडो कानुनी दायरामा ल्याएर छाड्ने र समाजमा दण्डहीनताको अवस्था उन्मुलन पार्न नेपाल प्रहरी सदैव प्रतिवद्ध रहेको विष्टले बताए ।