सुतिरहेका दिदीबहिनी माथि तेजाब प्रहार

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा एकै परिवारका दुई दिदीबहिनीमाथि तेजाब प्रहार भएको छ ।

चन्द्रपुर नगरपालिका–६ की दिदी १८ वर्षीय सम्झना दास र बहिनी १५ वर्षीय सुिस्मता दासमाथि तेजाब प्रहार भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

घरमा सुतिरहेको अवस्थामा दुवै दिदीबहिनीको अनुहारमा तेजाब फालिदिएर उनीहरु भागेका थिए । मंगलबार राति १२ बजेतिर अज्ञात समूह घरमा प्रवेश गरी ढोका खोलेर दुवै छोरीको अनुहारमा तेजाब फालेर भागेको घाइतेका बुवाले बताएका छन् ।

घरमा आफू नभएको र आमा छोरी मात्र रहेकाले रातिको समयमा कोही आएर तेजाब हालेर भागेको उनले जानकारी दिए ।

अनुहारमा तेजाब परेपछि दिदीबहिनी नै सख्त घाइते भएका छन् । तेजाबबाट उनीहरुका आँखा, टाउको र अनुहारमा गहिरो चोट लागेको छ ।

चन्द्रनिगाहपुर हस्पिटलले उनीहरुलाई थप उपचारका लागि बुधबार बिहान काठमाडौ रिफर गरेको छ ।

दुवैलाई थप उपचारका लागी काठमाडौं पठाएको र तेजाब छर्किनेको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।